१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तेजराज भट्ट
२०७५ फाल्गुण ७ मंगलबार १०:५८:००
Read Time : > 2 मिनेट
खेलकुद

प्लेअफमा ४ टोलीको छिनोफानो

काठमाडौं, अत्तरिया, रुपन्देही र महेन्द्रनगर तेस्रो डिपिएलको प्लेअफमा

Read Time : > 2 मिनेट
तेजराज भट्ट
२०७५ फाल्गुण ७ मंगलबार १०:५८:००

काठमाडौं गोल्डेन्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड तेस्रो धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेका छन् । फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलसँगै डिपिएलको प्लेअफमा पुग्ने चारै टोलीको  टुंगो लागेको हो । समूह चरणमा काठमाडौं अपराजित रही ७ अंकका साथ शीर्ष स्थानमा छ । ६ अंक जोडेको सिवाइसी अत्तरिया दोस्रो स्थानमा छ । समान ६ अंक रहे पनि रनरेटमा पछि पर्दा रुपन्देही तेस्रो स्थानमा सीमित भयो ।

महेन्द्रनगर र विराटनगर किंग्सको समान ४ अंक भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको हो । अब काठमाडौं र अत्तरियाबीच पहिलो प्लेअफका लागि प्रतिस्पर्धा हुनेछ, जसको विजेता सीधै फाइनलमा पुग्नेछ । तेस्रो तथा चौथो स्थानबीचको विजेताविरुद्ध पहिलो प्लेअफमा पराजित टोलीले पुनः फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

 धनगढीलाई हराउँदै रुपन्देही प्लेअफमा
वर्षाका कारण सोमबार निर्धारित २० ओभरको खेल हुन सकेन । धनगढी स्टार्स र रुपन्देहीबीचको खेल १५ ओभर मात्र भयो । खराब मौसमका कारण घटाइएको प्रतिस्पर्धामा रुपन्देहीले धनगढीमाथि ३९ रनको जित निकाल्यो । रुपन्देहीले लिगमा  ५ मध्ये ३ खेलमा जित निकालेको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिएको धनगढी आफ्नो अन्तिम खेलमा पनि पराजित भयो ।  घरेलु टोली धनगढीमा राम्रा खेलाडी भए पनि प्रतियोगितामा उनीहरूले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। 

धनगढी ६७ रनमै अलआउट
प्रतियोगिताअन्तर्गत १३औँ खेलमा रुपन्देहीले पहिलो ब्याटिङ गरी १५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । प्रत्युत्तरमा धनगढी १४ ओभरमा सबै विकेट गुमाएर ६७ रनमा समेटिँदा रुपन्देही ३९ रनले विजयी भयो । धनगढीले अन्तिम ६ विकेट २७ रनको अन्तरमा गुमाएको थियो । धनगढी ६.४ ओभरमा ३९÷४ को अवस्थामा थियो । 

ललितसिंहको उत्कृष्ट बलिङ
धनगढी लक्ष्यसम्म पुग्न नसक्नुको कारणका रूपमा रुपन्देहीका बलर ललितसिंह भण्डारीको घातक बलिङ प्रमुख रह्यो । ललितसिंहले ३ ओभर बलिङ गरी सर्वाधिक ३ विकेट हात पारे । ललितसिंहले आफ्नो बलिङ स्पेलमा १३ पटक डटबल फ्याँके । उनको इकोनोमी १.६६ रह्यो । यसैगरी विक्रम सोबले १२ रन खर्चेर २ विकेट हात पारे । भीम सार्कीले १ ओभर बलिङ गरी २ रन खर्चेर १ विकेट लिए । धनगढीको ब्याटिङमा पवन सर्राफले सर्वाधिक १५ रन बनाए । यस्तै, कप्तान सोमपाल कामीले ११ रन र सन्दीप रजालीले १० रन जोडे ।

खेलमा लगातार गल्ती 
धनगढीका कप्तान सोमपाल कामीले आफ्नो टोलीले राम्रो खेल्न नसकेको र भाग्यले पनि साथ नदिएको प्रतिक्रिया दिएका छन् । रुपन्देहीका कप्तान वसन्त रेग्मीले ब्याटिङ र फिल्डिङमा आफूहरूको कमजोरी भइरहेको बताए ।  रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । विनोद भण्डारीले २४, बाबर हयातले १९ र विक्रम सोबले ११ रन जोडे । 

 विराटनगर १० रनले पराजित
प्रतिस्पर्धाअन्तर्गत सोमबार अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित ग¥यो । हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । जारी प्रतियोगितामा यो नै अहिलेसम्मको बढी योगफल हो । प्रत्युत्तरमा विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । 

 दुई अर्धशतकीय इनिङ 
महेन्द्रनगरका दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ खेले । भारतीय खेलाडी सन्नी पटेल र जयकिसन कोल्सावाले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गर्दा महेन्द्रनगरले प्रतियोगिताकै सर्वाधिक योगफल बनाएको हो । पटेलले अविजित ६१ रन बनाए । उनले ३१ बलमा ४ छक्का र ४ चौका हिर्काए । अन्तिम ओभरमा मात्रै उनले २४ रन जोडे । ओपनर जयकिसन कोल्सावालाले ५० बलमा अविजित ५१ रन बनाए । विराटनगरका लागि आसिफ सेखले ३९ र पृथु बास्कोटाले २७ रनको योगदान दिए ।