मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
भूपेन्द्र वली
२०७५ फाल्गुण ७ मंगलबार ११:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

पानीका बोतलबाट विद्यालय भवन

Read Time : < 1 मिनेट
भूपेन्द्र वली
२०७५ फाल्गुण ७ मंगलबार ११:२०:००

खेर गइरहेको पानीको बोटल प्रयोग गरी तुलसीपुर उपमहानगरपालिका–७ स्थित मावि कालोखोलाको अलपत्र भवनको पर्खाल निर्माण सुरु भएको छ । पिलर ठड्याइए पनि विगत आठ वर्षदेखि अलपत्र विद्यालय भवनको पर्खाल निर्माण गर्न ‘मिनरल वाटर’को बोतल प्रयोगमा ल्याइएको हो । 

विद्यालय सञ्चालन हुनेबाहेकका समयमा सिर्जनात्मक क्रियाकलाप गराउने उद्देश्यले ‘लर्निङ सेन्टर’ सञ्चालन हुँदै छ । बोटलको पर्खाल बनाएर लर्निङ सेन्टर सञ्चालन गर्न लागिएको हो । दाङमा पहिलोपटक यस्तो प्रविधिबाट भवन निर्माण हुन थालेको हो ।

 ०६७ देखि विद्यालय भवन अलपत्र
विद्यालयको भवन ०६७ देखि अलपत्र छ । टिच फर नेपालका स्वयंसेवक, विद्यालयका विद्यार्थी र शिक्षकले खेर गइरहेका प्लास्टिकका बोतलबाट भवनका दुई कोठा निर्माण गर्न सुरु गरेका हुन् । अहिले सात सयभन्दा बढी विद्यार्थी रहेको सो विद्यालयमा कक्षाकोठा अभाव रहेकाले लर्निङ सेन्टरका लागि स्वयम् आफूहरूले नै भवन निर्माण कार्यलाई अगाडि बढाएको टिच फर नेपालका कार्यकारी प्रमुख शिशिर खनालले बताए । 

 यसरी बनाइँदै छ भवन
मिनरलको बोतलमा बालुवा, सिमेन्ट, माटो मिसाएर भर्ने अनि सुकाएर इँटाको रूपमा प्रयोग गरेर भवन निर्माण भइरहेको छ । इँटा प्रयोग गरी बनाइने घरभन्दा पनि प्लास्टिकको बोतलबाट बनाइने सो भवन बलियो हुने दाबी छ । भवन निर्माणका लागि तुल्सीपुर उपमहानगरपालिकाले दुई लाख, टिच फर नेपालले एक लाख र सोना सिमेन्टले ३० बोरा सिमेन्ट उपलब्ध गराउने आश्वासन दिएको छ । 

विद्यालयका प्रधानाध्यापक राजीव ओझाले तत्कालीन जिल्ला विकास समितिको बजेटबाट सो स्थानमा भवन निर्माणका लागि पिलर र बिम ठड्याएर अधुरै छाडेको र त्यसपछि बजेट नआएकाले भवन निर्माण अधुरो रहेको बताए ।