१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुना कुँवर काठमाडौं
२०७८ जेठ २३ आइतबार ०९:३७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

दैनिक ज्यालादारी श्रमिक र स्वरोजगार पनि  सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ जेठ २३ आइतबार ०९:३७:००

अनौपचारिक क्षेत्रका मजदुरदेखि डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, बिमा एजेन्ट, सेयर बजारका लगानीकर्ता पनि कोषमा सहभागी हुन सक्ने, कार्यविधि चाँडै कार्यान्वयन हुने

अबदेखि दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, स्वरोजगार वा सेयर बजारका लगानीकर्ता पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउने भएका छन् । कोषले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारलाई पनि समेट्ने गरी तयार पारेको कार्यविधि अन्तिम चरणमा पुगेको छ । कोषले आगामी आर्थिक वर्षदेखि कार्यविधि कार्यान्वयनमा ल्याउने भएको छ । 

कोषले अनौपचारिक रोजगारीमध्ये कुनै एक प्रकारको रोजगारी वा क्षेत्र तोकी कार्यक्रम सुरु गर्ने कोषका प्रवक्ता विवेक पन्थीले बताए । कोषको पहिलो चरणमा कृषि, निर्माण वा यातायातमध्ये कुनै एक क्षेत्रबाट कार्यक्रमको सुरुवात गर्ने योजना बनाएको छ । कार्यक्रम सञ्चालन लागि कोषले पहिलो चरणको मस्यौदा तयारी पारी सरोकारवालासँग छलफल गरिसकेको छ । अन्तिम चरणको छलफलपछि कार्यविधि कार्यान्वयनमा ल्याइने प्रवक्ता पन्थीले बताए । 

कार्यक्रम सञ्चालनका लागि कोषले स्थानीय तहसँग सम्झौता गर्नेछ । स्थानीय तह आफैँ वा स्थानीय तहमा रहेका बैंक तथा अन्य वित्तीय संस्थाहरूमार्फत योगदान रकम संकलनको व्यवस्था गरिने कोषले तयारी पारेको कार्यविधिमा उल्लेख गरिएको छ । कोषले सहकारी संस्थाहरूलाई कलेक्सन सेन्टरका रूपमा तोक्न सकिने बताएको छ । वार्षिक एकमुष्ट, अर्धवार्षिक, त्रैमासिक वा मासिक रूपमा योगदान रकम भुक्तानी गर्नुपर्नेछ । अग्रिम रूपमा वार्षिक एकमुष्ट योगदान गर्ने श्रमिकलाई निश्चित प्रतिशत छुटको व्यवस्था गर्न सकिने कोषले जनाएको छ । 

कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारका लागि दुई खालका योजना सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक बिमा सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालनमा ल्याउने भएको छ । सामाजिक बिमा योजनाअन्तर्गत कोषले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना राखेको छ । त्यस्तै, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत बचत तथा निवृत्तिभरण योजना समावेश गरेको छ । श्रमिकबाट प्राप्त योगदान रकममध्ये सामाजिक योजनामा १० प्रतिशत, वृद्धावस्था सुरक्षा योजनामा ९० प्रतिशत (बचत योजनामा ३०, निवृत्तिभरण योजनामा ६० प्रतिशत) जम्मा हुनेछ । 

अनौपचारिक क्षेत्रका श्रमिकले सुविधा छनोट गर्न पाउने
अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले सामाजिक सुरक्षा कोषले सञ्चालन गरेका दुईवटा सुरक्षा योजनामध्ये कुनै एक मात्रै पनि छनोट गर्न पाउनेछन् । श्रमिकले चाहेमा दुवै खालका योजनामा सहभागी हुन सक्नेछन् । 

कोषका अनुसार श्रमिकले मासिक ५ सय रुपैयाँ भुक्तानी गरी सामाजिक बिमा योजनामा सहभागी हुन सक्नेछन् । जसमध्ये ३ सय श्रमिकले आफैँले भुक्तानी गर्नुपर्नेछ भने २ सय रुपैयाँ सरकारले भुक्तानी गर्नेछ । त्यस्तै, श्रमिकले आफ्नो मासिक आम्दानी स्वघोषणा गरी त्यसको २० प्रतिशत रकम भुक्तानी गरी वृद्धावस्था सुविधा योजनामा सहभागी हुन सक्नेछन् । 

तर, स्वरोजगार क्षेत्रका श्रमिकको हकमा भने अनिवार्य रूपमा दुवै योजनामा सहभागी हुनुपर्नेछ । स्वरोजगार व्यक्तिले स्वघोषणा गरेको आम्दानीको ३१ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गर्नुपर्नेछ । नेपाल सरकारले औद्योगिक क्षेत्रको श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको अवस्थामा वृद्धि भएको अनुपातमा योगदान रकमसमेत वृद्धि हुनेछ । साथै, आम्दानी स्वघोषणा गर्दा नेपाल सरकारले समय–समयमा औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम पारिश्रमिकमा नघट्ने गरी बढीमा ३ गुणासम्म गर्न सक्नेछन् । 

दुर्घटना भएमा ७ लाखसम्मको उपचार सुविधा 
अनौपचारिक क्षेत्रका श्रमिक वा स्वरोजगारले दुर्घटना भएको अवस्थामा उपचारबापत ७ लाखसम्मको सुविधा पाउनेछन् । कोषले सञ्चालन गरेको सामाजिक बिमा योजनाअन्तर्गतको दुर्घटना तथा अशक्तता सुरक्षा योजनाले श्रमिकलाई यस्तो सुविधा उपलब्ध गराउनेछ । यो योजना श्रमिकले योगदान रकम भुक्तानी सुरु गरेकै मितिबाट लागू हुनेछ । प्रतिदुर्घटना सो रकमबराबरको उपचार सुविधा पाउने कोषले मस्यौदामा उल्लेख गरेको छ । 

त्यस्तै, श्रमिक आंशिक अशक्त भएमा डाक्टरको सिफारिस तथा कोषको स्वास्थ्य परीक्षण समितिको निर्णयबमोजिम अशक्तताको प्रतिशतका आधारमा भुक्तानी कोषले भुक्तानी गर्नेछ । वृद्धावस्था सुरक्षा योजनामा समावेश नभएका श्रमिकलाई औपचारिक क्षेत्रको श्रमिकको न्यूनतम पारिश्रमिकका आधारमा र वृद्धावस्था सुरक्षा योजनामा समावेश भएको श्रमिकलाई योगदान रकमका आधारमा रकम भुक्तानी गरिने प्रस्ताव गरिएको कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाले बताए । 

त्यस्तै, श्रमिकले योगदान रकम भुक्तानी सुरु गरेको तीन महिनापछि स्वास्थ्य सुरक्षा तथा मातृत्व सुरक्षा योजना सुविधा उपभोग गर्न पाउनेछन् । यस योजनाबापत श्रमिकलाई प्रतिवर्ष १ लाखसम्मको स्वास्थ्य उपचार सुविधा प्राप्त हुनेछ । श्रमिक वा श्रमिककी श्रीमतीको प्रसूतिबापत १ लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त हुनेछ । साथै, शिशुको ३ महिनासम्मको उपचार तथा औद्योगिक क्षेत्रको न्यूनतम पारिश्रमिकबराबरको स्याहार भत्ता प्रदान गरिनेछ । 

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत श्रमिकको मृत्यु भएमा आश्रित परिवारले औसत मासिक आधारभूत पारिश्रमिकको ४० प्रतिशत मासिक पेन्सन पाउनेछन् । त्यस्तै, वृद्धावस्था सुरक्षा योजनामा सहभागी नभएका र सामाजिक बिमा सुरक्षा योजनामा मात्रै सहभागी भएका श्रमिकले भने यस योजनाअन्तर्गत औद्योगिक क्षेत्रको न्यूनतम पारिश्रमिकको ४० प्रतिशत मासिक पेन्सन पाउनेछन् । त्यस्तै, मृतक श्रमिकको १८ वर्ष नकटेको सन्ततिले पारिश्रमिकको २० प्रतिशत मासिक शैक्षिक वृत्ति पाउनेछन् भने अन्तिम संस्कार खर्चका लागि २५ हजार रुपैयाँ पाउनेछन् । 

बचत योजनाको रकम दुई–दुई वर्षमा निकाल्न पाउने
अनौपचारिक क्षेत्रका श्रमिक वा स्वरोजगारले वृद्धावस्था सुविधा योजनाअन्तर्गतको बचत योजनामा जम्मा गरेको रकम हरेक दुई–दुई वर्षमा निकाल्न पाउने व्यवस्था गरिएको कोष उपनिर्देशक कोइरालाले बताए । त्यस्तै, बिमा योजनाअन्तर्गतको प्रिमियम निवेदन दिई बचत योजनाको रकमबाट मिलान गर्न सकिनेसमेत व्यवस्था गरिएको छ । बचत रकममा ब्याजसमेत पाइनेछ । निवृत्तिभरण योजनाअन्तर्गत श्रमिक ६० वर्ष पुगेपछि जम्मा भएको रकमलाई १६० ले भाग गर्दा जति आउँछ, सो मासिक रूपमा जीवनभर पाउनेछ ।
 
अनौपचारिक श्रमिक भनेका को हुन् ?
अनौपचारिक श्रमिक भन्नाले कुनै करारीय सम्झौता र सामाजिक सुरक्षा प्रावधानविना नै आफ्नै वा अरूका लागि काम गर्ने श्रमिक हुन् । सामान्यतया असंगठित तथा आयकरका दायरभन्दा बाहिर रहेका र श्रम कानुनसमेत आकर्षित नभएको रोजगारी गर्ने व्यक्तिलाई अनौपचारिक श्रमिक भनिन्छ । यसले फर्मका रूपमा दर्ता भई सञ्चालनमा रहेको बाहेक अन्य कृषिजन्य रोजगारी, ज्यालादारी, निर्माण मजदुर, घरेलु श्रमिक, संघ वा समितिमातहत कार्यरत यातायात मजदुरलगायत औपचारिक र स्वरोजगारको परिभाषाभित्र नपरेको सम्पूर्ण रोजगारीलाई जनाउँछ । 

स्वरोजगार भनेका को हुन् ? 
ज्याला वा निश्चित पारिश्रमिकका निम्ति नभई स्वआर्जनका लागि कार्य गर्ने व्यक्तिलाई स्वरोजगार भनिन्छ । यस्ता व्यक्ति कुनै न कुनै सरकारी निकायमा व्यवसाय दर्ता गरी वा नगरी सञ्चालक, व्यवस्थापक वा प्रोप्राइटरका रूपमा कार्यरत हुन्छन् । यसले किराना व्यवसायी, आफ्नै फर्म खोली काम गर्ने डाक्टर, कन्सल्टेन्ट, चार्टर्ड एकाउन्टेन्ट, व्यावसायिक कम्पनीका सञ्चालक, बिमा अभिकर्ता, ब्रोकर, सेयर बजारका लगानीकर्ता, फ्रिलान्सरसमेतलाई जनाउँछ ।