मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २८ शुक्रबार ०९:५५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्सको विशेष साधारणसभामा  सिर्जना फाइनान्स प्राप्ति प्रस्ताव पारित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २८ शुक्रबार ०९:५५:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारणसभाले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा डिजिटल प्लेटफर्ममा जुममार्फत बसेको साधारणसभाले प्रस्ताव पारित गरेको हो । 

विशेष साधारणसभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रको अनुमोदन गरेको जनाइएको छ । सिर्जना फाइनान्सलाई प्राप्ति गर्दा १ सय कित्ताबराबर ९५ कित्ताको स्वाप रेसियो कायम गरिएको बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको बिहीबार नै बसेको विशेष साधारणसभाले पनि प्राप्तिका लागि स्वीकृति दिएको जनाइएको छ । दुवै बैंक तथा फाइनान्सको विशेष साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको बैंकले जनाएको छ ।

यसै आवभित्र सिर्जना फाइनान्सलाई प्राप्ति गरी संयुक्त कारोबार सुरु गर्ने बैंकका अध्यक्ष भण्डारीले बताए । प्राप्तिपश्चात् बैंकको वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने अध्यक्ष भण्डारीको भनाइ थियो । 

०७८ साल जेठ २६ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ । त्यस्तै, सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुने जनाइएको छ ।

प्राप्तिपश्चात् बैंकको कुल शाखा १ सय ८९ हुने जनाइएको छ । हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकामा सिर्जना फाइनान्स लिमिटेडको प्राप्तिपश्चात् उक्त प्रदेशमा बैंकका शाखा २७ पुग्ने र प्रदेश नं २ मा २० वटा शाखाहरू रहेकामा प्राप्तिपश्चात् २७ वटा शाखा हुने जनाइएको छ । बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकामा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुने जनाइएको छ ।