मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ जेठ २३ आइतबार ०९:१७:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

तुम्लिङटारमा बुद्धको ७२ सिटे जहाजको परीक्षण उडान

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ जेठ २३ आइतबार ०९:१७:००

पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटिआर–७२ जहाजले परीक्षण उडान गरेको छ । खाँदबारी–९ को तुम्लिङटार विमानस्थलमा पहिलोपटक ७२ सिट क्षमताको बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको हो । 

बुद्ध एयर तुम्लिङटार कार्यालयका कर्मचारी राजीव पोखरेलले बुद्धको एटिआर–७२ जहाजले काठमाडौं–तुम्लिङटार परीक्षण उडान गरेको बताए । परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी डेपुटी डाइरेक्टर जनरल भोलाप्रसाद गुरागार्इं, फ्लाइट इन्स्पेक्टर क्याप्टेन दधिराम निरौलासहितको टोली शुक्रबार जहाजमा खाँदबारी आएको जनाइएको छ । पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेसनलगायत बुद्ध एयरका अपरेसन तथा टेक्निकलसहितको टिमले एयरपोर्टको अनुगमनसमेत गरेको पोखरेलले बताए । उनले भने, ‘आजको परीक्षण उडान सफल भयो, अब दुई हप्ताभित्र यसको रिपोर्ट आउँछ । रिपोर्टमा तुम्लिङटार एयरपोर्टमा ७२ सिटको उडानयोग्य भनेर सिफारिस गरे, उडान खुला गर्नासाथ एटिआर–७२ ले उडान सुरु गर्छ ।’

लकडाउनको केही दिनअगाडिबाट बुद्धले ४७ सिटको जहाजले काठमाडौं–तुम्लिङटार, तुम्लिङटार–विराटनगर उडान सुरु गरेको थियो । यसअघि १८ सिटको जहाजले उडान भर्दै आएको थियो । १८ सिट क्षमताको जहाजले काठमाडौं–तुम्लिङटारको ५ हजार ९ सय र ४७ सिटेले ४ हजार ५ सय भाडा लिँदै आएको थियो । त्यसैगरी, ४७ सिट क्षमताको जहाजले तुम्लिङटार–विराटनगरको ३ हजार ३ सय र ४७ सिटेले २ हजार ६ सय भाडा लिँदै आएको छ ।

एटिआर–७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरले जनाएको छ । बुद्धले हप्ताको सातै दिन काठमाडौं–तुम्लिङटार र हप्ताको तीन दिन (आइतबार, बुधबार र शुक्रबार) तुम्लिङटार–विराटनगर उडान भर्दै आएको थियो । तुम्लिङटारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेको छ । यती एयरले ३२ सिट क्षमताको जहाजले उडान गर्दै आएको थियो । 

जिल्लाको एक मात्रै तुम्लिङटार विमानस्थल छिमेकी जिल्ला भोजपुरका आधाभागको समेत केन्द्र हो । पर्यटकीय हिसाबले विश्वको पाँचाैँ अग्लो मकालु हिमाल, विश्वको गहिरो ४ सय ५७ मिटर होचो अरुण उपत्यका, मकालु वरुण राष्ट्रिय निकुञ्ज, ठूला प्रोजेक्ट ९ सय मेगावाटका अरुण तेस्रो जलविद्युत् आयोजनास्थल र किमाथांका नाकाका कारणले समेत बाहिर जिल्लाका मानिसहरूको आवागमन बाक्लो छ । साना जहाजमा हिउँदमा समेत टिकट पाउन समस्या रहेको छ ।