मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७८ जेठ २४ सोमबार ०८:३६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

गाउँघरमा कोरोनाको जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७८ जेठ २४ सोमबार ०८:३६:००

कोरोना महामारीको दोस्रो लहरले विश्वभर चर्चामा रहेको नेपाल यतिवेला संक्रमण दरमा कमी आउन थालेपछि सम्हालिने क्रममा छ । अक्सिजनको अभावमा संक्रमितको मृत्यु भएका घटना सुन्न छाडिएको छ । अस्पतालमा शैया उपलब्ध नहुने समस्या देखिन छाडेको छ ।

दैनिक मृत्युदर पनि कम हुँदै छ । सक्रिय संक्रमितको संख्या घटेसँगै स्वास्थ्य क्षेत्रका अधिकारी र अस्पतालहरूले राहत महसुस गरेको हुनुपर्छ । केही समययता नेपाललाई कोरोनासँग जुध्न आवश्यक पर्ने ओखतीमुलो, अन्य लजिस्टिक सामान, परीक्षण किट, अक्सिजन उत्पादन गर्ने प्लान्ट र ससाना यन्त्रहरू विभिन्न देशले सहयोग गर्दै आएका छन् ।

बाहिर बस्ने नेपाली पनि यसमा सक्रिय देखिए । विभिन्न दाताले आवश्यक स्वास्थ्य सामग्री पठाए । यी सबैले कोरोना परीक्षण, उपचार र कोरोना लाग्नुअघिको रोकथामसमेतलाई सहयोग पुर्‍याएका छन् । यसलाई अत्यासलाग्दो चरणबाट आशालाग्दो चरणतिरको फड्को मान्न सकिन्छ । तर, परीक्षण गरिएका कुल संख्यामा संक्रमित हुनेहरूको संख्याको प्रतिशत अझै पनि सरदर २५ प्रतिशतभन्दा बढी छ । डेढ महिनाजतिको निषेधाज्ञापछि पनि यस्तो अवस्था रहनु जोखिम अझै छ भन्ने संकेत हो । 

यसैबीच स्वास्थ्य मन्त्रालयका अधिकारीले तेस्रो र चौथो लहर आउन सक्ने भन्दै चेतावनी जारी गरेका छन् । उनीहरूका अनुसार अब आउने लहरमा बालबालिका बढी प्रभावित हुनेछन् । जनसंख्याको ठूलो हिस्सालाई खोपबाट सुरक्षित गरेपछि मात्र कोरोना महामारी नियन्त्रणमा आउने निश्चित हुन्छ । धनी र शक्तिशाली देशले आफ्नो देशलाई सुरक्षित पारेपछि मात्र क्रमशः नेपाल जस्ता विपन्न मुलुकमा खोप आइपुग्ने देखिन्छ ।

दान दातव्य र बजारमा उपलब्ध खोपको खरिदबाट नेपालले ‘हर्ड इम्युनिटी’ हुने गरी खोप लगाउने अवस्था कमसेकम यो वर्षभरि आउने सम्भावना छैन । ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले सन् २०२२ को अन्त्यसम्ममा सबैलाई खोप पुर्‍याउन पहल गर्नुपर्ने प्रस्ताव राखेर एउटा अनुमानित समयसीमाको संकेत गरेका छन् । यसैले नेपालजस्तो देशले अहिले गर्न सक्ने सबैभन्दा ठूलो काम नै संक्रमण फैलने दर रोक्नु हो । 

गाउँघरमा कोरोनाको जोखिम बढिरहेको देखिएकाले वर्षाअगावै स्वास्थ्य मन्त्रालयले प्रतिकारात्मक र उपचारात्मक उपायसहित आगामी दुई साता गाउँकेन्द्रित कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ 

संक्रमणको पछिल्लो लहरमा सहरसँगै गाउँहरू पनि निकै प्रभावित भएका छन् । गतवर्ष कमै प्रभाव देखिएका गाउँघरमा यतिवेला ‘क्लस्टर’हरू देखिएका छन् । गाउँभरिका सबैजसो परिवारमा प्रभाव देखिने गरी फैलिइरहेको संक्रमण विभिन्न कारणले थप जोखिमयुक्त हुनेछ ।

पहिलो, अब खेतिपातीको मौसम आएकाले सामान्य अवस्थाका बिरामी पनि उपचार गर्नतिर भन्दा खेतिपातीमा लाग्न बाध्य हुनेछन् । यसरी खेतीमा हिँड्दा आइसोलेसनमा बस्ने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका उपाय अपनाउन सम्भव हुनेछैन । यसबाट संक्रमण फैलिन नै सहयोग पुग्नेछ । दोस्रो, अब छिटै मनसुन सुरु हुँदै छ ।

वर्षासँगै बाढी–पहिरो आउने, कच्ची सडकमा सवारी चलाउन नसकिने र उपचारका लागि गन्तव्यसम्म पुग्न मुस्किल हुने अवस्था आउँछ, जसले परीक्षण र उपचार दुवैलाई प्रभावित गर्नेछ । यस्तो अवस्थामा धेरैजसो रोगले धेरै नच्यापी स्वास्थ्य संस्थामा जाँदैनन् । यसैले, वर्षा सुरु हुनुअघि नै प्रतिकारात्मक र उपचारात्मक उपायसहित आउने दुई साता गाउँकेन्द्रित कार्यक्रम सञ्चालन गर्नेतिर स्वास्थ्य मन्त्रालयले ध्यान दिनु जरुरी छ ।