मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को नियमित बैठक । तस्बिर : प्रधानमन्त्रीकाे निजी सचिवालय
अर्जुन अधिकारी काठमाडाैं
२०७८ असार १ मंगलबार ०४:५२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक करोड  २० लाख डोज  खोप किन्ने प्रस्ताव मन्त्रिपरिषदमा

Read Time : > 2 मिनेट
२०७८ असार १ मंगलबार ०४:५२:००

हालसम्म प्राप्त खोप : ४२ लाख ४८ हजार

कोभिसिल्ड : २४ लाख ४८ हजार
- भारतबाट अनुदान : १० लाख
- खरिद गरेको : १० लाख
- नेपाली सेनालाई सहयोग : एक लाख
- कोभ्याक्स सुविधा : तीन लाख ४८ हजार 

भेरोसेल : १८ लाख
- चीन सरकारको अनुदान : आठ लाख
- तिब्बत सरकारको सहयोग : दुई लाख
- चीन सरकारको थप सहयोग : आठ लाख 

प्रयोग भएको खोप

कोभिसिल्ड 
- पहिलो डोज : १८ लाख २३ हजार ६६३
- दोस्रो डोज : चार लाख ११ हजार ६ 
- बाँकी खोप : एक लाख ९९ हजार १३२
- खेर गएको : १४ हजार १९९

भेरोसेल
- पहिलो डोज : तीन लाख ७३ हजार ९९४
- दोस्रो डोज : दुई लाख ८० हजार ४८८
- प्रयोग गर्न बाँकी : ११ लाख ४५ हजार ५१८

...                                   ...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गर्दै त्यससम्बन्धी फाइल मन्त्रिपरिषद् लगेको स्रोतले जनाएको छ । मन्त्रालयको फाइल सिलबन्दी गरी १० स्थानमा लाहाछाप लगाएर स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले मन्त्रिपरिषद् लगेका हुन् । 

शुक्रबार स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिवलगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिदबारे छलफल गरेका थिए । चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि आइतबार दिनभर स्वास्थ्य अधिकारीहरू आन्तरिक छलफलमा जुटेका थिए । आइतबार साँझ स्वास्थ्य सेवा विभागमा उच्च अधिकारीहरूबीच भएको छलफलमा तत्काल २० प्रतिशत नागरिकलाई खोप आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो । 

सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको छ । अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी छ । चीनले हालै १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसभन्दा अगाडि आठ लाख डोज खोप दिएको थियो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप खरिदको संख्या टुंगो लागे पनि त्यसको मूल्यका बारेमा खुलाइएको छैन । चीन सरकारले पटकपटकको वार्तामा खोप दिने, तर मूल्यका विषयमा सार्वजनिक गर्न नपाइने प्रस्ताव राखेको थियो । ‘मूल्य नखुलाउने प्रस्तावले खोप खरिदको निर्णय गर्न करिब १५ दिन ढिला भएको हो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । चीनले भेरोसेल खोप प्रतिडोज १७ डलर तोकेको छ । तर, त्योभन्दा सस्तोमा नेपाललाई उपलब्ध गराउने भएकाले मूल्य उल्लेख नगर्न भनेको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

अघिल्लो वर्ष खोप खरिद गर्ने निर्णय विवादमा
अघिल्लो वर्ष पनि खोप खरिदमा विवाद भएपछि योपटक सबैसँग सल्लाह लिए पनि निर्णय गर्दा सीमित कर्मचारी बसेका छन् । कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले आफूलाई खरिदको संख्याबारे यकिन जानकारी नभएको बताए । ‘हामीले दुई करोड १७ लाख नागरिकलाई खोप लगाउनुपर्छ भनेका हौँ,’ उनले भने, ‘२० लाख डोज कोभ्याक्स सुविधामार्फत आउँछ । २० लाख डोज खोप सरकारले चालू आर्थिक वर्षमा ल्याउन सके ठूलो राहत हुन्थ्यो ।’ हाल करिब १० प्रतिशत नागरिकले खोप लगाएका छन् । 

नेपालमा १८ वर्षभन्दा कम उमेरका करिब ८४ लाख बालबालिका छन् । उनीहरूलाई खोप लगाउन मिल्दैन । सरकारले आगामी आव ०७८/७९ मा ४० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने योजना बनाएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरूले सरकारलाई एक करोड ११ लाख डोज खोप खरिद गर्न यसअगाडि नै सल्लाह दिएका थिए । 

एकपटकमा २० लाख डोज खोप ल्याइने स्वास्थ्यका अधिकारीहरूको भनाइ छ । देशभर २० लाख डोजभन्दा बढी भण्डारण क्षमता नभएकाले सबै खोप एकैपटक ल्याइने छैन । भारतबाट ल्याइएको कोभिसिल्ड खोप एक भायलले १० जनालाई पुग्ने भएकाले करिब ५० लाख डोजसम्म भण्डारण क्षमता थियो । तर, चिनियाँ खोप भेरोसेल एक भायल एकजनालाई दिनुपर्ने भएकाले धेरै ठाउँ ओगट्ने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.झलक शर्मा गौतम बताउँछन् ।

हाल चीनले दिएको १० लाखमध्ये दुई लाख सिरिन्जमै सेट गरेको खोप छ । यसले झन्डै अरू २० लाख डोज खोप भण्डारण गर्न सक्ने भागलाई ओगटेको छ । दैनिक ६ देखि १० हजारका दरले खोप लगाइनेछ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब र खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेटमा छुट्याएको छ ।