मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ जेठ २३ आइतबार ०७:३७:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

कोरोनाको दोस्रो लहरपछि खुल्दै विश्व

Read Time : > 3 मिनेट
२०७८ जेठ २३ आइतबार ०७:३७:००

कोरोना भाइरसको दोस्रो लहर झेल्न नेपालले संघर्ष गरिरहेको अवस्थामा यसअघि नै कोरोनाको दोस्रो लहर झेलेका विश्वका कैयौँ देशले भने पर्यटकीय प्रयोजनका लागि समेत खोल्न थालेका छन्, युरोप मुख्य भ्रमण सिजनमा अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्ने तयारीमा छ 

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरबाट नेपाल आक्रान्त छ । राजधानीसहित देशका प्रायः जिल्लामा निषेधाज्ञा लगाइएको छ । प्रायः गतिविधि ठप्प छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै भ्रमण रोकिएका छन् । 

नेपाल फेरि कहिले खुल्ला ? नेपाल फेरि अन्तर्राष्ट्रिय भ्रमणलाई अनुमति दिने अवस्थामा कहिले पुग्ला ? संक्रमण संंख्या अझै नियन्त्रणबाहिर देखिएका कारण नेपाल फेरि सामान्य अवस्थामा फर्कन समय लाग्ने देखिएको छ । 

कोरोना भाइरसको दोस्रो लहर झेल्न नेपालले संघर्ष गरिरहेको अवस्थामा यसअघि नै कोरोनाको दोस्रो लहर झेलेका बाँकी विश्व भने खुल्न थालेका छन् । युरोप आफ्नो मुख्य भ्रमण सिजनमा अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्ने तयारीमा देखिएका छन् । एसियाकै अन्य केही देश, अफ्रिका र अन्य क्षेत्रका देशहरू पनि खुल्न थालेका छन् । 

त्यसका लागि देशहरूले आफ्नै नियम तय गरेका छन् । युरोपमा सम्बन्धित देशहरूले आफ्नो नियम तय गर्नुअघि युरोपमा युरोपियन युनियन (इयू)ले आफ्नो क्षेत्रभन्दा बाहेकको केही देशको लिस्ट तयार पारेको छ, जहाँबाट हुने अन्तर्राष्ट्रिय यात्रालाई उसले स्वीकार गर्नेछ । ती देश हुन्– इजरायल, न्युजिल्यान्ड, रुवान्डा, सिंगापुर, दक्षिण कोरिया, थाइल्यान्ड र अस्ट्रेलिया ।

अन्तर्राष्ट्रिय भ्रमणमा इयूले आफ्नो मापदण्ड तय गरे पनि आफ्नो सीमा प्रवेशमा सम्बन्धित देशहरूले आवश्यक अरू नियम तय गर्ने अधिकार राख्दछन् । त्यसैले यहाँ सम्बन्धित देशले तय गरेका नियम नै सान्दर्भिक हुनेछन् ।

इयूले आफ्नो क्षेत्रभन्दा बाहिरका पर्यटकका लागि छुट्टै भ्रमण सर्टिफिकेट दिने गरेको, जसलाई बुल्गेरिया, डेनमार्क, जर्मनी, ग्रिस, क्रोएसिया र पोल्यान्डले स्वैच्छिक रूपमा लागू गरेका छन् । यो नियमलाई आगामी १ जुलाईदेखि भने अनिवार्य गर्ने तयारी भएको छ । 

अन्तर्राष्ट्रिय भ्रमणलाई खुकुलो पारेका देश र गन्तव्यहरू

ग्रिस : ग्रिसले आफ्नो देश आउने सबै पर्यटकलाई क्वारेन्टिन नबसीकनै भ्रमणको अनुमति दिने भएको छ । यद्यपि, पर्यटकले आफू संक्रमित नरहेको पिसिआर रिपोर्ट भने देखाउनुपर्ने छ । ग्रिसले पर्यटकीय गन्तव्यसँगै आफ्ना ८० वटा आइल्यान्डलाई जुनको अन्त्यसम्ममा कोभिडमुक्त बनाउने तयारी गरेको जनाएको छ । 

फ्रान्स : फ्रान्सले नयाँ नियमसहित पर्यटकका लागि आफ्नो देश खुला गरेको छ । त्यसका लागि उसले फरक देशका पर्यटकलाई फरक नियम लागू गरेको छ । फ्रान्सले इयूअन्तर्गतका देशहरूसहित अस्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जापान, लेबनान, न्युजिल्यान्ड र सिंगापुरबाट भ्याक्सिन लगाएर आएका पर्यटकलाई कुनै रोकटोकविना भ्रमण गर्न दिने भएको छ । यी देशबाट आउने भ्याक्सिन नलगाएका पर्यटकले भने संक्रमण रहे/नरहेको परीक्षण गर्नुपर्नेछ ।

यस्तै, अमेरिका र बेलायतबाट आएका पर्यटकले भने म्याक्सिन लगाएको भए पनि पिसिआर परीक्षण गर्नुपर्ने नियम फ्रान्सले बनाएको छ । भ्याक्सिन नलगाएका यी देशका पर्यटकले भने आपत्कालीन अवस्थामा मात्रै फ्रान्सको भ्रमण गर्न पाउनेछन् ।

फ्रान्समा ९ जुनदेखि रेस्टुरेन्टहरूमा भित्र बसेर खान अनुमति दिइनेछ । राति लगाइँदै आएको कफ्र्युलाई राति ११ बजे पु¥याइएको छ । आइफेल टावरको भ्रमण गर्न चाहनेहरूका लागि भने अझै कुर्नुपर्ने देखिएको छ । फ्रान्सले आफ्नो पर्यटकीय गन्तव्य आइफेल टावर आगामी १९ जुलाईबाट मात्रै खोल्ने निर्णय गरेको छ ।

आयरल्यान्ड : कडा लकडाउनमा रहेको आयरल्यान्डले पनि अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्ने तयारी गरेको छ । आयरल्यान्डले आगामी १९ जुलाईदेखि इयूका देशहरू, बेलायत र अमेरिकाबाट आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेको छ । यद्यपि, इयूभन्दा अन्य देशबाट भ्याक्सिन नलगाई आइपुग्ने पर्यटकले भने आफू संक्रमित नरहेको पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ । यस्तै, उनीहरू दोस्रोपटक परीक्षण गरेर संक्रमणमुक्त रहेको प्रमाण प्राप्त नभएसम्म क्वारेन्टिन बस्नुपर्नेछ । आयरल्यान्डमा यसै साताबाट होटेलहरू खुलेका छन् । आयरल्यान्डले ५ जुलाईदेखि होटेलहरूलाई घरभित्री सेवा प्रदान गर्न अनुमति दिइने भएको छ ।

स्पेन : स्पेनले इयूका देशहरूभन्दा बाहिरबाट भ्याक्सिन लगाएर आउने पर्यटकलाई पनि आगामी ७ जुनबाट स्वागत गर्ने तयारी गरेको छ ।

नेदरल्यान्ड्स : यस्तै, नेदरल्यान्ड्सले पनि कोरोना भाइरसको कम जोखिम रहेका देशहरूबाट आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेको छ । 

आइसल्यान्ड : आइसल्यान्डले गत अप्रिलबाटै भ्याक्सिन लगाएका पर्यटकका लागि आफ्नो सीमा खुला गरेको हो ।

क्रोएसिया : क्रोएसियाले भ्याक्सिन लगाएका मात्रै हैन, पिसिआर परीक्षणमा नेगेटिभ नतिजा आएका पर्यटकलाई पनि आफ्नो देशमा स्वागत गर्दै छ । यस्तै, आफू आइपुगेको ११ दिनभित्र नै पर्यटकहरूले विगत एक सय ८० दिनभित्र आफू संक्रमित भएर पनि निको भएको प्रमाण पेस गरेको अवस्थामा क्रोएसियाले अनुमति दिने भएको छ ।

साइप्रस : साइप्रसले गत महिना नै विभिन्न ६५ देशबाट भ्याक्सिन लगाएर आउने पर्यटकलाई अनुमति दिने निर्णय गरेको थियो । जसमा अमेरिका, बेलायतलगायत छन् ।

बेलायत : बेलायत हालै मात्र इयूबाट बाहिरिएको देश हो । उसले पनि आफ्नो छुट्टै नियमसहित अन्तर्राष्ट्रिय भ्रमणलाई अनुमति दिएको छ । उसले निश्चित देशहरूबाट आउने पर्यटकलाई मात्रै अनुमति दिने नियम तय गरेको छ । उसले यसै साता उक्त लिस्टलाई परिमार्जन गरेको छ । यद्यपि, उसले त्यसमा धेरै नयाँ देशलाई थपेको छैन । नयाँ नियमअनुसार बेलायतले पोर्चुगल भ्रमणमा जाने आफ्ना नागरिकमा कडाइ गरेको छ । उसले त्यसरी गएर फर्कनेहरूका लागि १० दिनको क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको छ ।

क्यारेबियनअन्तर्गत सेन्ट लुसियाले आफ्नो क्षेत्रमा प्रवेश गर्न चाहने पर्यटकका लागि तय गरिएको नियम खुकुलो बनाएको छ । उसले भ्याक्सिन लगाएका पर्यटकलाई प्रवेश अनुमति दिएको छ । त्यस्ता पर्यटकले स्थानीय रेस्टुरेन्टहरूमा खाना खान र गाडी भाडामा लिएर भ्रमणमा निस्कन सक्छन् । यद्यपि, सेन्ट किट्सले भने पूर्ण रूपमा भ्याक्सिन लगाएकाहरूलाई मात्रै आफ्नो क्षेत्रमा प्रवेश दिने निर्णय गरेको छ । 

मध्यपूर्वमा आबुधावीले अन्तर्राष्ट्रिय भ्रमणकर्ताहरूका लागि तय गरेको क्वारेन्टिनको बाध्यकारी व्यवस्थालाई आगामी १ जुलाईबाट अन्त्य गर्दै छ । त्यही दिन थाइल्यान्डले पनि आफ्नो पर्यटकीय गन्तव्य फुकेट खुला गर्दै छ । यस्तै, अफ्रिकामा अल्जेरियाले पछिल्लो १४ महिनादेखि रोकेको अन्तर्राष्ट्रिय हवाई सेवा खोल्ने तयारी गरेको छ ।

एजेन्सीको सहयोगमा