मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २६ बुधबार १५:०३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बंगलादेबाट आयो ३२ हजार पाँच सय मेट्रिकटन मल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २६ बुधबार १५:०३:००

बंगलादेबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । 

जिटुजी सम्झौताअनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार पाँच सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताए । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गबाट वीरगन्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयमा आउनेछन् ।

सम्झौताअनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नुपर्नेमा अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिला भएको प्रबन्धक केसीले बताए । उनका अनुसार बाँकी रहेका मल छिट्टै नै उपलब्ध गराउन नेपाल सरकार तथा बंगलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बंगलादेबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जमा अहिले युरिया मल दुई हजार सात सय मेट्रिकटन, डिएपी एक हजार चार सय दुई मेट्रिकटन र पोटास एक हजार दुई सय ८० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ ।

पर्सा जिल्लास्थित एक सय ३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एकपटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरूले स्थानीय तहले तोकेको मूल्यमा किसानहरूलाई मल बिक्री गर्ने गरेको छ । कतिपय विक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासोसमेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक विक्रेतालाई कारबाही गर्नुपर्ने माग किसानको छ । 

पर्सामा ९० प्रतिशत किसान व्यावसायिक रूपमा धानखेती गर्दै आएका छन् । पर्सामा कुल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । रासस