मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २५ मंगलबार ०६:३८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेको उकालो यात्रामा झिनो अंकको ब्रेक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २५ मंगलबार ०६:३८:००

फाइनान्स, हाइड्रोपावर र विकास बैंकमा हरियाली, वाणिज्य बैंकका लगानीकर्ता भने निराश

उच्च कीर्तिमानी बनाएको सेयर बजारमा झिनो अंकको ब्रेक लागेको छ । आइतबार उच्च रेकर्ड बनाएको नेप्सेले सोमबार भने करेक्सनको बाटो रोजेको हो । उच्च रेकर्ड बनाएपछि बजार करेक्सन हुनुलाई विश्लेषकहरू सकारात्मक मान्छन् । यसभन्दा अघिको उच्च रेकर्डमा पनि करेक्सन हुँदै नेप्से अघि बढेको थियो ।

नेप्से परिसूचक सोमबार शून्य दशमलव २१ अंकले घटेर २ हजार ९ सय ६ दशमलव ७० बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३८ अंकले घटेर ५ सय २० बिन्दुमा पुगेको छ ।

बजार झिनो अंकले घट्दा वाणिज्य बैंक समूहको सूचक भने नकारात्मक बन्न पुगेको छ । १३ समूहका सूचकमध्ये फाइनान्स, विकास बैंक, हाइड्रोपावरमा लगानीकर्ता आकर्षित भएका छन् । फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात् ८ दशमलव २७ प्रतिशतले नाफा आर्जन गरेका छन् भने विकास बैंकका लगानीकर्ताले ६ प्रतिशतले नाफा आर्जन गरेका छन् ।

सबैभन्दा धेरै बढ्ने कम्पनीमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसी एफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, गोर्खा फाइनान्सको सेयर १० प्रतिशतले सर्किट मूल्यमा कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस दिन सबैभन्दा धेरै नाफा आर्जन गर्ने फाइनान्स कम्पनीमा गोर्खा फाइनान्स कम्पनी रहेको छ ।

कम्पनीको सेयर मूल्य १ सय ५ रुपैयाँले बढेर प्रतिसेयर मूल्य १ हजार १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, विकास बैंकतर्फ कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले राम्रो नाफा आर्जन गर्न सफल भएका छन् । 

सोमबार बढी घट्ने कम्पनीहरूमा लक्ष्मी बैंक, नारायणी विकास बैंक, सन्राइज बैंक, कुमारी बैंक रहेका छन् । यी बैंकको सेयर मूल्य ३ प्रतिशतले घटेपछि लगानीकर्ता निराश बनेका छन् । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २१ कम्पनीको ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार नेपाल रि–इस्योरेन्स कम्पनीको भएको छ । कम्पनीको ६२ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ भने नेसनल हाइड्रोपावर कम्पनीको ४३ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।