१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ २१ शुक्रबार ०५:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालसहित दक्षिण  एसिया र दक्षिण–पूर्वी एसियाका १८ देशलाई ७० लाख खोप दिने अमेरिकी घोषणा 

Read Time : > 2 मिनेट
२०७८ जेठ २१ शुक्रबार ०५:०९:००

जस लिने प्रतिस्पर्धामा राष्ट्रपतिको सचिवालयबाट उत्ताउलो सूचना प्रवाह

अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देश छन् । 

तेस्रो विश्वका विपन्न देशहरूका लागि खोप संकलन गर्न विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गत वर्षको अप्रिलमा नै ‘कोभ्याक्स’ कार्यक्रम सुरु भएको थियो । खोपको यो बास्केटमा भ्याक्सिन उत्पादक सम्पन्न देशहरूले खोप अनुदान दिँदै आएका छन् । सोही कार्यक्रमअन्तर्गत अमेरिकाले दक्षिण एसिया र दक्षिण–पूर्व एसियाका देशहरूका लागि ७० लाख डोज खोप दिने घोषणा गरेको हो । 

दक्षिण एसियामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान छन् । त्यस्तै, दक्षिण–पूर्वी एसियामा मलेसिया, थाइल्यान्ड, म्यान्मार, सिंगापुर, इन्डोनेसिया, पूर्वी टिमोर, भियतनाम, कम्बोडिया, लाओस, फिलिपिन्स र ब्रुनाई छन् ।  

राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत ७० लाख खोप अनुदान दिने घोषणा गरेका हुन् । उनले जुन महिनाको अन्तिम (असार १५)सम्म खोप उपलब्ध गराइसक्नेसमेत घोषणा गरेका छन् । कोरोना नियन्त्रणका लागि अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नेसमेत उनले बताएका छन् ।  

‘हामी संसारको जहाँसुकै कोभिड महामारी अन्त्य गर्ने प्रयासमा प्रतिबद्ध छौँ । विश्वको कुनै पनि ठाउँमा यो रहेसम्म अमेरिकी जनता जोखिममा नै हुनेछन्,’ अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन् । उनले अमेरिकामा जस्तै खोप कार्यक्रम विश्वभर तीव्र बनाउन काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

कोभ्याक्सप्रति अमेरिकी प्रतिबद्धताअनुसार खोप घोषणा हुँदा भने नेपालमा राज्यस्तरबाट उत्ताउलो प्रतिक्रिया आएको छ । अपरिपक्व प्रतिक्रियाको लहर राष्ट्रपति कार्यालयबाटै सुरु भएको थियो । ‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड– १९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले ट्विट गरेका थिए ।

उनको यो ट्विटका आधारमा ‘अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने’ शीर्षकमा समाचार भाइरल भएका थिए । तर, सत्य–तथ्य सार्वजनिक भएपछि उनले सो ट्विट डिलिट गरेका थिए । दिनेले भन्दा लिनेले जस पाउन हतार गर्दा पटक–पटक यस्ता गलत सूचना सार्वजनिक हुने भएका छन् । 

खासमा १८ देशका लागि घोषणा भएको ७० लाख डोज खोपमध्येबाट नेपालले कति खोप पाउँछ भन्नेबारे औपचारिक जानकारी आइनसकेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । 

अमेरिकाले संसारभर खोप सहयोग गरिरहेको छ । उसले ४० लाख डोज खोप यसअघि क्यानडा र मेक्सिकोलाई उपलब्ध गराइसकेको छ । अब अमेरिकाले आठ करोड डोज खोप अनुदानमा दिनेछ । अमेरिकाले सुरुमा दुई करोड ५० लाख डोज अति जोखिममा रहेका मुलुकलाई दिने पनि बाइडेनले भनेका छन् । अफ्रिकाका लागि ५० लाख खोप दिने बाइडेनले घोषणा गरेका छन् । कोभ्याक्सअन्तर्गत अमेरिकाले ६० लाख डोज ल्याटिन अमेरिका र क्यारेबियन मुलुकलाई दिनेछ । 

विश्व स्वास्थ्य संगठनले भन्यो– नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन

डा. राजेश साम्भाजीराव पाण्डव, डब्लुएचओ नेपाल प्रमुख

बेलायतको पत्रिका डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै समाचार प्रकाशित गरेकोमा नेपाल सरकारले आपत्ति प्रकट गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा कोभिडको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको बताए । ‘अहिलेसम्म नेपालमा नयाँ भेरियन्ट देखिएको छैन,’ उनले भने, ‘बुधबारसम्म बेलायतले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन ।’ पौडेलका अनुसार नेपालबाट विदेश गएका नेपालीहरूको कोभिड परीक्षण विभिन्न देशमा भइरहेको छ । तर, कुनै पनि देशमा नयाँ भेरिएन्ट देखिएको जानकारी नआएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि नेपालमा कुनै नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको बताएको छ । डब्लुएचओको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियन्ट फेला परेकोबारे ‘अवगत नभएको’ जनाएको हो । ‘नेपालमा सार्स कोभिड–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा हो,’ डब्लुएचओ नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले नयाँ पत्रिकासँग भने ।

नेपालले भारतस्थित प्रयोगशालामा गराएको जीन सिक्वन्सिङको पछिल्लो नतिजा ४ जेठमा सार्वजनिक गरेको थियो । त्यसैबाट भारतमा देखिएका डेल्टा तथा काप्पा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । 

डेली मेलको समाचारमा लेखिएको छ, ‘नेपालको नयाँ भेरियन्ट युरोपमा पनि फैलिसकेको छ । यसले बेलायतको बिदालाई असर पारको छ । यो भाइरसमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशंका छ ।’