Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ जेठ २६ बुधबार ०७:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कसरी बने मेक्सिकोका सहर सबैभन्दा हिंस्रक ?

Read Time : > 2 मिनेट
२०७८ जेठ २६ बुधबार ०७:१२:००

मुनाफामूलक ड्रग्स व्यवसायलाई एकलौटी बनाउन कार्टेल समूहबीचको हिंसात्मक प्रतिस्पर्धामा निर्दोष मेक्सिकन जनता घानमा पर्ने गरेका छन्

सन् २०२० को एक रिपोर्टअनुसार विश्वका दश ‘सबैभन्दा हिंस्रक’ सहरमध्ये सातवटा मेक्सिकोमा रहेका छन् । रिपोर्ट मेक्सिको सिटीमा मुख्यालय रहेको ‘सिटिजन काउन्सिल फर पब्लिक सेफ्टी एन्ड क्रिमिनल जस्टिस’ले तयार पारेको हो । रिपोर्टका लागि भएको अध्ययनमा तीन लाख वा त्योभन्दा बढी जनसंख्या भएका सहरलाई गणना गरिएको थियो । युद्धग्रस्त देशका सहरलाई गणना नगरिएको रिपोर्टमा मेक्सिकोस्थित गुएनाजुयतो राज्यमा रहेको सेलाया सहर पहिलो स्थानमा छ । अघिल्लो वर्ष सेलायामा प्रतिएक लाखमा १०९.३८ को हत्या भयो । पहिलोपछिका छैटौँ हिंसात्मक सहरको सूचीमा पनि मेक्सिकोका सहर नै छन् । रिपोर्टअनुसार दोस्रोदेखि चौथो हिंसात्मक सहरमा क्रमशः तिजुयाना, सिउडाड जुआरेज र सिउडाड ओरेगोन छन् । गुएनाजुयतोको इरापुआतो पाँचाैँ स्थानमा छ भने बाजा क्यालिफोर्नियाको एन्सेनाडा छैटौँ हिंसात्मक सहर मानिएको छ । तीबाहेक मिचोआकन राज्यको उरुआपन सहर विश्वको आठौँ हिंसात्मक सहर हो । 

सम्पूर्ण मेक्सिकोलाई हेर्दा सन् २०१९ र २०२० मा भएका कुल हत्याको संख्याले रेकर्ड कायम गर्‍यो । यी वर्ष नियतवश गरिएका हत्याको संख्या ३४ हजारभन्दा माथि थियो । आलोचकहरूले मेक्सिकोमा बढेको हिंसालाई राष्ट्रपति आन्द्रे म्यानुयल लोपेज ओब्रोडोर (अम्लो)लाई दोषी मानेका छन् । उनले अत्यन्त हिंसात्मक ड्रग्स कार्टेलविरुद्ध अपनाएको ‘गोली होइन, अँगालो’ नीतिले स्थिति थप हिंसात्मक बनाएको आरोप लगाउने गरिएको छ । मेक्सिकोमा बढिरहेको महिला हत्यालाई अस्वीकार गर्ने ओब्रोडोर आलोचनायोग्य भए पनि अहिलेको समस्या उनले शून्यबाट सिर्जना गरेका होइनन् । 

ड्रग्स कार्टेलविरुद्ध अपनाइएको ‘गोली होइन, अँगालो’ नीतिले स्थिति थप हिंसात्मक बनाएको आरोप लागे पनि मेक्सिकोमा बढिरहेको हत्याहिंसाको अहिलेको समस्या राष्ट्रपति अम्लोले शून्यबाट सिर्जना गरेका होइनन्

सन् २००६ देखि अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोगमा मेक्सिकोमा ‘ड्रग्सविरुद्ध युद्ध’ छेडियो । ओब्रोडोर सत्तामा आउनुभन्दा १२ वर्षअघि सुरु भएको यस सैन्य अभियानमा हालसम्म झन्डै तीन लाखभन्दा बढीको हत्या भइसकेको छ । ७७ हजार बेपत्ता छन् । मेक्सिकोले भोगिरहेको ड्रग्स कार्टेलको समस्याको जड फेरि अमेरिका आफैँ हो । अमेरिकामा ड्रग्सको ठूलो माग छ । यो मागलाई पूरा गर्न अपराधीहरू ल्याटिन अमेरिकामा उत्पादन भएका ड्रग्स मेक्सिकोको बाटो हुँदै अमेरिका पुर्‍याउँछन् । अमेरिकाले यस कार्यलाई गम्भीर अपराध घोषित गरेपछि ड्रग्सको मूल्य अकासियो । यो अत्यन्त मुनाफामूलक व्यवसायलाई एकलौटी बनाउन कार्टेल समूहबीच हिंसात्मक प्रतिस्पर्धा हुने गरेको छ । बीचमा भने निर्दोष जनता घानमा पर्ने गरेका छन् । अमेरिकाले यो समस्या समाधानका लागि भ्रष्ट मेक्सिकन सुरक्षाफौजमाथि पैसा खन्याउने नीतिमा जोड दिने गरेको छ । तर, कार्टेलहरूसँगै साँठगाँठ हुने सुरक्षाकर्मी यो समस्या समाधान गर्नेभन्दा मृतकको संख्या बढाएर सफलता देखाउने प्रयास गर्छन् । अमेरिकाले कार्टेलका प्रमुखहरूलाई मारेर वा पक्राउ गरेर कार्टेलको अस्तित्व नामेट हुने सोच राख्ने गरेको छ । तर, वासिङ्टन पोस्टले सन् २०२० मा प्रकाशित गरेको एक लेखअनुसार यथार्थमा भने कार्टेल प्रमुखको हत्या र पक्राउपछि समूहमा थप विभाजन हुने र नयाँ समूहबीच थप हिंसात्मक प्रतिस्पर्धा हुने गरेको छ । 

‘ड्रग्स युद्ध’ सुरुमा मेक्सिकोका ठूला सहरमा केन्द्रित थिए । यसैले सुरक्षित स्थानको खोजीमा ड्रग्स कार्टेलहरू देशका स–साना सहरतर्फ केन्द्रित हुन थाले । यसैले गर्दा सेलाया, गुएनाजुयतोजस्ता कमै नाम सुनिएका सहर विश्वका सबैभन्दा हिंसात्मक सहरमा रूपान्तरण भएका छन् । यसक्रममा उनीहरूले अन्य गैरकानुनी काममा पनि हात हाल्न थाले । आज तिनको संलग्नता इन्धन चोर्नेदेखि मानव तस्करीसम्म रहेको छ । मेक्सिकोको हिंसामा अर्को पनि अमेरिकी सम्बन्ध छ । त्यहाँको हिंसामा प्रयोग हुने अधिकांश बन्दुक अमेरिकामा खरिद हुने गरेको अध्ययनले देखाएको छ । अमेरिकामा सजिलै र वैधानिक रूपमा शक्तिशाली अटोमेटिक बन्दुकसमेत किन्न पाइन्छ । सन् १९९४ को नर्थ अमेरिकन फ्री ट्रेड एग्रिमेन्ट (नाफ्टा) पनि मेक्सिकोको दयनीय स्थितिका लागि जिम्मेवार छ । यस सम्झौतामा मेक्सिकोले हस्ताक्षर गरेपछि अमेरिकी कृषि सामग्रीले विनाभन्सार सस्तोमा मेक्सिकोको बजारमा प्रवेश पायो । अमेरिकी कृषि व्यवसायसामु घरेलु कृषि क्षेत्रले घुँडा टेक्यो । त्यसपछि आम्दानी गुमाएका धेरै मेक्सिकनले कार्टेलमा आबद्ध भएर आयआर्जनको बाटो रोजे । १५ वर्ष लामो ड्रग्सविरुद्धको युद्धबारे ‘ड्रग्स वार क्यापिटालिजम’ पुस्तक लेखेकी डन म्यारी प्यालेले यो स्तरको हिंसालाई आपराधिक गतिविधि र त्यसविरुद्ध राज्यको दमनको परिणामका रूपमा मात्र बुझ्न नसकिने बताइन् । ‘यसलाई गरिब र श्रमिक वर्गविरुद्ध छेडिएको नवउदारवादी युद्धका रूपमा हेरियो भने बल्ल पूरा चित्र बुझिन्छ । यसका पछाडि असमान सामाजिक व्यवस्था कामय राख्ने उद्देश्यले काम गरेको छ,’ म्यारीले बताइन् । असमान सामाजिक अवस्थाले निम्त्याउने दिगो कलहमा पुँजीवादले मुनाफा कमाउन सक्छ । यसविरुद्ध आवाज नउठाएसम्म मेक्सिकोको समस्या समाधान हुँदैन । 

(कैयौँ पुस्तककी लेखिका फर्नान्डेज ज्याकोबिन म्यागेजिनकी सम्पादक हुन्) 
अलजजिराबाट