मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ जेठ २६ बुधबार १२:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वृद्धभत्ता लिन स्ट्रेचरमा : बैंकिङ प्रणालीले वृद्धवृद्धालाई सास्ती

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ जेठ २६ बुधबार १२:४३:००

सरकारले वृद्धभत्ता बैंकबाट दिने घोषणा गरेसँगै अशक्त वृद्धवृद्धालाई सकस भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ की ७८ वर्षीया विष्णुमाया काफ्लेले एक वर्षदेखि भत्ता पाएकी छैनन् । किनकि उनी उठेर बैंकसम्म जान त के बाहिरभित्र पनि गर्न सक्दिनन् । उनको  बायाँ खुट्टा चल्दैन । प्यारालाइसिस भएको झन्डै एक दशक भयो । त्यसयता उनी घरबाट बाहिर गएकी छैनन् । 

वर्ष दिनअघि वडाध्यक्ष दीपेन्द्र थापा आफैँ घरमा पुगेर सरकारले दिने सामाजिक सुरक्षाभत्ता १२ हजार विष्णुमायाको हातमा थमाएर फर्किएका थिए । प्यारालाइसिसले थलिएकी वृद्धा आमाले हातभरि भत्ता पाएपछि खुसीले गद्गद् भएको क्षण वडाध्यक्ष थापाले सम्झिए । 

विष्णुमायाको भत्ता लिन उनको संरक्षक बसेका छोराछोरी पटक–पटक बैंक पुगे । तर, भत्ता नपाएर उसै घर फर्किए । भत्ता पाउने व्यक्ति स्वयंको औँठाछापविना बैंकले रकम नदिने नियम रहेछ । हजुरआमालाई स्ट्रेचरमा बोकेर सिन्धु विकास बैंक जलवीरे हिँडेका नाति सुमित काफ्लेले बैंकिङ प्रणाली लागू भएयता अशक्त वृद्धवृद्धाले सास्ती खेप्नुपरेको बताए । 

सामाजिक सुरक्षा भत्तामा लापरबाही भएको थाहा पाएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले बैंकिङ प्रणाली लागू गरेको हो । तर, अशक्त वृद्धवृद्धालाई बैंकिङ प्रणालीले ठूलो सास्ती दिएको पाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर २ मा मात्रै १५ वृद्धवृद्धाले आठ महिनादेखि भत्ता पाएका छैनन् । वडा नम्बर २ कै ७५ वर्षीय आइते विकको घरमा कोही छैन । सरकारले दिएको भत्ता आठ महिनादेखि बन्द हुँदा विकले नुनतेल किन्न पाएका छैनन् ।  

हिँडडुल गर्न नसक्ने वृद्धवृद्धालाई संरक्षक बसेका व्यक्ति आएमा रकम दिनु भनेर बैंकलाई ताकेता गरेको वडाध्यक्ष थापाले बताए । तर, बैंकले भत्ता पाउनेको औँठाछापविना रकम दिन अस्वीकार गरेको छ । कतिपय वृद्धभत्ताको भरमा बाँचिरहेकाले ठूलो समस्या भएकाे थापाले बताए ।