१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यम बम काठमाडाैं
२०७८ जेठ २६ बुधबार ११:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीति गर्न चुरेको सहारा लिनु पर्दैन, अरू पनि मुद्दा छन् ः  उपप्रधानमन्त्री पौडेल 

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
२०७८ जेठ २६ बुधबार ११:३४:००

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौैडेलले राजनीति गर्न चुरेको सहारा नलिन चेतावनी दिएका छन् । चुरेलाई बहाना बनाएर सरकारको आलोचनामा आफ्नो बाैद्धिकता र सामर्थ्य खर्च नगरी राष्ट्रनिर्माणमा खर्चिन पनि उनले आग्रह गरे । नेपाल वातावरण पत्रकार समूहले बुधबार बिहान आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री पौडेलले विपक्षी दललाई इंगित गर्दै भने, ‘चुरेबाट एक डोको माटो, एक डोको ढुंगा पनि निकासी गर्दैनौँ । बजेटको बुँदा नम्बर १९९ मा चुरे लेखिएको पनि छैन । म भन्न चाहन्छु, राजनीति गर्न चुरेको सहारा लिनुपर्दैन, अरू पनि मुद्दा छन् ।’ 

ढुंगा,गिटी निकासीलाई भारतसँग जोडेको भन्दै उनले आपत्ति जनाए । ‘ढुंगा निकासी छिमेकी राष्ट्रसँग जोडिएका अभिव्यक्ति निर्धो छ । म अभिव्यक्तिप्रति दया गर्न चाहन्छु,’ उनले भने । राष्ट्रिय हितका लागि पैरवी गर्ने सरकार रहेको जिकिर गर्दै  पौडेलले ‘यो अभिव्यक्तिले नेपालीको स्वाभिमानमा असर पर्ने र राष्ट्रियतामाथि प्रहार भएको छ। 

‘प्रधानमन्त्री, अर्थमन्त्रीको आलोचना गर्नुस् खुलेर सुन्न चाहन्छौँ, कमजोरी छन् भने सच्याउने चाहन्छु । तर, राष्ट्रको सम्मानमा आँच पुर्‍याउने गरी टिप्पणी नगरिदिनुस्,’ उनले भने । १५ जेठमा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा ‘खानीजन्य ढुंगा, गिटी, बालुवाको निकासी गरी व्यापार  घाटा कम गर्ने’ उल्लेख छ । सरकारको यो नीतिको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा मात्र होइन सत्तासिन एमालेको माधव नेपाल पक्षले पनि औपचारिक विज्ञप्ति जारी गरेर विज्ञप्ति जारी गरिसकेको छ ।

वातावरणीय प्रभाव र भौगर्भिक दृष्टिले उपयुक्त ठानिएका क्षेत्रबाट पनि खानी उत्खनन हुने भन्दै उनले भने, ‘चुरेसँगै कुनै पनि किसिमको सम्झौता हुँदैन । खनिँदैन ।’ ‘यही विष्णु पौडेल हो, जो तराई क्षेत्रबाट जनप्रतिनिधिका रूपमा निर्वाचित छ, चुरेको काखमा रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित भएको छु,’ उनले भने, ‘म पनि  चुरेको महत्त्वलाई केही न केही बुझ्दछु ।’

लुम्बिनी प्रदेशमा रहेको सिद्धबाबा पहाड काट्ने प्रदेश सरकारको योजनामा पौडेलले असहमति जनाएका छन् ।‘सिद्धबाबामा पहिरोबाट बर्सेनि दर्जनौँ मानिसले ज्यान गुमाउने गरेका छन् । स्वाभाविक रूपमा कतिपय व्यिक्तिले डाँडा सम्याउनुपर्छ भनेर सुझाब दिएका छन्। तर, म स्वयंले यो विषयमा विरोध गरेको छु । डाँडो खनेर यात्रा सुरक्षित गर्ने होइन । सुरुङमार्ग बनाएर डाँडो खन्ने, सम्याउने  होइन । खानी उत्खनन होइन । सुरुङ बनाएर यात्रा सुरक्षित गर्नुपर्छ  ।