मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १ मंगलबार ०६:१३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

जेठमा कोरोना संक्रमणबाट सर्वाधिक मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १ मंगलबार ०६:१३:००

एक लाख ७० हजारमा कोरोना हुँदा ३७९० ले ज्यान गुमाए 

कोरोना महामारी सुरु भएयता जेठ ०७८ मा संक्रमणबाट नेपालमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो महिना एक लाख ७० हजार आठ सय ६३ मा कोरोना संक्रमण हुँदा तीन हजार सात सय ९० ले ज्यान गुमाएका छन् ।

सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा आठ हजार चार सय ६५ को मृत्यु भएको छ । त्यसमा पनि ५ जेठमा सर्वाधिक दुई सय ४६ जनाले ज्यान गुमाएका थिए । जेठ महिनामा मात्रै कोभिड– १९ बाट ज्यान गुमाउनेको संख्या कुल मृत्युको करिब ४५ प्रतिशत हो ।

सोमबारको तथ्यांकअनुसार हालसम्म ६ लाख १० हजार पाँच सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये करिब ३३ प्रतिशत काठमाडौं जिल्लावासी हुन् । काठमाडौंमा मात्रै एक लाख ९९ हजार दुई सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

वैशाखको अन्तिम साताबाट तीव्र गतिमा बढ्दै गएर जेठको पहिलो साता नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो । त्यस समय संक्रमणदर ४६ प्रतिशतसम्म पुगेको थियो । हाल संक्रमणदर घट्दै गई २० प्रतिशतको हाराहारीमा झरेको छ । सोमबारको तथ्यांकअनुसार १४ हजार आठ सय १९ को परीक्षण गरिएकोमा दुई हजार नौ सय १८ मा संक्रमण पुष्टि भएको छ, जुन १९.६९ प्रतिशत हो । 

वैशाख महिनामा एक लाख ५८ हजार ६ सय ७४ कोरोना संक्रमण हुँदा एक हजार ६ सय ११ को मृत्यु भएको थियो । सरकारले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा संक्रमणदर घट्न थालेपछि मंगलबारदेखि केही खुकुलो बनाउने निर्णय गरेको छ । तर, संक्रमण घटे पनि संक्रमणदर अझै २० प्रतिशत भएकाले त्यो जोखिमपूर्ण नै हुने चिकित्सकहरू बताउँछन् । संक्रमणदर ५ प्रशितसम्म कम भएमा मात्र निषेधाज्ञा खोल्न सकिने विज्ञहरूको सुझाब छ ।