मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७८ जेठ २४ सोमबार ०८:५८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७८ जेठ २४ सोमबार ०८:५८:००

एकपटक एक जिज्ञासु व्यक्ति एक सन्तको आश्रममा पुगे । केही समयको भलाकुसारीपछि उनले सन्तसित प्रश्न गरे– महाराज ! रंग, रूप, बनोट, स्वभाव, परिस्थिति प्रायः सबै समानजस्तै भए पनि कतिपय मानिसले निकै ठूलो प्रगति गर्छन्, समाजमा मान, सम्मान र इज्जत कमाउँछन् । जब कि तीमध्ये कैयौँ मानिस पतनको गहिरो खाडलमा खसेर डुबिरहेका हुन्छन् । आखिर यस्तो किन हुन्छ ?

सन्तले जवाफ दिए– तिमी भोलि बिहान सबेरै मलाई तलाउको किनारमा भेट । म तिम्रो प्रश्नको जवाफ त्यहीँ दिनेछु । भोलिपल्ट बिहान सबेरै जिज्ञासु तलाउको किनारमा पुगे । सन्त पहिल्यै पुगिसकेका थिए । सन्तका हातमा दुई समान आकार, प्रकार, रूप र रंगका कमन्डलु थिए ।

हेर्दा दुवै कमन्डलु समान देखिए पनि दुईमध्ये एकको पिँधमा एउटा प्वाल परेको देखिन्थ्यो । जिज्ञासु निकट आइसकेपछि सन्तले दुवै कमन्डलुलाई एक–एक गरेर तलाउमा फ्याँके । प्वाल नपरेको कमन्डलु पानीमा तैरिइरह्यो । तर, केही क्षण पानीमा तैरिए पनि प्वाल परेको कमन्डलु चाहिँ एकैछिनमा डुब्यो र बेपत्ता भयो । यो सब हेरिरहेका जिज्ञासुतिर फर्केर सन्तले भने– दुवै कमन्डलु रूप, रंग र आकारमा उस्तै थिए । तर, दुईमध्ये एकको पिँधमा प्वाल थियो । सद्दे कमण्डलु अझै पानीमा तैरिइरहेको छ भने प्वालवाला कमन्डलु उहिल्यै पानीको गहिराइमा डुबेर विलीन भइसक्यो । 

मानिसलाई पनि उसको असल चरित्रले संसार सागरमा तैरिन मद्दत गर्छ । त्यही चरित्रको बलमा उसले संसारमा खुब प्रगति गर्छ, मान, सम्मान र इज्जत कमाउँछ । तर, जसको चरित्रमा दोष (प्वाल) हुन्छ, ऊ यही कमन्डलुजस्तै पतनको गर्तमा फस्छ र कहिल्यै उत्रिन सक्दैन ।