मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ललितपुरको पाटनढोकास्थित पाटन माध्यमिक विद्यालय । तस्बिर : नयाँ पत्रिका
२०७८ जेठ २६ बुधबार ०६:४३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

सामुदायिक विद्यालयमा विद्यार्थी : कोरोनाअघि तीन लाख विद्यार्थी घटे, महामारीबीचमा साढे दुई लाख बढे

Read Time : > 3 मिनेट
२०७८ जेठ २६ बुधबार ०६:४३:००

शिक्षाविद् भन्छन्– कोरोनाकालमा अभिभावकको आर्थिक अवस्था कमजोर हुनु, भिडभाड कम हुने ठाउँमा सुरक्षित महसुस गर्नु र स्थानीय तहहरूको मिहिनेतले पनि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्न थाल्यो

कोभिड महामारी सुरु भएको एक वर्षमा सामुदायिक विद्यालयमा साढे दुई लाख विद्यार्थी बढेका छन् । कोभिड संक्रमण फैलिएपछि थोरै समय मात्र भौतिक उपस्थितिमा र लामो समय वैकल्पिक विधिबाट पठनपाठन भएको शैक्षिक सत्र २०७७ मा दुई लाख ५४ हजार चार सय ९७ विद्यार्थी सामुदायिक विद्यालयमा बढेका हुन् । 

शैक्षिक सत्र ०७५ मा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ५७ लाख ७६ हजार रहेकोमा ०७६ मा झन्डै तीन लाख घटेका थिए । तर, शैक्षिक सत्र ०७७ मा सामुदायिक विद्यालयमा साढे दुई लाख विद्यार्थी बढेका छन् । अघिल्लो शैक्षिक सत्रभन्दा चालू शैक्षिक सत्रमा विद्यार्थीको संख्या साढे ४ प्रतिशतले बढेको हो ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका अनुसार सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ११, १२ सम्म विद्यार्थी संख्या बढेको छ । सबैभन्दा बढी कक्षा १ देखि ५ सम्म एक लाख २८ हजार चार सय ७५ विद्यार्थी बढेका छन् । सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नुमा कोभिडका कारण अभिभावकको आर्थिक अवस्था कमजोर भएर निजीबाट सामुदायिकमा भर्ना गर्नु, सहरमा भन्दा भिड कम हुने ठाउँमा सुरक्षित महसुस गर्नु र स्थानीय तहको प्रयास पनि प्रमुख कारण हुन सक्ने विश्लेषकले औँल्याएका छन् । 

चालू शैक्षिक सत्र २०७७ मा आधारभूत तह कक्षा (१—८) मा विद्यार्थी संख्या बढेको छ । यो तहमा मात्र झन्डै दुई लाख विद्यार्थी बढेका छन् । केन्द्रका अनुसार आधारभूत तहमा एक लाख ९२ हजार तीन सय दुई विद्यार्थी बढेका छन् । प्रारम्भिक बालविकासमा यस वर्ष पाँच हजार नौ सय ७२ विद्यार्थी बढेका छन् । कक्षा ९ र १० मा ४० हजार ३९ र कक्षा ११–१२ मा ५६ हजार दुई सय २३ विद्यार्थी बढेको सरकारी तथ्यांक छ । 

सहरका राम्रा सामुदायिक विद्यालयमा स्थिर, बाहिर बढे विद्यार्थी 

काठमाडौंलगायतका भिडभाड हुने सहरी क्षेत्रका राम्रा सामुदायिक विद्यालयमा कतै थोरै संख्यामा कम भएको छ भने बाहिरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा विद्यार्थीको संख्या लगभग स्थिर छ । प्रधानाध्यापक रीता तिवारीका अनुसार अघिल्लो वर्ष कक्षा १२ सम्ममा आठ सय ५० को हाराहारीमा रहेका विद्यार्थी यस वर्ष पनि आठ सयभन्दा बढी छन् । तिवारीले भनिन्, ‘तल्लो कक्षामा केही विद्यार्थी घटेका छन्, माथिल्लो कक्षामा बढेका छन्, औसतमा थोरै घटे पनि उल्लेखनीय कम भएका छैनन् ।’ 

पुतलीसडकस्थित पद्मोदय माविमा पनि यो वर्ष विद्यार्थी संख्या स्थिर रह्यो । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमका अनुसार लकडाउन भएपछि तल्लो तहका विद्यार्थी गाउँ गएर नफर्केको र काठमाडौंमा निजीमा पढिरहेका नयाँ विद्यार्थी भर्ना भएका छन् । जिल्ला गएका विद्यार्थी नफर्किए पनि नयाँ विद्यार्थी आएकाले अघिल्लो वर्षभन्दा ३० जनाको हाराहारीमा नयाँ विद्यार्थी थपिएको उनले बताए । 

अघिल्लो वर्ष लकडाउन भएकाले तनहुँको खैरेनी माविमा विद्यार्थीको संख्या धेरै बढेको छ । विद्यालयका प्रधानाध्यापक केशव घिमिरेले चालू शैक्षिक सत्रमा चार सयभन्दा बढी विद्यार्थी बढेको बताए । घिमिरेले भने, ‘नजिकैका निजी विद्यालय र पोखरामा पढिरहेका विद्यार्थीसमेत भर्ना भएका छन् ।’ लकडाउनको समयमा निजी विद्यालयले गर्न नसकेको काम सामुदायिक विद्यालयले गरेका कारण पनि विद्यार्थी धेरै बढेको उनले बताए । अघिल्लो वर्ष नौ सय ५७ विद्यार्थी रहेको सो विद्यालयमा अहिले एक हजार एक सय ८७ विद्यार्थीले अहिले परीक्षाको तयारी गरेका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले सामुदायिक विद्यालयमा विद्यार्थी बढेको जानकारी दिए । अनुगमनका क्रममा विद्यालयमा पुग्दा हरेक कक्षामा ६/७ जना विद्यार्थी बढेको पाइएको उनले बताए । शर्माले भने, ‘मैले कक्षामै पुगेर विद्यार्थीलाई सोध्दा कोही नजिकैको निजी विद्यालय र कोही लकडाउनपछि सहरबाट फर्केका पाइए ।’

निजी विद्यालयमा २० प्रतिशत घटे विद्यार्थी
कोभिडका कारण उत्पन्न परिस्थितिपछि निजी विद्यालयमा अध्ययन गर्ने करिब २० प्रतिशत विद्यार्थी घटेका छन् । निजी विद्यालयका छाता संगठनका अनुसार काठमाडौं उपत्यका र ठूला सहरमा विद्यार्थी संख्या घटेको हो ।

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले काठमाडौंसहितका ठूला सहरमा १० देखि १५ प्रतिशत विद्यार्थी घटेको र मोफसलका निजी विद्यालयमा विद्यार्थी संख्या उस्तै रहेको बताए । कतिपय निजी विद्यालय पढ्ने विद्यार्थी सामुदायिकमा गए पनि सहरबाट मोफसल गएका विद्यार्थी त्यहीँकै निजीमा भर्ना भएकाले मोफसलमा विद्यार्थी संख्या नघटेको उनको भनाइ छ । काठमाडौं, विराटनगर, बुटवल, नेपालगञ्ज, धरानजस्ता सहरमा विद्यार्थी घटेको अध्यक्ष सापकोटाले बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नुमा धेरै पक्षले काम गरेको छ : दीपक शर्मा प्रवक्ता, शिक्षा मन्त्रालय

सामुदायिक विद्यालयमा विद्यार्थी बढ्नु धेरै सकारात्मक पक्ष हो । यसमा धेरै पक्षले काम गरेको छ । कोरोनाको जोखिम बढेपछि धेरै विद्यार्थी सहरबाट गाउँ फर्केका छन् । कोभिड संक्रमणको समयमा अनलाइनलगायत वैकल्पिक विधिबाट पढाइ भइरहेको छ । अनलाइनबाट पढ्न र विद्यार्थीले घरबाटै पढ्ने सामग्री पाए । पढ्ने सामग्री भएपछि शुल्क तिरेर निजीमा पढ्नुपर्ने अवस्था रहेन । कोभिडको समयमा कतिपय बालबालिकाका अभिभावकको रोजगारी गुमेको छ । उनीहरूलाई शुल्क तिर्न गाह्रो पनि भएको छ । विद्यार्थी बढ्नुमा विद्यालय र स्थानीय तहको मिहिनेत पनि छ । यसरी धेरै कारणले सामुदायिक विद्यालयमा विद्यार्थी बढेका हुन् । 

निजी विद्यालयले मूलधारको काम गर्दैनन्, सप्लिमेन्ट्री मात्र हो : प्रा.डा. बालचन्द्र लुइँटेल शिक्षाविद्

कोभिडका कारण सामुदायिक विद्यालयमा विद्यार्थी बढेका छन् । व्यक्तिगत लाभका लागि खोलिएका कतिपय निजी विद्यालय यो समयमा सेवा दिन नसकेको स्पष्ट भएको छ । केही निजी विद्यालयले राम्रो गरेका छन्, तर तत्काल लाभ खोज्ने प्रवृत्ति धेरै देखिन्छ । निजी विद्यालयले मूलधारको काम गर्दैनन्, सप्लिमेन्ट्री मात्र हो भन्ने हालै बन्द भएको शुभतारा स्कुलको घटनाबाट पनि बुझ्न सकिन्छ । नाफा नहुँदा तत्काल बन्द गर्नेले राम्रो सेवा दिन पनि सक्दैनन् । निजी विद्यालय बन्द हुनुपर्छ भन्ने होइन, अभिभावकलाई रोज्न दिनुपर्छ । नाफा नहुँदा बन्द गरिहाल्ने निजी विद्यालयलाई पूर्ण रूपमा विकास गर्न सकिँदैन । त्यसैले निजी विद्यालय सप्लिमेन्ट मात्र हो ।