मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २४ सोमबार ०७:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीले एकताको आह्वान होइन, २ जेठ ०७५ मा नफर्किने घोषणा गर्नुभयो  : बेदुराम भुसाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २४ सोमबार ०७:२४:००

नेकपा एमालेका नेता वेदुराम भुसालले केपी ओलीले एकताको आह्वान नगरेको बताएका छन् । उनले ओलीले २ जेठ ०७५ मा नफर्किने घोषणा गरिसकेका छन् , यस्तो अवस्थामा पार्टी एकता हुन नसक्ने ठोकुवा गरे ।  केपी ओलीले एकताको आह्वान गर्नुभएको छैन, बरु २ जेठ ०७५ मा नफर्किने घोषणा गर्नुभयो । जस्तो कि उहाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदाको केन्द्रीय कमिटीका एकताको पक्षमा रहेका साथीहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटी कायम गर्ने भन्नुभयो । नेकपा हुँदाको केन्द्रीय कमिटी भन्नेबित्तिकै २ जेठमा फर्किएको भएन । त्यसबाहेक तलका कमिटीबारे पनि ‘मूलतः’ भन्नुभयो, ‘सम्पूर्ण रूपमा’ किन नहुने ? ‘मूलतः’ भनेको त उहाँले राखेका पदाधिकारीलाई कायम राख्ने अरूलाई थप्ने भनेको हो । जनसंगठनको विषयमा उहाँले बोल्दै बोल्नुभएन । 

उहाँले रिटमा प्रयोग भएका हस्ताक्षर फिर्ताको कुरा गर्नुभयो । जननिर्वाचित प्रतिनिधिसभा विघटन भएकाले हस्ताक्षर भएको हो । फिर्ताको कुरा गर्ने हो भने त प्रतिनिधिसभा ब्युँताएर पुरै कार्यकाल काम गर्ने वातावरण हुनुपर्‍यो नि ! किन यो महामारीको समयमा चुनावमा जाने ? प्रतिनिधिसभालाई किन विघटन गरिएको हो ? त्यसको जिम्मा उहाँले लिनुपर्दैन ? 
अहिले कोरोना महामारी छ ।

नियन्त्रण र रोकथाम गर्न नसक्ने, अनि ५० अर्बको चुनावी खर्चचाहिँ राज्यले व्यहोर्ने ? पार्टी एकता गरेपछि त यही सरकार चलाए भयो नि ! एमालेको एक सय २१ जना र जसपाको महन्थ ठाकुर पक्षका २० जना सांसद लिएर सरकार बनाउनु नै भएको छ । सबै गरेर एक सय ४१ जना हुन्छ, यसैको बलमा बाँकी समय सरकार चलाएर त्यसपछि चुनाव गरे भयो । तर, त्यसतर्फ उहाँको ध्यान छैन ।

खासमा उहाँ २ जेठमा नफर्किने, पार्टी एकता पनि कायम नराख्ने, हाम्रा साथीहरूको हस्ताक्षर फिर्ता गराएर प्रतिनिधिसभाको विघटनलाई सदर गराउने र मुलुकलाई अँध्यारोतर्फ धकल्ने योजनामा हुनुहुन्छ । यसलाई स्वीकार गर्न सकिँदैन, धेरै साथीहरूले स्वीकार गर्ने मनस्थिति रहेको पनि देखिँदैन । सबै विषयचाहिँ भोलि छलफल गरेपछि स्पष्ट गर्न सकिएला ।