१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ असार १ मंगलबार १२:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य सामग्री लिएर गृहजिल्ला आएका सभामुखलाई स्थानीयले घेरा हाले 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ असार १ मंगलबार १२:४९:००

सभामुख अग्निप्रसाद सापकोटा कोरोना महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री बोकेर ३१ जेठमा गृहजिल्ला सिन्धुपाल्चोक प्रस्थान गरे । १२ बजे बाह्रबिसे पुगेका सापकोटा त्यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गरेर २ बजे बलेफी आइपुगे । 

बलेफीबाट सात किलोमिटर टाढा नौबिसे सभामुखको घर रहेको गाउँ हो । बलेफीबाट गाडी अगाडि बढ्यो । जताततै खाल्डाखुल्डी हिलाम्मे सडक पार गरेर नौबिसे पुग्न झन्डै एक घन्टा लाग्यो । नौबिसे घरमा एकछिन रोकिएका सभामुख जलवीरे प्राथमिक स्वास्थ्य केन्द्र पुगे । जहाँ उनले विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्री वितरण गर्दागर्दै बाक्लै उपस्थित भएका स्थानीयले एकाएक सभामुखलाई घेरा हाले । स्थानीयको एउटै प्रश्न थियो– जलवीरे सडकको दूरावस्था कहिलेसम्म ? सभामुख एकछिन नाजवाफ भए । सोही निर्वाचन क्षेत्रका जनप्रतिनिधि भएकाले उनले स्थानीयको प्रश्नको जवाफ दिनैपर्थ्याे । स्थानीयलाई शान्त रहन आग्रह गर्दै उनले भने, ‘नियमकानुनअनुसार काम नगर्ने जोकोहीलाई पनि कारबाही गरिन्छ ।’

जलवीरे क्षेत्रका स्थानीयले सापकोटालाई विकास निर्माण, राजनीति र समाज सेवामा निर्विवाद व्यक्तिको रूपमा लिन्छन् । विकास निर्माणमा ठेकेदार र कर्मचारीतन्त्रको मिलिभगतमा भइरहेको ढिलासुस्ती र गैरजिम्मेवार कामबारे जानकारी दिन सभामुखसामु स्थानीय घेरा हालेर उभिएका हुन् । सँगै रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबाेधलाई सडकबारे बुझ्न भनेपछि उनी थप छलफलमा व्यस्त भए ।

छलफलकै क्रममा देखापरेका सडकमा काम गर्ने प्राविधिकसँग सभामुख झोक्किएर प्रश्न गरे– यो के भएको हो ? सभामुखको प्रश्नमा ठेकेदार कम्पनीका प्रतिनिधि नाजवाफ थिए । किनकि १८ महिनामा सम्पन्न गर्नुपर्ने काम तीन वर्षसम्म पनि सुरु भएको थिएन । सापकोटाले स्थानीयकै घेराबाट सम्बन्धित सरकारी कार्यालयलाई फोन गरेर काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । 

बागमती प्रदेशमातहत रहेको पूर्वाधार विकास कार्यालयसँग सम्झौता गरेर ठेकेदार कम्पनी श्री कन्टेक जेभीले जलवीरेको बोक्सेखोलादेखि कात्तिकेको लप्टेखोलासम्म कालोपत्रे गर्ने जिम्मा लिएको तीन वर्ष भयो । ०७५ वैशाख १५ मा सम्झौता गरेको उक्त कम्पनीले १८ महिनाभित्र काम सक्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर, हालसम्म कालोपत्रेका लागि आवश्यक २५ प्रतिशत काम पनि सकिएको छैन । 

तीन वर्षदेखि यो कच्ची सडकको अवस्था हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे रहन्छ । कालोपत्रे गरेर सडक जिम्मा लगाइसक्ने अवधिमा कालोपत्रे सुरु नै नगरेपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी नै दिएका छन् । ४५ करोड ३५ लाख बजेटमा निर्माणाधीन सडकको कालोपत्रे काम ठेकेदार र कर्मचारीको लापरबाहीले अलपत्र परेको हो । 

बलेफीदेखि जलवीरेसम्मको १० किलोमिटर सडक दुईपटक कालोपत्रे भयो । तर, वर्ष दिन नबित्दै कालोपत्रे उप्केर कच्ची सडकमा परिणत भएपछि संघीय सरकारले १७ करोड ७२ लाख बजेट विनियोजन गरेको छ । सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन इन्जिनियर विजय महतोका अनुसार अनक कविर जेभी ठेकेदार कम्पनीले ८० सालसम्म कालोपत्रे गर्ने सम्झौता गरेको छ ।

सभामुखको घर जाने यो सडक जिल्लाको सबैभन्दा लामो कृषि सडक पनि हो । बलेफीदेखि तेम्बाथाङसम्म ४५ किलोमिटर सडक एक दशकदेखि निर्माणको चरणमा छ । यो सडक सञ्जालभित्र एक दर्जन जलविद्युत् आयोजना छन् । जुगल हिमाल पुग्ने यो सडक रुट लेकाली आलु र जडीबुटी ओसार्ने प्रमुख मार्ग हो ।