Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हेमन्त केसी
२०७५ फाल्गुण ७ मंगलबार ११:०७:००
Read Time : < 1 मिनेट
समाचार

रकम भुक्तानी नहुँदा उपभोक्ता ऋणमा

Read Time : < 1 मिनेट
हेमन्त केसी
२०७५ फाल्गुण ७ मंगलबार ११:०७:००

स्थानीय सरकारले सडक निर्माण योजना रकम भुक्तानी नगर्दा उपभोक्ता ऋणमा परेका छन् ।  जाजरकोटको कुसे गाउँपालिका–१ स्थित तारेचौर–साधलाग्ने सडक निर्माण रकम नपाउँदा ऋणमा परेको उपभोक्ताले बताएका छन् । गत वर्ष गाउँपालिकासँग १० लाखमा सडक निर्माण सम्झौता भएको थियो । तर, गाउँपालिकाले सम्झौताअनुसार रकम भुक्तानी नगर्दा ऋणमा परेको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बस्नेतले बताए । ‘ब्याज तिर्नेगरी ६ लाख ऋण निकालेर मजदुरको पारिश्रमिक ति-यौँ, तर गाउँपालिकाले भुक्तानी गरिदिएन,’ उपभोक्ता समिति अध्यक्ष बस्नेतले भने । 

उपभोक्ता समितिले तारेचौर–साधलाग्ने ६ किलोमिटर सडक जनश्रमदानसँगै मजदुर लगाएर बनाएको थियो । गाउँपालिकाले प्राविधिक मूल्यांकन नगरिदिँदा सडकका लागि छुट्याएको रकम फिर्ता भएको कुसे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले बताए । ‘गतवर्ष प्राविधिक मूल्यांकन नहुँदा गाउँपालिकाले भुक्तानी गरिदिएन, यो वर्ष बजेट नै विनियोजन भएको छैन,’ अध्यक्ष नेपालीले भने, ‘गाउँपालिकाका कारण उपभोक्ता समस्यामा परेका छन् ।’

रकमका लागि पटक–पटक गाउँपालिका कार्यालय पुग्दा उल्टै खर्च हुने गरेको उपभोक्ता समिति अध्यक्ष बस्नेतले बताए । गाउँपालिका कार्यालय सदरमुकाम खलंगामा रहेको छ । ‘कैयौँपटक गइसकेँ, झुलाइरहेका छन्,’ उनले भने । गत आर्थिक वर्षमा भुक्तानी नगर्दा समस्या भएको कुसे गाउँपालिकाका प्रशासकीय  अधिकृत श्यामकृष्ण पौडेलले बताए । ‘यो आर्थिक वर्षमा रकम विनियोजन नै भएको छैन,’ पौडेलले भने, ‘गत वर्षको रकम यो वर्ष कसरी दिन मिल्छ ?’