मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २८ शुक्रबार १०:०४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ : मन्त्री चौधरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २८ शुक्रबार १०:०४:००

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू कोभिड महामारीले थप जोखिममा परेको बताएकी छिन् । उनले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवं बालबालिका पर्न थालेको जिकिर गरेकी हुन् ।  

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको बताइन् । महिलालाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुँजी र बजारको खोजीमा पनि सहयोग आवश्यक भएको उनको भनाइ थियो । उनले भनिन्, ‘महिलालाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ ।’

परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिला नेतृहरूसँग ‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेतृत्वको भूमिका’ विषयमा अन्तक्र्रिया गरेको थियो । महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउनेसम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिला नै रहेको भन्दै अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको बताइन् । 

राणाले भनिन्, ‘अहिलेको संकटमा सबैको ध्यान नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’ नागरिकलाई परेको संकट, भविष्यमा आइपर्ने समस्या र त्यससँग जुधेर अघि बढ्न पर्याप्त तयारी नेतृत्व तहबाट हुनुपर्ने उनको भनाइ थियो । 

युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन् । कोभिडका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।  

कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीले सबैले ठूलो संकटविरुद्ध संघर्ष गरिरहेको बताउँदै अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताए । सिएनआई सिइओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।