मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ २१ शुक्रबार १८:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भेरीका चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन शनिबार सकिँदै 

Read Time : < 1 मिनेट
२०७८ जेठ २१ शुक्रबार १८:३६:००

भेरी कोरोना विशेष अस्पतालको आइसियू वार्डमा कार्यरत चिकित्सक र स्टाफ नर्समाथि भएको हातपात र तोडफोडपछि सुरु भएको सांकेतिक विरोध कार्यक्रम शनिबार सकिने भएको छ । हरेक दिन बेलुकी ५ बजेपछि यहाँका चिकित्सक र स्वास्थ्यकर्मीले भेरी अस्पतालको प्रांगणमा एक घन्टा सांकेतिक विरोधको कार्यक्रम गर्दै आएका छन् । 

सरकारले अध्यादेशमार्फत ‘हेल्थ प्राटेक्सन एक्ट’ राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेपछि पहिलो चरणको विरोध कार्यक्रम शनिबार सकिन लागेको संघर्ष समितिका संयोजकसमेत रहेका नेपाल चिकित्सक संघ, भेरीका अध्यक्ष डा. विनोद कर्णले बताए । उनले अध्यादेश अध्ययन गरेर थप आन्दोलनका कार्यक्रम तय गरिने स्पष्ट पारे । अध्यादेश अध्ययन गरेर आगामी संघर्षका कार्यक्रम तय गरी अगाडि बढ्ने योजना छ,’ उनले भने ।

 उनले चिकित्सक र स्टाफ नर्समाथि हातपात गर्ने व्यक्तिलाई कानुनी कारबाहीका लागि दबाब दिन संघर्षका कार्यक्रम जरुरी रहेको बताए । तुल्सीपुर उपमहानगरपालिका– ११ उरहरीका डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावतसहितको टोलीले चिकित्सक र स्टाफ नर्समाथि हातपात गर्नुका साथै तोडफोड गरेका थिए । ‘हातपात र तोडफाेड गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन दबाब दिन आवश्यक छ,’ उनले भने, ‘पहिलो चरणको संघर्षको कार्यक्रमको समीक्षापछि दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरिनेछ ।’

भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि भएको हातपातपछि सुरु भएको आन्दोलनमा नेपालगन्ज मेडिकल कलेजलगायत अन्य निजी अस्पताल तथा स्वास्थ्यकर्मीसँग सम्बन्धित विभिन्न संघसंगठनले ऐक्यबद्धता जनाउँदै आएका छन् ।