मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार १७:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सञ्चार क्षेत्रका समस्याबारे महासंघले गरायो सञ्चारमन्त्रीको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार १७:५३:००

नेपाल पत्रकार महासंघले कोरोनाका कारण सञ्चार क्षेत्रमा सिर्जित समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री नैनकला थापालाई भेटेर महासंघका पदाधिकारीहरूले कोभिड– १९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभावबारे अवगत गराउँदै आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् । 

भेटमा सञ्चारमन्त्री थापाले कोभिड– १९ का कारण सिर्जित समस्याको समाधान र कोभिडविरुद्धको खोप लगाउन छुटेका पत्रकारका लागि खोपको बन्दोबस्त गर्न पहल गर्ने बताएकी छिन् । मन्त्री थापाले सञ्चार क्षेत्रका समस्या सुल्झाउन आफूले कोसिस गर्ने प्रतिबद्धतासमेत जनाएकी छिन् । उनले पत्रकारहरूलाई सत्यतथ्य सूचना प्रवाहमा ध्यान दिन आग्रहसमेत गरिन् ।

भेटमा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीले कोभिड– १९ का कारण सञ्चार क्षेत्रमा सिर्जित समस्याहरू र सरकारका तर्फबाट गर्नैपर्ने पहलबारे अवगत गराएका थिए । 

महासंघले कोरोना भाइरस संक्रमणको समयमा सञ्चारकर्ममा खटिएका पत्रकारले पारिश्रमिक नपाउने, सञ्चारगृहले पेसाबाट निकाल्नेलगायत समस्या देखिएको भन्दै मन्त्रालयबाट तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट वञ्चित गर्न आग्रह गरेको छ । महासंघले पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।

महासंघले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई राहत र पत्रकारको निःशुल्क उपचारको व्यवस्था गरिदिन माग गरेको छ । कोरोनाका कारण २० जना पत्रकारको ज्यान गइसकेको छ भने एक हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । 

महासंघले साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरूका लागि लोककल्याणकारी विज्ञापनमा ५० प्रतिशत वृद्धि गर्न माग गरेको छ । सरकारले आगामी वर्षको बजेटमा लोककल्याणकारी विज्ञापनबाट प्राप्त हुने रकमबाट १० प्रतिशत कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने भनेको छ । तर, महासंघले भने कोरोनाको संकटका लागि वृद्धि गरेर दिनुपर्नेमा उल्टै पाउँदै आएकोबाट समेत १० प्रतिशत कोषमा जम्मा गर्ने व्यवस्थाले सञ्चार क्षेत्रमा निराशा पैदा भएको बताएको छ । 

यस्तै, कोभिडको समयमा साना लगानीका पत्रपत्रिका समयमै पत्रिका प्रकाशन गर्न नसकेका कारण लोककल्याणारी विज्ञापनबापतको रकम भुक्तानीमा सहजता सिर्जना गरिदिन र अनलाइन सञ्चारमाध्यमहरूलाई पनि लोककल्याणकारी विज्ञापनको व्यवस्था एवं समानुपातिक विज्ञापन लागू गर्न माग गरेको छ ।