१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अञ्जन विष्टले चाइनिज ताइपेईविरुद्ध पेनाल्टीमा गोल गरेपछि खुसी साट्दै नेपाली खेलाडीहरू ।
२०७८ जेठ २१ शुक्रबार ०६:१२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चाइनिज ताइपेईविरुद्ध नेपालको अपेक्षित जित

Read Time : > 2 मिनेट
२०७८ जेठ २१ शुक्रबार ०६:१२:००

कुवेतमा बिहीबार भएको खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपालले एसियनकप २०२३ को तेस्रो चरणको छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ, साथै फिफा विश्वकप २०२२ को तेस्रो चरणको छनोटमा पुग्ने गणितीय सम्भावनालाई पनि जीवित राखेको छ 

विश्वकप २०२२ र एसियनकप २०२३ को दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्धको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । कुवेतको जाबर अल हमाद स्टेडियममा बिहीबार भएको खेलमा नेपाल २–० गोलले विजयी भएको हो ।

यो नतिजासँगै नेपालले दुई वर्षपछि चीनले आयोजना गर्ने एसियनकपको तेस्रो चरणको छनोट प्रतियोगिताका लागि छनोट हुने सम्भावना बलियो बनाएको छ । साथै, अर्काे वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने गणितीय सम्भावनालाई पनि जीवितै राखेको छ । 

दोस्रो चरणको छनोटको समूह बीमा रहेको नेपालले चाइनिज ताइपेईलाई पराजित गरेपछि ६ खेलबाट ६ अंक पुर्‍याएको छ । चार खेलबाट १२ अंक बटुलेको अस्टे«लिया शीर्ष स्थानमा छ भने समान पाँच खेलबाट समान १०–१० अंक बटुलेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

दोस्रो चरणको जारी छनोट खेलको आठमध्ये आठै समूहको शीर्ष एक–एक टोली र आठै समूहको दोस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चार टोली कतार विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने व्यवस्था छ । नेपाललाई त्यसका लागि आफ्नो बाँकी दुईमध्ये दुवै खेलमा जितको नतिजाले मात्रै पुग्ने छैन, आफूभन्दा माथि रहेका टोलीहरूको नतिजामा पनि निर्भर पर्नुपर्नेछ ।

विश्वकपको तेस्रो चरणको छनोटमा पुगेका १२ टोली एसियनकप २०२३ का लागि पनि स्वत छनोट हुने छन् । दोस्रो स्थानका बाँकी चार, तेस्रो स्थानका आठ र चौथो स्थानमा रहेका आठमध्ये उत्कृष्ठ चार टोली एसियनकप ०२३ को तेस्रो चरणको छनोट प्रतियोगितामा पुग्ने छन् । चौथो स्थानमा रहेका बाँकी चार र पाँचौ स्थानका आठ टोलीले भने एसियनकपको तेस्रो चरणको छनोटमा पुग्न प्लेअफ प्रतियोगिता खेल्नुपर्ने छ । आफ्नो समूहको चौथो स्थानमा रहेको नेपालको एसियनकपका लागि तेस्रो चरणको छनोट प्रतियोगितामा सिधै छनोट हुने सम्भावना रहेको छ । त्यो अवसर नपाए नेपालले प्लेअफ खेल्ने छ ।

नेपालले अब २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियासँगको प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । नेपालले यी कुवेतसँगको दुईसहित जोर्डन र अस्टे«लियासँग यसअघि खेलेको एक–एक खेलमा पराजय व्यहोरेको छ । प्रतियोगितामा नेपालले चाइनिज ताइपेईलाई मात्रै पराजित गरेको हो । 

यसै प्रतियोगिताअन्तर्गत झन्डै दुई वर्षअघि उसकै मैदानमा भएको पहिलो लेगको खेलमा पनि नेपालले चाइनिज ताइपेईलाई २–० गोलले नै पराजित गरेको थियो । उक्त खेलमा दुवै गोल अञ्जन विष्टले गरेका थिए । यसपटक पनि नेपालका लागि पहिलो खेल उनै अञ्जनले पेनाल्टीमार्फत गरे । 

तीन मिनेटमै नेपाललाई पेनाल्टीको अवसर
नेपालले खेलको तेस्रो मिनेटमै पेनाल्टी अवसर पाएको थियो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकलाई क्लियर गर्ने प्रयासमा चाइनिज ताइपेईका चेङ हाओले आफ्नो बक्सभित्र हातले छोएका थिए । त्यसमै दक्षिण कोरियाली रेफ्री वु सुङ किमले नेपाललाई पेनाल्टीको अवसर दिएका थिए । 

उक्त अवसरमा अञ्जनले गोल गर्दै नेपाललाई १–० ले अघि बढाए । खेलको पहिलो हाफमा नेपाल एक गोलले अघि रह्यो । नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरे । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुगले खेलको ८०औँ मिनेटमा टोलीलाई २–० ले अघि बढाएका थिए । अञ्जनसँग वान टच पास खेलेका सुमन अर्यालले क्रस गरेको बललाई नवयुगले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए ।

खेलको पूरा समय चाइनिज ताइपेईलाई दबाबमा राखेको नेपालले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा जितको अन्तर बढाउन भने सकेन । खेलको १९औँ मिनेटमा नेपालले एउटा उत्कृष्ट अवसर पाएको थियो । 

रोहित चन्दले आफ्नो क्षेत्रबाट चाइनिज ताइपेईका सबै रक्षक बिट हुने गरी दिएको बललाई अञ्जनले भेटेका थिए । यद्यपि, उनलाई रेफ्रीले अफसाइड देखाइदिए । यस्तै, खेलको ८०औँ मिनेटमा नवयुगले गोल गर्नुभन्दा केहीअघि मात्रै मनीष डाँगीको डी बक्स लाइनभित्रबाट गरेको एउटा चलाखीपूर्ण प्रहार गोल पोस्टको निक्कै नजिकबाट बाहिरिएको थियो ।

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत शनिबार इराकविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा मैदानमा उतारेको टोलीबाट दुई खेलाडी परिवर्तन गरेका थिए । इराकविरुद्ध पहिलो रोजाइमा खेलेका नवयुग र मनीषले चाइनिज ताइपेईविरुद्ध दोस्रो हाफमा मात्रै अवसर पाएका थिए ।