मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७८ जेठ २५ मंगलबार ०७:३८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साउनबाट राफसाफ कोष कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्डको निर्देशन

Read Time : > 1 मिनेट
२०७८ जेठ २५ मंगलबार ०७:३८:००

धितोपत्र बोर्डले निर्देशन दिएपछि आउँदो साउनबाट नेप्सेलाई राफसाफ कोष ल्याउनैपर्ने बाध्यता परेको छ । राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाई सञ्चालनमा ल्याउन बोर्डले नेप्सेलाई कडा निर्देशन दिएपछि नयाँ आर्थिक वर्षबाट राफसाफ कोष स्थापना गर्नुुपर्ने बाध्यता आइपरेको हो ।

सेयर खरिदकर्ताले समयमै भुक्तानी गर्न नसकेमा कारोबार राफसाफका लागि ब्रोकरले राफसाफ कोषबाट नगद सापटी लिन पाउँछन् । बजारलाई व्यवस्थित र अनुशासित राख्नका लागि राससाफ कोष नगण्य भएको भन्दै नेप्सेलाई बोर्डले पटक–पटक ध्यानाकर्षण गर्दै आइरहेको थियो । बेवास्ता गरेपछि निर्देशन नै जारी गरेर कार्यान्वयनमा ल्याउन निर्देशन दिन बाध्य भएको बोर्डको भनाइ छ ।

बोर्डले आर्थिक वर्ष ०७७/७८ भित्र ५० करोड, आव ०७८/७९ भित्र थप ३० करोड र आब ०७९/८० भित्र थप २० करोड गरी कुल १ अर्बको कार्यान्वयनयोग्य कोष स्थापना गरी सञ्चालन गर्न भनिएको छ । हाल उक्त कोषमा ३१ लाख मात्र रहेको बोर्डले जनाएको छ । कोषको कार्यान्वयनमा ढिलासुस्ती भएको देखेपछि बाध्य भएर निर्देशन दिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए ।

ऐनमै व्यवस्था भएकाले जसरी पनि साउनबाट कार्यान्वयनमा आउनुपर्ने ढुंगाना बताउँछन् । बोर्डले सही समयमा निर्देशन जारी गरेको ढुंगानाको भनाइ छ । नेप्से बढिरहेको अवस्थामा नाफा भइरहेकाले पैसा हाल्न समस्या नभएको उनले बताए । गत वर्षको तुुलनामा नेप्से, ब्रोकर, सिडिएससीले पनि राम्रो आम्दानी गरेको छ । ‘अहिलेसम्म अव्यवस्थित थियो, बियरिस मार्केट भएको अवस्थामा अहिलेको तौरतरिकाबाटै जानु सबैको हित हुने गरी कार्यान्वयनमा ल्याउन कडाइसाथ निर्देशन लागू हुन्छ,’ ढुंगानाले भने । बोर्डको निर्देशनमाथि छलफल भइरहेको नेपाल ब्रोकर व्यवसायी संघका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । ‘कोषमा जानुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ, तर केही कुरामा भने असहमति छ, त्यसमा पनि हामी अझै छलफलमै छौँ,’ उनले भने ।

दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालू महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानका रूपमा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । यसभन्दा अघिको कोषमा ० दशमलव ५ प्रतिशत बुझाउँदै आएको थियो । सो व्यवस्था खारेज भए वा नभएको सम्बन्धमा पनि स्पष्ट नभएकाले यसबारे छलफल गरेर अघि बढ्ने उनले बताए ।  

बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाउनु सकारात्मक पक्ष भएकाले यसलाई मिलेर गर्दा संस्थागत लगानीकर्ताको आकर्षण अझ बढ्ने लगानीकर्ता भरत रानाभाट बनाउँछन् ।