मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २४ सोमबार ०७:५२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

डेनमार्कबाट एस्ट्राजेनेका खोप ल्याउने प्रयास

अनुदान सहायता, खरिद वा पैँचोमध्ये कुनै एक मोडालिटीमा खोप दिन नेपालको प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २४ सोमबार ०७:५२:००

नेपालले डेनमार्क सरकारसँग कोभिड– १९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपका लागि कूटनीतिक प्रयास थालेको छ । भारतस्थित सेरम इन्स्टिच्युटबाट उत्पादित एस्ट्राजेनेकाको कोभिसिल्ड खोप आउन ढिलाइ भएपछि डेनमार्कसँग रहेको एस्ट्राजेनेका खोप ल्याउन प्रयास भएको हो ।

डेनमार्कले एस्ट्राजेनेका खोप खरिद गरेर भण्डारणमा राखेको छ, तर उसका नागरिकलाई भने फाइजर खोप लगाइरहेको छ । बिबिसीका अनुसार डेनमार्कले २४ लाख एस्ट्राजेनेका खोप खरिद गरेको छ । डेनमार्कसँग एस्ट्राजेनेका खोप मौज्दातमा रहेको थाहा भएपछि नेपालले कूटनीतिक प्रयास थालेको थियो ।

नेपालमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गर्दै नेपालप्रति शुभेच्छा राख्ने मानव अधिकारकर्मी एवं नागरिक समाजको समूहले नेपाललाई खोप उपलब्ध गराउन सरकार र संसद्मा लबिङ गरेका थिए । संसद्को अन्तर्राष्ट्रिय समितिमा पनि नेपालबारे छलफल भएपछि परराष्ट्रमन्त्री जेपे कोफोडले नेपाललाई खोप सहयोग गर्ने आश्वासन दिएका थिए । 
डेनमार्कस्थित नेपाली राजदूतावासबाट कूटनीतिक लबिङसँगै स्वास्थ्य मन्त्रालयले डेनमार्कको स्वास्थ्य मन्त्रालयलाई खोपका लागि पत्राचार गरिसकेको छ ।

‘दुवै देशका स्वास्थ्य मन्त्रालयका विज्ञहरूबीच छलफल गरेपछि नेपाल ल्याउने खोप तय हुनेछ,’ डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘हामीले कूटनीतिक प्रयास पनि जारी राखेका छौँ, स्वास्थ्य मन्त्रालय पनि सम्पर्कमा छ ।’ 

नेपालले तीनवटा मोडालिटीमा खोपका लागि प्रस्ताव गरेको छ । स्रोतका अनुसार अनुदान सहायता, खरिद वा पैँचोमध्ये जुनसुकै मोडालिटीमा नेपाल तयार रहेको भनिएको छ । कूटनीतिक डेनमार्कको विदेश मन्त्रालयका अधिकारीहरूले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार विश्वका ३५ भन्दा बढी मुलुकले एस्ट्राजेनेका खोप डेनमार्कबाट खरिद गर्न लबिङ गरिरहेका छन् ।

‘हामीले खोप खरिदका लागि इच्छा देखाएका छौँ, तर शुक्रबार अबेरसम्म उनीहरूले हामीलाई कुन मोडालिटीमा खोप दिने र कति दिने भन्ने जानकारी दिइसकेका छैनन्,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने । डेनमार्कले अन्य मुलुकलाई पनि खोप उपलब्ध गराउने वचन दिएको छ । आफ्ना नागरिकलाई भने फाइजर खोप लगाएको डेनमार्कले एस्ट्राजेनेका खोप पनि ऐच्छिक रूपमा लगाउन सक्ने जानकारी दिएको छ । यसबीचमा डेनमार्कले जर्मनीलाई ५५ हजार एस्ट्राजेनेका खोप पैँचोमा दिने घोषणा गरेको छ ।