मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडाैं
२०७८ जेठ २६ बुधबार ०९:००:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१ असारदेखि आन्तरिक उडान  खुलाउन एयरलाइन्सहरूको प्रस्ताव, प्राधिकरण भन्छ– सम्भावना न्यून 

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७८ जेठ २६ बुधबार ०९:००:००

निजी वायुसेवा कम्पनीहरूले १ असारदेखि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेर आन्तरिक उडान खुलाउन प्रस्ताव गरेका छन् । वायुसेवा सञ्चालक संघले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई आन्तरिक उडान खोल्ने प्रस्ताव अघि सारेका हुन् । 

मंगलबार संघले पत्रमार्फत ४० दिनभन्दा बढीदेखि हवाई उडान ठप्प हुँदा लाखाैँ बेरोजगार भएको र उनीहरूमा आश्रित परिवारसमेत समस्यामा परेको भन्दै १ गतेबाट उडान सुचारु गर्न माग गरेका हुन् । यता नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने आन्तरिक उडान खुल्ने–नखुल्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताए । ‘स्वास्थ्य मन्त्रालयले गर्ने निर्णयका आधारमा खुल्ने भएकाले सोहीअनुसार हुन्छ,’ पोखरेलले भने । 

हवाई उडानका यात्रुहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिएको दाबी गर्दै सरकारले बनाएको प्रोटोकलअनुसार सेवा सञ्चालनको अनुमति दिन वायुसेवा कम्पनीहरूले अनुरोध गरेका छन् । कोभिडविरुद्ध तालिमप्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेससिल्डको अनिवार्य प्रयोगले पहिलो र दोस्रो चरणको कोभिडको संक्रमणमा हवाई यात्रुहरूलाई सुरक्षित राखेको संघको दाबी छ ।

अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा सबैभन्दा सुरक्षित तथा संक्रमणरहित देखाएको र लकडाउनको समयमा संसारका कुनै पनि देशमा आन्तरिक उडान नरोकिएको उनीहरूले मन्त्री अरगरियालाई अवगत गराएका छन् ।

योसँगै पहिलो निषेधाज्ञा अवधिभरका लागि सरकारबाट प्राप्त सुविधाअनुसार यस दोस्रो लहरको निषेधाज्ञा अवधिभर ल्यान्डिङ, पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छुट मिनाहाका लागिसमेत पर्यटनमन्त्रीलाई अनुरोध गरेका छन् ।

यस्तै, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा २० प्रतिशत छुट दिएकोप्रति धन्यवाद दिँदै आन्तरिकतर्फ पनि न्यूनतम नाफा राखेर मूल्य घटाउन अनुरोध गरेका छन् । यसले सञ्चालन खर्च घट्ने र सर्वसाधारणले सुलभ दरमा हवाई यात्रा गर्न पाउनेसमेत जनाएका छन् । 

दुई देशमा नियमित उडान सुरु 
टर्की, चीन र कतारका लागि सीमित नियमित उडान खुला गर्ने सरकारी निर्णयअनुसार सोमबारबाट कतारको दोहामा उडान सुरु भएको छ । २० वैशाखबाट टर्कीको इस्तानबुलमा सातामा एक उडान सुरु भइसकेको छ । टर्कीमा टर्किस एयरलाइन्सले उडान गर्नेछ । दोहामा कतार र नेपाल वायुसेवा निगमले उडान गर्नेछन् । अहिले अन्य गन्तव्यमा उडानका विषयमा निर्णय नभएको महानिर्देशक पोखरेल बताउँछन् । 

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारतबाहेकका गन्तव्यमा २३ वैशाखदेखि नियमित उडान बन्द गरिएको थियो । भारतको नयाँदिल्लीमा भने साताको दुई उडान जारी छ ।नेपालीहरू वैदेशिक रोजगारीमा जाने गन्तव्यहरूमा नियमित उडान खोल्न माग भए पनि सरकारले अहिले कतारका लागि मात्र खुला गरेको हो । साउदी अरबमा उडान प्रतिबन्ध रहेको र अरू गन्तव्यमा पनि सहज नभएकाले तत्काल कतारका लागि मात्र खोलिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार कतार हुँदै अरू देशमा रहेका नेपाली पनि आउन पाउनेछन् । साउदी अरब, युएईलगायत देशबाट कतार हुँदै नेपाल आउन रोक नभएको उनले जानकारी दिए । विदेशबाट नेपाल आउनेका लागि न्यूनतम नियमहरूमध्ये कोरोना परीक्षण नेगेटिभ भएको पिसिआर रिपोर्ट (फोटो र बारकोडसहित), नेपाल आएपछि आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेलगायतका छन् । 

मेमा १० हजार विदेशी र १३ हजार नेपालीले नेपाल छाडे 
सन् २०२१ को मेमा हवाईमार्गबाट ९ हजार ९ सय ७७ जना विदेशी नागरिकले नेपाल छाडेका छन् । हिमाल आरोहणमा नेपाल आएका विदेशीहरू अधिकांश फर्कन थालेका छन् । त्यस्तै, सोही महिनामा १३ हजार १ सय ५८ जना नेपालीले नेपाल छाडेका छन् । सोही महिनामै १२ हजार ४ जना नेपाली तथा विदेशी नागरिक नेपाल प्रवेश गरेका छन् । जसमा १० हजार ९ सय ३२ जना नेपाली र १ हजार ४ सय ६८ विदेशी रहेका छन् । 

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरे पनि अन्तर्राष्ट्रिय उडान भने वैशाख २३ गतेबाट मात्रै बन्द गरिएको थियो । तर, २३ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उद्धार उडानबाट विदेशी नागरिकले नेपाल छाडेका थिए । मे महिनामा सबैभन्दा बढी ४ हजार ७ सय ७७ जना भारतीय नागरिकले नेपाल छाडेका छन् । यसैगरी, १ हजार ७ सय १७ अमेरिकन नागरिकले नेपाल छाडेका छन् । ३ सय ९२ जना बेलायती नागरिक, ५ सय ३० जना रसियन र २ सय १ जना युक्रेनका नागरिकले पनि नेपाल छाडेका छन् ।