१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असार १ मंगलबार १२:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्रीलाई बधाई दिँदै प्रवक्ता शर्माले भने- तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ

Read Time : < 1 मिनेट
२०७८ असार १ मंगलबार १२:४३:००

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राखेर काम गर्न सुझाब दिएका छन् । पोखरेल कांग्रेसका पहिलो मुख्यमन्त्री हुन् । मन्त्रिपरिषद्को पहिलो बैठकमै सेवासुविधाका बारेमा छलफल चलाएको भन्दै आलोचित भएका पोखरेललाई प्रवक्ता शर्माले बधाई र शुभकामनासहित संवेदनशील समयमा पाएको जिम्मेवारीलाई संयमित भएर निभाउन सन्देश दिएका हुन् । 

प्रवक्ता शर्माले मुख्यमन्त्री पोखरेललाई प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्न भन्दै आफ्नो कर्मका कारण सिंगो पार्टीको आगामी छवि गाँसिएको छ भन्ने नभुल्न सुझाएका छन् । ‘समय संवेदनशील छ, राम्रो साबित हुन धेरै राम्रो गर्नुपर्छ । आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ । त्यसैले छायाको होइन, ऐनाको सुझाब लिनुहोस्,’ प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ । तर, नभुल्नुहोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको ।’ 

शर्माले राजनीतिप्रतिको वितृष्णा कम गर्न प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्न भनेका छन् । ‘अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ । यति वेलाको शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परिवारका यी दुई अनुहार पर्याप्त छन्,’ शर्माले भनेका छन्, ‘प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्नुहोस् । तिनको प्रकाशमा रूपान्तरण निश्चित गर्नुहोस् । राजनीतिप्रतिको वितृष्णा कम गर्न तब योगदान पुग्नेछ । गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नुहोस् । सही निर्णय गर्न विज्ञलाई सुन्नुहोस् ।’