मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
बजार अनुगमनका क्रममा बिक्रीमा राखिएको रङको उपभोग्य मिति हेर्दै चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपाने
२०७८ जेठ ३० आइतबार १२:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृत्रिम अभाव गराउँदै जुम्लामा कालोबजारी

Read Time : > 1 मिनेट
२०७८ जेठ ३० आइतबार १२:०३:००

कोभिड–१९ को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको र अखाद्य वस्तु किनबेच भइरहेको उपभोक्ताले गुनासो गरेका छन् ।खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको गुनासो बढेपछि चन्दननाथ नगरपालिकाले बजार अनुगमन गरेको छ । उपमेयर अप्सरादेवी न्यौपानेको नेतृत्वमा निस्किएको अनुगमन टोलीले होलसेल, खुद्रापसल र हार्डवेयरमा अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा बजारमा म्याद नाघेको खाद्यान्न सामग्री किनबेच भइरहेको भेटिएको थियो । कोरोनाका नाममा बढेको कालोबजारी रोक्न र मूल्यमा एकरूपता ल्याउन अनुगमन गरेका थियौँ, उपमेयर न्यौपानेले भनिन्, ‘नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएपछि अनुगमनमा निस्केका थियौँ । कालोबजारी रोक्न र मूल्यवृद्धि रोक्न आग्रह गरेका छौँ ।’

खानेतेल, चिनी, चामल, दाललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि नागरिक मर्कामा परेका छन् । कोरोनाका नाममा कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने गरेको भेटिएको हो । उपमेयर न्यौपानेले भनिन्, ‘बजारमा कालोबजारी नगर्न र मूल्यमा एकरूपता ल्याउन भनेका छौँ । अटेर गरेको खण्डमा कानुनअनुसार अघि बढ्नेछौँ ।’

खलंगामा रहेका ५ वटा ठूला डिलर, तरकारी पसल र हार्डवेयर पसल अनुगमन गरिएको थियो । अनुगमनका क्रममा व्यापारी अनुशासित भेटिएनन् । उद्योग वाणिज्य संघका पदाधिकारीले नै म्याद सकिएको सामान बेच्ने गरेको भेटियो । उपमेयर न्यौपानेले थपिन्, ‘उपभोक्ताको हकहितलाई मध्यनजर गर्दै अखाद्य वस्तुको किनबेच बन्द गर्नुपर्छ । अनुगमनमा निस्केको टोलीलाई राजनीतिक पूर्वाग्रहबाट हेरिनुहुँदैन ।’

कतिपय व्यापारीले म्याद नाघेको सामान जफत गर्न खोज्दा आइलाग्ने गरेको अनुगमन समितिले जनाएको छ । डिलरहरू मूल्यमा एकरूपता भएको बताउँछन् । तर, खुद्रा व्यापारी डिलरले महँगोमा बेच्ने गरेकाले महँगोमा उपभोक्तालाई बेच्नुपरेको बताउँछन् । होलसेल व्यापारी र खुद्रा व्यापारीबीचको तालमेल नमिलेको भेटिएको थियो । 

डिलरमा खानेतेलबाहेकको मूल्यवृद्धि भएको छैन । चामल, चिनी र धूम्रपान तथा सुर्तीजन्य पदार्थको मूल्य बढेको छैन । अनुगमनका क्रममा विपिन टेड्रर्स जुम्लाबाट ४४ वटा म्याद गएको इनामेल बरामद गरिएको थियो ।

कैलाश जनरल स्टोरबाट एक डिब्बा इनामेल, जुम्ला हार्डवेयरबाट म्याद गएको सामान बरामद गरिएको थियो । चिउरा र भुजी पनि बरामद गरिएको छ । कोरोना महामारीले नागरिक आक्रान्त भइरहेका वेला व्यापारीले मनपरी गर्न थालेको स्थानीय बताउँछन् । कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्ने उपमेयर न्यौपानेको भनाइ छ । कालोबजारी हुने काम रोक्न पहिलोपटक अनुगमन गरेको उनले बताइन् ।