१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २३ आइतबार ०९:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साइकल यात्रा प्रवर्द्धन गर्न युएनडिपी र एनसेलको साझेदारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २३ आइतबार ०९:३०:००

नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन  गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् । यसका लागि युएनडिपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागांगोडा लाबे र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले समझदारीपत्रमा भर्चुअल रूपमा हस्ताक्षर गरेका छन् ।

साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यमलगायतबाट प्रवद्र्धन गरिने एनसेलले जनाएको छ । सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरणमैत्री जीवनपद्धतिको छनोट प्रवर्द्धन  गर्ने उद्देश्यले यो अभियानको सुरुवात ०७७ साल पुसबाटै भएको कम्पनीले जनाएको छ । सहरवासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय रहेको जनाइएको छ । 

‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा हस्ताक्षरित समझदारीपत्रअनुसार युएनडिपी र एनसेलले आफ्नो व्यावसायिक–सामाजिक जिम्मेवारी (सिएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक सहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्ने जनाइएको छ । अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्ने एनसेलले जनाएको छ । 

मानिसहरूलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिने कम्पनीको भनाइ छ । यसले साइकलयात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्नेजस्ता वातावरणमैत्री व्यवसायलाई समेत पक्षपोषण गर्ने कम्पनीको दाबी छ । अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्नुका साथै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिडसम्बद्ध सुरक्षाका लागिसमेत मानिसलाई साइकल जीवनशैली सुरु गर्न वा निरन्तर गर्न उत्प्रेरित गर्ने कम्पनीको भनाइ छ । 

एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङले यो अभियान दिगो समाजप्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको बताए । उनले भने, ‘साइकल यात्रालाई सहरी आउजाउ, व्यावहारिक रूपमा छोटो तथा मध्यम दूरीको यातायातको दिगो साधनका रूपमा प्रवद्र्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकोमा एनसेल आभारी छ । साइकल यात्राका अनेकौँ फाइदासँगै हामी यो विश्वास गर्छौँ कि सहरमा यात्रा गर्ने हाम्रो शैलीमा परिवर्तनको सम्भावना छ ।’