१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ २१ शुक्रबार १४:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संस्थानमातहत क्यान्सर अस्पताल सञ्चालन हुनुहुँदैन : डाक्टर आचार्य

Read Time : > 1 मिनेट
२०७८ जेठ २१ शुक्रबार १४:०२:००

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वनिर्देशक डाक्टर विजयचन्द्र आचार्यले नेपालमा क्यान्सर संस्थान आवश्यक भए पनि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालजस्तो स्वायत्त संस्थालाई अनावश्यक हस्तक्षेप गर्ने गरी संस्थान बनाउनु गलत रहेको दाबी गरेका छन् ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमार्फत संस्थान सञ्चालन गर्नुपर्नेमा उल्टै स्वायत्त संस्थामाथि हस्तक्षेप हुने गरी आएको बजेट गलत रहेको उनले बताए । 

दुई दशक पुरानो देशकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको साख गिराउन नहुने भन्दै आचार्यले भने, ‘क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा विकास र विस्तार गरी क्यान्सर रिसर्च सेन्टर बनाउन, केमो प्लान्ट स्थापना गर्नु  र क्यान्सर अस्पताललाई एक हजार शय्याको बनाउनुपर्ने गुरुयोजना छाडेर बजेटले केलाई प्राथमिकता दिएको छ ?’ उनले प्रश्न गरे  । 

 विगतमा पनि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र अन्य क्यान्सर अस्पतालहरूको स्वायत्ततामा प्रभाव पार्ने काम सरकारबाट भएको भन्दै यसले क्यान्सर अस्पतालको विकासमा असर पर्ने उनी बताउँछन् । ०६४ सालको संशाेधित क्यान्सर अस्पतालको ऐनले आर्थिक अधिकारमा अस्पताललाई मन्त्रालयले नियन्त्रण गर्‍याे, २०६८ को सुर्तीजिन्य पदार्थको नियन्त्रण र नियमन गर्ने सम्बन्धमा बनेको ऐन पनि क्यान्सर अस्पतालको आर्थिक विनियोजनमा असर परेको छ । क्यान्सर अस्पतालमाथि पटकपटक सुनियोजित तवरले षड्यन्त्र भएको उनको ठहर छ ।  निर्णय सच्याउने पहलका लागि उनले सबैसँग अनुरोध गरेका छन् । 

सरकारले बजेट भाषणमार्फत क्यान्सर अस्पताललाई छुट्टै अध्ययन संस्थान स्थापना गरी सञ्चालन गर्ने कार्यको विरोध सुरु भएको छ । आर्थिक वर्ष ०७८–७९ को बजेट घोषणाका क्रममा अर्थमन्त्री विष्णु पौडेलले देशमा रहेका क्यान्सर अस्पताललाई नियमन गराउन क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थानमातहत सञ्चालन गरिने बताएका थिए ।