मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अविन ओझा
२०७८ जेठ २८ शुक्रबार ०८:२८:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वर्तमान राजनीतिको समाजशास्त्र

अग्रलेख

Read Time : > 5 मिनेट
अविन ओझा
२०७८ जेठ २८ शुक्रबार ०८:२८:००

सहस्राब्दी नेपाली पुस्ताले हालसम्म पूर्ण बहुमतको पाँचवर्षे स्थिर सरकारको अनुभव गर्न पाएकै छैन

समाजशास्त्रको चासो सामाजिक समस्यामा हुनुपर्ने, राजनीतिमा किन यसलाई घुसाइँदै छ ? पक्कै पनि केही विरोधाभाषपूर्ण लाग्न सक्छ । समाजशास्त्रको विषय र क्षेत्र सामाजिक समस्याको अध्ययन तथा समाधान नै हो । हरेक राजनीतिक क्रिया तथा प्रतिक्रियाले कि त सामाजिक परिवर्तन निर्देश गर्छ या सामाजिक समस्या निम्त्याउँछ । यसर्थ, राजनीतिक विषयको विश्लेषणमा समाजशास्त्रीय दृष्टि अपरिहार्य छ । यस आलेखमा नेपालको पछिल्लो राजनीतिक क्रियाकलाप तथा प्रतिक्रियाबाट उत्पन्न हुन सक्ने सामाजिक समस्याबारे समीक्षा गर्न खोजिएको छ । यहाँ नेपालको राजनीतिक इतिहास, वर्तमानको राजनीतिक अवस्था, तथा भविष्यको राजनीतिक दिशाबारे चर्चा गर्न खोजिएको होइन । वर्तमान राजनीतिक गतिरोध, राजनीतिक नेताहरूको आचरण र राजनीतिक पार्टीका कार्यकर्ताको क्रियाकलापले निर्देश गर्न सक्ने केही सामाजिक समस्या केलाउने प्रयास गरिएको छ । मुख्यतया, पुनः अस्थिरतातर्फ उन्मुख वर्तमान राजनीतिक अवस्थाले फेरि कसरी आर्थिक पछौटेपन, बेरोजगारी, भ्रष्टाचारलाई प्रोत्साहन गर्छ ? राजनीतिक नेतृत्वमा मौलाउँदै गरेको व्यक्तिकेन्द्रित लाञ्छना संस्कृति (एड–होमिनेम कल्चर) ले आगामी दिनमा कस्तो राजनीतिक संस्कृतिको दिशानिर्देश गर्ला ? र, पार्टीका बौद्धिकदेखि सामान्य चेतनास्तर भएका कार्यकर्तासम्म मौलाउँदै गरेको अति प्रशंसात्मक तथा पूर्ण निषेधात्मक प्रवृत्तिले सामाजिक समबद्धता र सहिष्णुतामा कस्तो असर पार्ला ? आलेख यिनै विषयमा केन्द्रित रहनेछ ।

अस्थिर राजनीति र सहस्राब्दी पुस्ता : सहस्राब्दी पुस्ता (मिलेनियल्स) अर्थात् सन् १९८० देखि १९९४ बीच जन्मेका हाल २५ देखि ४० वर्ष उमेर समूहको वर्गले अहिलेसम्म नेपालको राजनीतिमा जे देखे, भोगेका छन्, त्यो पक्कै पनि गर्व गर्नलायक छैन । उनीहरूले यस अवधिको राजनीतिमा सम्झनलायक निकै कम भोगेका छन् । जसका कारण देशको अर्थतन्त्र उत्पादनमुखीभन्दा रेमिट्यान्स आश्रित बन्न पुगेको छ । रेमिट्यान्सले अर्थतन्त्र धान्दै गर्दा दिगो अर्थतन्त्रको जगका रूपमा रहने सिर्जनात्मक पुस्ता ह्रास हुँदै गएको छ । त्यसो त अस्थिर राजनीतिबाट आजित यस पुस्ता राजनीतिमा निकै कम चासो राख्ने बन्न पुगेको छ । किन युवापुस्ताको राजनीतिप्रति विकर्षण छ ? यसका विविध कारण होलान् । प्रमुख कारण भने देशमा विभिन्न कालखण्डमा विभिन्न नाम भएका राजनीतिक परिवर्तनले ठोस उपलब्धि हासिल गर्न नसक्नु हो । विभिन्न चरणमा राज्य व्यवस्था परिवर्तनका नाममा आन्दोलन भए, मानिसको जिउधनको नाश भयो । सबभन्दा महत्वपूर्ण, यी सहस्राब्दी पुस्ताको करिब एक दशक लामो उर्वर समय जनयुद्धका नाममा बर्बाद भयो । त्यसको प्रभाव अहिले नेपाली समाजमा यत्रतत्र देखिन्छ । धेरै बर्बादी गरी ल्याइएको वर्तमान शासन व्यवस्था र संविधानबाट उपलब्धि चाहिँ के भयो ? आज यसको उत्तर फेरि यो पुस्ता खोज्दै छ । उत्तर आउँछ– उही राजनीतिक अस्थिरता र वैदेशिक रोजगारीमा आश्रित अर्थतन्त्र । 

सहस्राब्दी नेपाली पुस्ताले हालसम्मको जिवनकालमा पूर्ण बहुमतको पाँचवर्षे स्थिर सरकारको अनुभव गर्न पाएकै छैन । यसलाई अत्यन्त दुःखद मान्नुपर्छ । जसका कारण दीर्घकालीन विकास, नीति तथा रोजगारीका सफल कार्यक्रम जनताले देख्ने अवसर पाएनन् । फलतः देश आर्थिक वृद्धि तथा विकास, एवम् स्थिर राजनीतिको मार्गमा अगाडि बढ्नै सकेन । परिणामतः बेरोजगारी, भ्रष्टाचार, भ्रष्ट राजनीतिक संस्कार, द्वन्द्व, हिंसा जस्ता आर्थिक एवम् राजनीतिक गतिरोध जस्ताका तस्तै छन् । हुन त २०४७ को राजनीतिक उपलब्धिपश्चात् एकाध अवसर आएको थियो, एकल बहुमतको सरकार चलाउने । त्यति वेला पनि सरकारले पूर्ण कार्यकाल काम गर्न सकेन । ०६२—६३ को राजनीतिक परिर्वतनपश्चात् पछिल्लोपटक करिब–करिब दुईतिहाइनजिक बहुमतको जगमा ओली सरकार गठन भयो । तीन वर्ष सकिँदा–नसकिँदै सत्तापक्षीय पार्टीको आन्तरिक कलह, संसद् विघटन तथा सरकारका तर्फबाट बारम्बार उठाइएका असंवैधानिक कदमले पूर्णकालीन स्थिर सरकार त दिन सकेन सकेन । राजनीतिक स्थिरतातर्फ लम्केको नेपाली राजनीतिलाई पनि पुनः अस्थिरताको मार्गमा मोडेको छ । जनताको लामो संघर्ष तथा हजारौँ जनताको जीवनदानपश्चात् निर्माण गरिएको संविधानको संवैधानिक अस्तित्व नै संकटमा परेको छ । यसमा तत्कालीन नेकपा पूर्णरूपमा जिम्मेवार छ ।

कोभिड महामारीबाट विश्वभर सिर्जित स्वास्थ्य संकटबीच तत्कालीन सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहको ओलीविरुद्धको आन्दोलन, सत्तापक्षीय ओली समूहको शक्ति प्रदर्शन तथा प्रधानमन्त्री स्वयंको कोरोना भाइरसप्रतिको मनोगत, भ्रामक एवं अवैज्ञानिक अभिव्यक्तिका कारण कोरोना महामारी नेपालमा यस्तो विध्वंसात्मक बन्न पुगेको छ । राजनीतिक नेतृत्वको हठ तथा अज्ञानताका कारण देशमा आज स्वास्थ्य संयन्त्र फेल भइसकेको अवस्था छ । स्मरण रहोस्, राजनीतिक हिसाबमा एक व्यक्तिको मृत्यु, एक भोट घट्नु होला । तर, गरिखाने परिवारमा आर्थिक रूपले सक्रिय एक सदस्यको अकालमा मृत्यु हुनु भनेको त्यो परिवारको एक पुस्ता गरिबीमा धकेलिनु हो । यसतर्फ न त सरकार गम्भीर छ, न त राजनीतिक शक्ति नै संवेदनशील छन् । आजको राजनीतिक तथा स्वास्थ्य संकटले राजनीतिक तरलताको सिर्जना गरेको छ । आर्थिक अधोगतितर्फ डो¥याएको छ । यसले देशमा फेरि बेरोजगारी, भ्रष्टाचार, द्वन्द्व र संकटको वातावरणलाई निम्त्याएको छ । वर्तमानको यो अवस्थाले कम्तीमा सहस्राब्दी पुस्ताले देखेको समृद्ध नेपाल र सम्पन्नशाली नेपालीको सपना लगभग टुटाइदिएको छ ।

राजनीतिमा एक व्यक्तिको मृत्यु, एक भोट घट्नु होला, तर गरिखाने परिवारमा आर्थिक रूपले सक्रिय एक सदस्यको अकालमा मृत्यु हुनु भनेको त्यो परिवारको एक पुस्ता गरिबीमा धकेलिनु हो
 

लाञ्छनायुक्त राजनीति र सहस्राब्दी पुस्ता : राजनीतिमा प्रतिस्पर्धी पार्टी, नेता तथा सरकारको कार्यप्रति तर्क गर्नु, विरोध गर्नु राजनीतिको विश्वव्यापी अभ्यास हो । तर, यस्ता तर्क पक्षपाती तथा पूर्वाग्रही भएर गरिनुभन्दा न्यायसंगत, तथ्यपरक र वास्तविक धरातलमा उभिएर गरिनु असल राजनीति तथा राजनीतिज्ञको विशेषता हो । तर, पछिल्लो समय नेपालको राजनीतिमा एउटा अजिबको राजनीतिक संस्कृति मौलाउँदै गएको छ । त्यो हो लाञ्छनायुक्त संस्कृति (एड–हमिनेम) । लाञ्छनायुक्त संस्कृति त्यस्तो आचरण हो, जसमा नेताहरू लोकप्रियताको कुतर्क (एड–पपुलम) मार्फत जनताको विश्वास जित्न उद्वेलित हुन्छन् । अमेरिकी कम्प्युटर वैज्ञानिक पाउल ग्राहमले कसैको विचारमा असहमति जनाउँदै गरिने तर्क या प्रतिवादको पदानुक्रमको एउटा पिरामिड प्रारूपको व्याख्या गरेका छन् । जसमा सबैभन्दा माथि अधिक विश्वसनीय तर्कसहित गरिने तार्किक खण्डन तथा आलोचना पर्छ । त्यसो त सबैभन्दा कमजोर एवं तल्लो स्तरमा व्यक्तिगत लाञ्छना लगाउँदै नामै काढेर (एड हमिनेम, नेम कलिङ) गरिने तुच्छ असहमति वा प्रतिवादलाई सबैभन्दा तल राखेका छन् । 

अहिले नेपालमा बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मका नेताले राजनीतिक भेला, सम्मेलन र अन्तर्वार्तामा दिएका अभिव्यक्तिको विश्लेषण गर्ने हो भने ग्राहमको पिरामिडको सबैभन्दा तल्लो श्रेणीमा पर्ने खालका तर्क देखिन्छन् । दिनहुँजसो हुने भेला तथा आमसभामा एकले अर्कालाई निकृष्ट रूपमा आलोचना गर्दै आफ्ना कार्यकर्तालाई उक्साएको सुनिन्छ । प्रधानमन्त्रीबाट संस्कार र संस्कृतिबारे चर्चा गर्दा, चुरोटको अम्मली आमाबुबाले छोराछोरीलाई धूम्रपानले श्वासप्रश्वासमा असर गर्छ । चुरोट पिउन हुन्न भनेर सम्झाएको जस्तो लाग्छ । 

यस्तो किसिमको लाञ्छनायुक्त आलोचना किन र कुन वेला गरिन्छ ? उत्तर सहज छ, जति वेला तर्क, प्रमाण र सत्यले प्रतिवाद गर्न सकिन्न । व्यक्तिगत आक्रमण या लाञ्छना भनेको विवादास्पद मुद्दा र राजनीतिक ध्रुवीकरणको अवस्थामा गरिने प्रतिवाद हो । आज, नेकपाका दुवै समूह (एमाले–माके) का नेतृत्वदेखि दोस्रो पुस्ताका नेतासमेत यही समास्याबाट आक्रान्त छन् । तसर्थ, लाञ्छनायुक्त राजनीतिक संस्कार अवलम्बन गर्दै एकले अर्कालाई निकै तल्लो स्तरमा आलोचना गर्दै आएका छन् । सवाल यी करिब–करिब फेज आउट नेताले के गरे ? के बोले ? भन्ने होइन । अबको राजनीतिक मोर्चा सम्हाल्ने सहस्राब्दी पुस्ताले यसबाट कस्तो राजनीतिक संस्कृति र संस्कार सिक्दै छ भन्ने हो । 

ट्रोल संस्कृति र ‘जुमर्स’ पुस्ता : आज प्रायः हरेक कुराको अद्यतन (अपडेट) सामाजिक सञ्जाल प्लेटफर्ममार्फत गरिन्छ । यसमा नेपाली समाज पनि अछुतो छैन । सूचना सम्प्रेषणदेखि कसैलाई सहानुभूति र सम्मान व्यक्त गर्ने कार्यसम्म र कसैको आलोचनादेखि गालीगलोज गर्नेसम्मका सबै क्रियाकलाप सामाजिक सञ्जालमार्फत नै गर्ने गरिन्छ । प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्म, साउँ अक्षर चिन्नेदेखि बौद्धिक जमातसम्म सबै सामाजिक सञ्जालमा सक्रिय छन् । एक तथ्यांकअनुसार आज विश्वभर करिब तीन अर्ब मानिस सामाजिक सञ्जालमा आबद्ध छन् । ती मानिसले औसतमा प्रतिदिन तीन घन्टा सामाजिक सञ्जालमा बिताउँछन् । सामाजिक सञ्जालमा समय बिताउनु आफैँमा गलत होइन, तर यसको प्रयोगमा विवेक पु¥याउन नसक्नु चाहिँ गलत हो । 

अधिकांश नेपालीको सामाजिक सञ्जाल हेर्ने हो भने उनीहरू ट्रोल संस्कृतिमा रमाइरहेका देखिन्छन् । प्रयोगकर्ताले यसलाई अरूको कमजोरी उजागर गरी आलोचना गर्ने मञ्च बनाएका छन् । कतिपयले कपोलकल्पित एवम् भ्रामक सन्देश सम्प्रेषण गर्ने माध्यम बनाएका छन् । यतिसम्म त ठिकै हो, कसै–कसैले योभन्दा माथि गाली बेइज्जती तथा कसैको चरित्रहत्यासम्म गर्ने चौतारो पनि यही सञ्जाललाई बनाएका छन् । यो गलत संस्कृतिको अनुमोदन गर्ने काममा मन्त्री–सांसद र नेतादेखि कार्यकर्तासम्म लागिपरेका छन् । सबै ट्रोल संस्कृति तथा ‘होक्स न्युज’प्रति पुलकित भएको देखिन्छ । यसो त अहिलेको राजनीतिक परिवेशमा हेर्ने हो भने हरेक एउटा नेता–कार्यकर्ता प्रत्येक अर्को नेता–कार्यकर्ताको ‘डिजिटल डिफेमिङ’ गर्न लागिपरेका छन् । समाजकै प्रबुद्ध वर्ग यस्ता गैरजिम्मेवारी र भ्रमपूर्ण विषयको स्वामित्व लिन तँछाडमछाड गर्दै गर्दा भर्खरै सामाजिक सञ्जालमा छिर्दै गरेका, देशको अर्थराजनीति बुझ्दै गरेका, जुमर्स (सन् १९९७ पछि जन्मेको ‘जेनरेसन जेड’) पुस्ताले कस्तो राजनीतिक संस्कृति सिक्ला ? सामाजिक सम्बद्धता र सहिष्णुताका लागि प्रयोजनमा ल्याइएको सामाजिक सञ्जाल हामीले कतै सामाजिक विभाजन र विघातका लागि दुरुपयोग त गरिरहेका छैनौँ ? यसबारे कसले सोच्ने ?

(लेखक सिटी युनिभर्सिटी अफ न्युयोर्कमा प्राध्यापनरत छन्) 

[email protected]