Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ जेठ २९ शनिबार १६:१५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीको दक्षिणी क्षेत्रमा कोरोनाको चिनियाँ खोपप्रति भ्रामक प्रचार 

Read Time : > 1 मिनेट
२०७८ जेठ २९ शनिबार १६:१५:००

सरकारले ज्येष्ठ नागरिकका लागि उपलब्ध गराएको चिनियाँ खोपबारे भ्रामक प्रचार गर्दा लक्षित समूहले खोप नलगाई फिर्ता गरिदिएका छन् । रुपन्देहीको दक्षिणी क्षेत्रका गाउँपालिकाहरूमा चिनियाँ खोपप्रति नकारात्मक सूचना प्रभाव भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक राजेन्द्र गिरीले बताए । रुपन्देहीमा ज्येष्ठ नागरिकका लागि चिनियाँ खोप १४ हजार ५५ डोज आएको थियो ।

स्वास्थ्य कार्यालयले स्थानीय पालिकाहरूलाई ज्येष्ठ नागरिककहरूको संख्याका आधारमा वितरण गरेको थियो । वितरित खोपहरूमध्ये रुपन्देहीको मर्चवारी माई गाउँपालिकामा १४ दशमलव ४ प्रतिशतले खोप लगाएका छन् । ६ सय १६ डोज खोप पठाइएकोमा ८९ जनाले मात्र खोप लगाएका थिए । ज्येष्ठ नागरिकहरू खोप लगाउन नआएको गाउँपालिका अध्यक्ष केशवनन्दन बानियाँले बताए । ‘गाउँभरि अनावश्यक हल्ला फिँजाए, कोही खोप लगाउन आएनन्,’ बानियाँले भने, ‘सरकारले वृद्धहरूलाई भत्ता दिइरहन नसक्ने भएकाले तीन–चार वर्षमा मार्ने गरी यो चिनियाँ खोप ल्याएको हो भन्ने हल्ला गाउँमा फैलाएछन्, त्यसैले खोप लगाउन आएनन्,’ बानियाँले भने । 

भ्रमक प्रचारकै कारण स्थानीय वृद्धवृद्धा खोप लगाउन नआएको स्वास्थ्यकर्मीको भनाइ उद्धृत गर्दै जनस्वास्थ्य प्रशासक गिरीले बताए ।  रुपन्देहीको मर्चवारी गाउँपालिकामा मात्र नभएर लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिकाको केही स्थान, समरीमाई गाउँपालिका क्षेत्रमा अनावश्यक हल्ला फैलाएको गिरीले बताए । हल्ला फैलाउनेको पहिचान भएको छैन । 

खोप बचाएर आफूहरूले लगाउन हल्ला फैलाइएको हुन सक्ने जनप्रतिनिधिहरू बताउँछन् । खोप ज्येष्ठ नागरिकका लागि भने पनि पहुँचको आधारमा सबैले लगाएका छन् । रुपन्देहीमा खोप ६२ देखि ६४ उमेर समूहकाले लगाउने नियम थियो ।

जिल्लाको विभिन्न स्थानहरूमा चिनियाँ खोपका विषयमा अनावश्यक हल्ला फिँजाएर खोप नलगाएको भन्ने विषयमा आफूलाई पनि जानकारी भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी असमान तामाडले बताए । अनावश्यक हल्ला भएको जानकारी आए पनि खोप लगाउन पाइनँ भन्ने खालका ज्येष्ठ नागरिकहरूबाट गुनासो नआएको उनको भनाइ छ । 

‘कोरोनाको चिनियाँ खोप लगाएपछि मान्छे बिरामी हुन्छ, अस्पताल गएपछि फर्किँदैन भन्ने हल्ला मेरो पालिकाका केही स्थानमा पनि फैलाइएको रहेछ । तैपनि नागरिकले खोप लगाए,’ ओम सतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले भने । 

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा ३७ दशमलव ६ प्रतिशतले मात्रै खोप लगाएका थिए भने समरीमाई गाउँपालिकामा ३९ दशमलव ५ प्रतिशतले मात्र खोप लगाएका थिए । फिर्ता भएका खोपहरू सबै उमेर समूहले लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।