मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७८ असार २ बुधबार ०९:५१:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चरम अभाव व्यहोरेका फेभरेट फुटबलर

Read Time : > 3 मिनेट
एजेन्सी
२०७८ असार २ बुधबार ०९:५१:००

काल्भिन फिलिप्स अहिले सातामै ५० हजार पाउन्ड कमाउँछन्, जसबाट उनले परिवारको राम्रो ख्याल गर्छन् 

काल्भिन फिलिप्स

इंग्लिस फुटबलका समर्थकहरूले पहिलेदेखि नै ख्याल गरेको हुनुपर्छ, काल्भिन फिलिप्सलाई । गत आइतबार क्रोएसियाविरुद्ध इंग्ल्यान्डलाई १–० को जित दिलाउन महत्वपूर्ण योगदान गरेपछि भने यी मिडफिल्डर धेरैका ‘फेभरेट’ बनिसकेका छन् । 

पहिलो खेलबाटै सबैको मन जित्न सफल यी खेलाडीको जीवन कथा भने पीडादायी छ । बाल्यकाल चरम अभावमा बिताएका यिनले परिवारिक विछोडको तितो अनुभव पनि व्यहोरेका छन् । उनी सानै हुँदादेखि पिता विभिन्न कारणले जेलमा परिरहन्थे । अझै पनि जेलमै छन् । 

आर्थिक अभावकै कारण आमा लिन्डसे सोफामै सुत्थिन् । उनीहरू पनि आमासँगै सुत्थे । उनीहरूलाई बिहान बेलुकाको छाक टार्न अन्तै भर पर्नुपर्ने थियो । यही भोगाइले उनलाई यो सफलतासम्म डोहोर्‍याएको फिलिप्स सुनाउँछन् । त्यसो त एक वर्षअघिसम्म पनि उनलाई कुन देशको राष्ट्रिय टोलीबाट खेल्ने भन्ने निश्चित थिएन । उनी जमैका र आयरल्यान्डको राष्ट्रिय टोलीका लागि पनि योग्य थिए । यद्यपि, उनले आफू हुर्किएको इंग्ल्यान्डको राष्ट्रिय टोली रोजे ।

यदि युरोकप पूर्वनिर्धारित तालिकाअनुसार गत वर्ष नै आयोजना भएको भए वा कोरोना भाइरस (कोभिड– १९) ले असर नगरेको भए फिलिप्सका लागि यो अवसर यति छिटो आउने पनि थिएन । किनभने गत वर्ष जुन समय युरोकप सुरु हुने तय भएको थियो, त्यो समय उनले इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिगमा खेलेकै थिएनन् ।

लिड्स युनाइटेड १६ वर्षपछि गत सिजन मात्रै इंग्लिस प्रिमियर लिगमा बढुवा भएको थियो । त्यसपछि नै फिलिप्सले पनि आफ्नो बाल्यकालको क्लबबाट इंग्ल्यान्डको शीर्ष डिभिजनको लिग खेल्ने अवसर पाए । त्यही समयबाट इंग्लिस टोलीका मुख्य प्रशिक्षक गारेथ साउथगेटको नजरमा परेका हुन्, उनी । 

११ वर्षको हुँदादेखि सँगै रहेकी प्रेमिका अस्लेइघ बेहानले आइतबारको खेल जितपछि प्रेमी फिलिप्सप्रति गौरवान्वित रहेको जनाएकी छिन् । मैदानमा सहकर्मीसँगको राम्रो समन्वयमा खेल्ने उनी मैदानबाहिर पूर्ण पारिवारिक व्यक्तिको छवि बनाएका छन् । २५ वर्षीय फिलिप्स प्रेमिका बेहानसँगै आमा लिन्डसे, भाइ र दुई बहिनीसँग पनि नजिक छन् ।
लिड्स गत सिजन इंग्लिस प्रिमियर लिगमा बढुवा हुँदा फिलिप्सको खुसीमा सहभागी हुन उनीहरू सबै क्लबको इलान्ड रोड स्टेडियम पुगेका थिए । त्यहाँ उनीहरू सबैले फिलिप्ससँगै तस्बिर खिचाएका थिए । उक्त तस्बिरमा फिलिप्सकी हजुरआमा भाल पनि थिइन्, जसको गत फेब्रुअरीमा मृत्यु भएको थियो । उनीहरूको त्यो खुसीको क्षणमा एकजना महत्वपूर्ण व्यक्ति अनुपस्थित थिए, फिलिप्सका पिता मार्क ।

मार्क अहिले इंग्ल्यान्डको एचएम प्रिसन वेल्स्टुन जेलमा छन् । यो जेल लिड्सको अभ्यास गर्ने मैदानबाट तीन सय ५० यार्ड मात्रै टाढा छ । फिलिप्स आफ्नो अभ्यासका लागि दैनिक त्यही बाटो भएर मैदान जाने र फर्कने गर्छन् । उनी आफ्नो पितालाई भेट्न धेरै जाँदैनन् । बरु फोनमार्फत नियमित कुरा गर्छन् ।

फिलिप्स पिताको जेल सजायबारे खुलेर गफ गर्ने गर्छन् । ‘उनी जेलमा छन् । कतिपटक बाहिर निस्किए र फेरि जेल परे,’ फिलिप्स भन्छन्, ‘वास्तवमा उनी राम्रो वातावरणमा हुर्किन पाएनन् । उनलाई आफ्नो पिताको बारेमा समेत कहिल्यै थाहा भएन । उनको विद्यालयमा कालो जातिका उनी एक्ला थिए । त्यसैले पनि उनले फरक व्यवहार पाए ।’

फिलिप्सका पिता मार्क जमैकन हुन् । त्यसैले उनलाई हालै मात्र जमैकन फुटबल संघले पनि राष्ट्रिय टोलीबाट खेल्न सम्पर्क गरेको थियो । यद्यपि, उनले त्यसअघि नै इंग्लिस राष्ट्रिय टोली रोजे । जमैकासँगको सम्बन्धका कारण पनि हुन सक्छ, फिलिप्सले गत वर्ष अमेरिकामा चलेको ‘ब्ल्याक लाइफ म्याटर्स’ अभियानलाई पनि खुलेर समर्थन गरेका थिए ।

गत अगस्टमा पहिलोपटक इंग्लिस राष्ट्रिय टोलीमा परेपछि फिलिप्सले सबैभन्दा पहिले उनकी हजुरआमा भाललाई फोन गरेकी थिइन् । उनकी हजुरआमा पनि लिड्ससँग निक्कै नजिक थिइन् । लिड्सको एउटा डकुमेन्ट्रीमा फिलिप्सकी हजुरआमा भालले पनि भाग लिएकी थिइन् । 

‘उनले फोन गरेर एउटा खबर छ भनेर सुनाए । मैले उनलाई बिहे गर्दै छौ भनेर सोधेँ । उनले होइन भने । मैले नानी पाउन लागेको हो भनेर सोधेँ,’ गत फेब्रुअरीमा बित्नुअघि फिलिप्सकी हजुरआमाले भनेकी थिइन्, ‘प्रशिक्षक साउथगेटले फोन गरेका थिए भनेर उनले भन्नेबित्तिकै मैले उनी राष्ट्रिय टोलीमा परेको थाहा पाएकी थिएँ । उनीप्रति म गौरवान्वित छु ।’

विश्व चर्चित फुटबलर बन्नुअघि फिलिप्सले आफ्नी आमाले गर्नुपरेको संघर्ष पनि देखेका छन् । फिलिप्सका अनुसार उनकी आमा लिन्डसेले आफू, भाइ र दुईजना बहिनीलाई हुर्काउन निक्कै संघर्ष गर्नुपरेको बताएका छन् । उनले आफ्नो परिवारले चरम अभाव व्यहोर्नुपरेको र सुत्ने ठाउँसमेत नहुँदा आमा सोफामै सुत्ने गरेको सुनाएका छन् ।

उनीहरू विद्यालयमा नि:शुल्क पाइने खाना खाएर बिहान बेलुकाको छाक टार्थे । आजभोलि फिलिप्सले आफ्नै आर्थिक सहयोगमा घरछेउमा निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छन् ।

फिलिप्स दुई बहिनीसँगै तिम्लिया जन्मिएका थिए । जसमध्ये एकजना बहिनी लाक्रिएसाको केही महिनामै मृत्यु भएको थियो । ‘हामी हाम्रो जन्मदिनमा लाक्रिएसालाई पनि जन्मदिनको शुभकामना दिने गर्छौं,’ फिलिप्स भन्छन्, ‘हामी उनको अन्त्येष्टि गरिएको ठाउँमा गएर फूल चढाउँछौँ । उनलाई सम्झन्छौँ । म सधै उनलाई सम्झन्छु । मैले पाखुरामा एउटा ट्याटु बनाएको छु, जसले उनको प्रतिनिधित्व गर्ने गरेको छ । त्यसैले म सधैँ गोल गरेपछि आफ्नो पाखुरामा किस गर्छु र आकाशतर्फ औँलाले देखाउने गर्छु ।’

आफ्नो पछिल्लो जन्मदिनमा पनि फिलिप्सले इन्स्टाग्राममा उनीहरू तीनजनाको बाल्यकालको तस्बिर राखेर लेखेका थिए, ‘मेरो दुईजना सुन्दर बहिनीहरूलाई जन्म दिनको शुभकामना । एकजना सधैँ मसँगै हुन्छिन् । अर्काे बहिनीले सधैँ मलाई हेरिरहेकी हुन्छिन् ।’

कुनै समय चरम आर्थिक अभावमा हुर्किएका फिलिप्स अहिले सातामै ५० हजार पाउन्ड कमाउँछन् । जसबाट उनले आफ्नो परिवारको राम्रो ख्याल गर्न सक्छन् । ‘फुटबलले राम्रो दिएको छ । यसले मलाई मेरो परिवारको रेखदेखका लागि सहयोग पुगेको छ । यहीकारण पनि म अझ मिहिनेत गर्ने गर्छु,’ फिलिप्सले भनेका छन्, ‘मसँग पहिले धेरै केही थिएन । तर, मेरी आमा र हजुरआमाले जति सक्नुहुन्थ्यो त्यो दिनुभयो । हामी धनी थिएनौँ, त्यसैले मिहिनेत गर्नुपरेको थियो ।’

फिलिप्सको जीवनमा अझ ठूलो प्रभाव पार्ने व्यक्ति हुन्, लिड्सका म्यानेजर मार्सेलो बिइल्सा । सन् २०१८ मा लिड्सको जिम्मेवारी सम्हालेपछि बिइल्साले उनलाई दुई कुरा भनेका थिए । पहिलो आक्रामक मिडफिल्डरबाट उनको खेल्ने पोजिसन रक्षात्मक मिडफिल्डरको रूपमा परिवर्तन गर्ने, अर्काे उनले आफ्नो शरीरको वजन घटाउनुपर्ने । प्रशिक्षक बिइल्साले उनलाई भनेजस्तो परिवर्तन गरिदिए ।