Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २३ आइतबार ०९:३२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

जेठ र असारको करिब ३० करोड सरकारले भुक्तानी गरिदिने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २३ आइतबार ०९:३२:००

सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकहरूको दुई महिनाको योगदानबापतको करिब ३० करोड सरकारले भुक्तानी गर्ने भएको छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण आहत भएका श्रमिकलाई राहत प्रदान गर्न सरकारले योगदान आफैँले भुक्तानी गरिदिने भएको हो । आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रमिकले भुक्तानी गर्नुपर्ने ११ प्रतिशत र रोजगारदाताले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम भुक्तानी गर्ने घोषणा गरेका हुन् । सरकारले जेठ र असारको योगदान रकम भुक्तानी गरिदिने भएको हो । 

कोषमा हालसम्म २ लाख ८ हजार ८ सय ११ श्रमिक सूचीकृत भएका छन् । वैशाख महिनाको योगदान रकम भुक्तानी गरेका श्रमिकले मात्रै जेठ र असार महिनाको योगदान रकम अनुदान पाउनेछन् । सो आधारमा सूचीकृत श्रमिकको योगदान रकम अनुमानित ३० करोड हुने कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाले बताए । साउन महिनाको योगदान रकमको विषयमा संक्रमणको अवस्था हेरेर निर्णय हुने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । गत वर्ष पनि सरकारले चार महिनाको योगदान रकम अनुदान दिएको थियो ।

निवृत्तिभरणबापतको करयोग्य आयमा २५ प्रतिशत छुट
सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको निवृत्तिभरण कोषको करयोग्य आयमा २५ प्रतिशत छुट हुने भएको छ । आगामी आवको बजेटमार्फत सरकारले यस्तो आयमा कर छुटको व्यवस्था गरेको हो । हालको व्यवस्थाअनुसार कोषमा सूचीकृत श्रमिकले निवृत्तिभरण कोषमा जम्मा भएको रकम एकमुष्ट निकाल्दा ५ लाखसम्ममा कर छुट हुन्छ । तर, सो रकमभन्दा बढी भएमा आयकर भुक्तानी गर्नुपर्ने हुन्छ । तर, सरकारले गरेको नयाँ व्यवस्थाअनुसार ५ लाखभन्दा बढी भएको रकमकोे २५ प्रतिशतमा आयकर छुट हुने कोषका उपनिर्देशक कोइरालाले बताए ।  

स्वीकृत अवकाश कोषको रकम सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गरेमा कर छुट हुने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका योगदानकर्ता वा सूचीकृत हुन चाहने योगदानकर्ताले स्वीकृत अवकाश कोषमा जम्मा भएको रकम कोषमा हस्तान्तरण गरेमा सरकारले कर छुटको दिने भएको छ । हालको व्यवस्थाअनुसार स्वीकृत कोषमा भएको रकम सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्दा आयकर भुक्तानी गर्नुपर्छ । तर, आगामी चैत महिनासम्म मात्रै छुट योजना लागू हुने कोषका उपनिर्देशक कोइरालाले बताए । उनका अनुसार सञ्चय कोष, नागरिक लगानी कोष, बैंकलगायतका संस्थाहरूले यस्तो कोष सञ्चालन गर्दै आएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले नै सबै खालका यस्ता कोष सामाजिक सुरक्षा कोषमा नै गाभिनुपर्ने व्यवस्था गरेको छ । नेपालमा करिब ५२ वटा यस्ता खालका कोष सञ्चालित छन् । 

कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने 
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने भएको छ । आव ०७६/७७ को आम्दानीबाट योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिन सक्षम भएको कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । यसअघि कोषले बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा मात्रै लगानी गर्दै आएको थियो । तर, हाल कोषले लगानी नियमावली संशोधन गरी विभिन्न १२ वटा क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । तसर्थ, आगामी दिनमा प्रतिफलमा वृद्धि हुने कार्यकारी निर्देशक ज्ञवालीले बताए । 

असारभित्र योगदान प्रारम्भ गर्ने योगदानकर्तालाई विशेष सुविधा
आगामी असार महिनाभित्रमा सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्ने योगदानकर्तालाई कोषले विशेष सुविधा दिने भएको छ । कोषले सामाजिक सुरक्षा कोष योजना सञ्चालन कार्यविधि संशोधन गर्दै यस्ता योगदानकर्तालाई सुविधा दिने व्यवस्था गरेको हो । 

कोषले गरेको नयाँ व्यवस्थाअनुसार असारभित्रमा योगदान जम्मा गर्ने योगदानकर्ता अवकाश हुँदा वृद्ध अवस्था सुरक्षा सुविधा योजनामा जम्मा भएको सबै रकम एकमुष्ट निकाल्न पाउनेछन् । एकमुष्ट निकाल्न नचाहेमा निवृत्तिभरण कोषमा जम्मा भएको रकमलाई अवकाश योजना कोषमा सारी जम्मा भएको रकमको ८० प्रतिशतसम्म सापटी लिन पाउनेछन् । तर, असारपछि योगदान रकम जम्मा गर्ने योगदानकर्ताले अवकाशपछि अवकाश योजनामा मात्रै जम्मा भएको रकम एकमुष्ट निकाल्न पाउँछन् ।

कोषले कार्यविधि संशोधन गर्दै वृद्ध अवस्था सुरक्षा सुविधा योजनालाई दुईवटा योजनामा विभाजन गरेको छ । निवृत्तिभरण र अवकाश योजनामा विभाजन गरेको हो । जसमध्ये योगदानकर्ताले जम्मा गरेको योगदान रकमको २० प्रतिशत रकम निवृत्तिभरण योजनामा जम्मा हुनेछ । योगदानकर्ताले सो रकम निवृत्तिभरणका रूपमा पाउनेछन् । त्यस्तै, अवकाश योजनामा ८ दशमलव ३३ प्रतिशत रकम जम्मा हुनेछ । यो रकम योगदानकर्ता श्रमबाट अवकाश पाउनेबित्तिकै एकमुष्ट निकाल्न सक्ने व्यवस्था गरेको छ ।