मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार १०:००:००
Read Time : > 1 मिनेट
खेलकुद

क्रिस गेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार १०:००:००

वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिने तयारी गरेका छन् । गेलले यसै वर्षको समरमा हुने एकदिवसीय विश्वकपपछि सन्न्यास लिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ३९ वर्षीय गेल वेस्टइन्डिजमा ब्रायन लारापछि सर्वाधिक सफल ब्याट्सम्यानका रूपमा छन् । गेल विश्व क्रिकेटमा टेस्टमा तेहेरो शतक, एकदिवसीयमा दोहोरो शतक र टी–२० मा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् ।

अब युवालाई मौका
सन्न्यासको मिति घोषणा गरेका गेलले आफू युवा पिँढीका खेलाडीलाई ‘स्पेस’ दिनका लागि मैदान छोड्न लागेको जानकारी दिए । सिनियर खेलाडी टोलीमा रहँदासम्म युवा खेलाडीले धेरै मौका नपाउने उनको भनाइ रह्यो । ‘टिममा जबसम्म हामीजस्ता सिनियर खेलाडी रहन्छौँ, त्यसवेलासम्म युवा खेलाडीले धेरै मौका नपाएको म देख्छु,’ उनले भने, ‘अब म युवा खेलाडीको खेल हेर्दै रमाइलो गर्नेछु ।’ उनी एकदिवसीयमा देशका लागि सर्वाधिक शतकीय इनिङ खेल्ने ब्याट्सम्यानसमेत हुन् । उनले २ सय ८४ खेलमा २३ शतक बनाएका छन् ।

१० हजार रननजिक
सन् १९९९ मा भारतविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका गेल १० हजार रननजिक छन् । अहिलेसम्म उनले ९ हजार ७ सय २७ रन बनाएका छन् । उनले एकदिवसीय खेलमा ४९ अर्धशतक लगाएका छन् । उनले अहिलेसम्म एकदिवसीय खेलमा ३८.८९ को औसतमा ब्याटिङ गरेका छन् । पार्टटाइम बलरका रूपमा गेलले एकदिवसीय खेलमा ३५.५३ को औसतमा १ सय ६५ विकेट हात पारेका छन् । साथै, उनले १ सय २० क्याच सम्भव बनाएका छन् । 

विश्वकपमा दोहोरो शतक
सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा भएको एकदिवसीय विश्वकपमा गेलले आफ्नो नाममा दुर्लभ रेकर्ड बनाएका छन् । उनले जिम्बावेविरुद्ध समूह चरणमा २ सय १५ रन प्रहार गरे । विश्वकपमा गेल नै पहिलो दोहोरो शतक लगाउने ब्याट्सम्यान हुन् । गेललाई आफ्नो क्षमताअनुरूप टी–२० खेलको स्पेसलिस्ट मानिन्छ । उनले अहिलेसम्म विभिन्न फ्रेन्चाइजमा गरी ३ सय ६९ टी–२० खेलमा आफ्नो प्रतिभा देखाइसकेका छन् । यसक्रममा उनले ८ हजार ३ सय ५८ रन जोडेका छन् ।