मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडाैं
२०७८ जेठ २६ बुधबार ०५:०४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निषेधाज्ञामा काठमाडौंमा  ७७ जुवाडे पक्राउ, अधिकांश व्यापारी

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ जेठ २६ बुधबार ०५:०४:००

- प्रहरीले मंगलबार बुढानीलकण्ठ–१० ज्योतिनगरस्थित दीपा कार्कीको घरमा छापा हान्दा पाँच जना जुवा खेलिरहेका थिए । धादिङ धुनीबेँसी–२ का ३३ वर्षीय सुरेन्द्र खकुरेलको नेतृत्वमा जुवा चलिरहेको थियो । खालबाट प्रहरीले ७६ हजार एक सय २० रुपैयाँ र तास बरामद गरेको छ । पाँचै जनालाई पक्राउ गरेको छ ।

- जुवा भइरहेको सूचना पाएपछि प्रहरीले २४ जेठमा गोंगबुचोकस्थित फ्रिदा जोशीको कोठा छापा हान्यो । त्यहाँ कलंकीकी ४५ वर्षीया रसिता जोशीले १० जनालाई जम्मा पारेर जुवा खेलाउँदै थिइन् । मदिरा र मासुका परिकारसहित कौडामा नारिएका १० जुवाडेबाट प्रहरीले दुई लाख १५ हजार पाँच सय बरामद गर्‍यो । खालबाट प्रहरीले तासका बण्डल र कौडाका दाना पनि बरामद गरेको थियो । जुवाखालका लागि डेरा उपलब्ध गराउने फिद्रा भने भाग्न सफल भइन् । 

- पाको न्युरोडस्थित अजय श्रेष्ठको कोठामा गत २२ जेठमा प्रहरीले छापा मार्दा मिनी क्यासिनोको झल्को आउँथ्यो । कोठामा रहेका १५ जनाको हातमा तासका पत्ती थिए । खालमा कौडाका दाना र क्यासिनोका गोटी पनि थिए । जुवाखालबाट प्रहरीले १३ लाख ४३ हजार रुपैयाँ बरामद गर्‍यो । खालका नाइके कागेश्वरी मनोहरा–८ का ४९ वर्षीय विनोद कार्की थिए । प्रहरीले उनीसहित सबैलाई पक्राउ गरेर जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ । 

- गत २८ बैसाखमा काठमाडौंको बत्तीपोखरीस्थित फेवा दर्शन होटेलमा पनि प्रहरीले  मिनी क्यासिनो नै चलाएको भेट्यो । प्रहरीले घटनास्थलबाट १० लाख ९७ हजार रुपैयाँ मात्रै बरामद गरेन, जुवा खेल्न प्रयोग हुने क्वाइन र तीसवटा तासका बण्डल पनि फेला पार्‍यो । खालमा २५ जना सहभागी थिए, प्रहरीले सबैलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।                      

कोभिड महामारीका कारण देशका अधिकांश भागमा निषेधाज्ञा जारी छ । तर, जुवाडेका जुवाखाल चौबीसै घन्टा खुला छ । जहाँ प्रत्येक दिन करोडको दाउ लाग्ने गर्छ । हार र जितको चक्र पनि सोही रफ्तारमा अघि बढ्ने गरेको प्रहरीले जनाएको छ । केही साताको अन्तरमा काठमाडौंका केही जुवाखालमा गरेको प्रहरीको छापाले त्यसलाई पुष्टि गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले निषेधाज्ञाको अवधिमा काठमाडौंभित्र जुवा मौलाएको बताए । ‘प्रहरीले प्रत्येक दिनजसो कहीँ न कहीँ छापा मार्दै आएको छ । घटनास्थलबाट पाँचदेखि २५ जनासम्म पक्राउ परेका छन् । नगद पनि उत्तिकै बरामद भएका छन् । यी तथ्यबाट के देखिन्छ भने काठमाडौंभित्र निषेधाज्ञाको अवधिमा जुवा मौलाएको छ ।’

प्रहरीका अनुसार निषेधाज्ञाको करिब ४० दिनमा काठमाडौंबाट मात्रै ७७ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश व्यापारी छन् । उनीहरूविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ । यस अवधिमा जुवासँग सम्बन्धित आठवटा मुद्दा प्रहरीले दर्ता गरेको छ । ‘पक्राउ परेका अधिकांश व्यापारी छन् । बरामद परिचयपत्रका आधारमा उनीहरूमध्ये अधिकांश मेडिकल सामग्रीका व्यापारमा संलग्न रहेको देखिन्छ । सबैलाई जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ,’ एसपी बस्नेतले भने ।

अस्पतालको कार्ड प्रयोग गरी जुवा 

जुवाडेले अस्पताल र हेल्थ क्लबको परिचयपत्र प्रयोग गरेको घटनाबाट पुष्टि भएको छ । खालमा पक्राउ परेकाबाट बरामद परिचयपत्रका आधारमा यस्तो तथ्य खुलेको हो । प्रहरीका अनुसार जुवा खालमा पक्राउ परेकाबाट अस्पताल, हेल्थ क्लब, हेल्थ पोस्ट, हेल्थ क्लिनिक मात्र नभई सहकारीको समेत कार्ड बरामद भएका छन् । त्यसबाहेक मेडिकल सामग्री सप्लायर्सको कार्ड पनि बरामद भएका छन् । पक्राउ परेकामध्ये जग्गा कारोबारी र व्यापारी नै धेरै भएको एसपी बस्नेतले बताए । ‘पक्राउ परेकामध्ये केही जग्गाका कारोबारी र केही व्यापारी छन् । तर, उनीहरूबाट अस्पताल, हेल्थ क्लब, हेल्थ पोस्ट, हेल्थ क्लिनिक तथा सहकारीको समेत कार्ड बरामद भएका छन्,’ उनले भने ।