१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०९:३९:००
Read Time : > 4 मिनेट
सेयर बजार

०.६५ प्रतिशत घट्यो नेप्से

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार ०९:३९:००

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशत घटेर बन्द भएको छ । बजार लामो समयदेखि नै सुस्त रहेको छ । वित्तीय संस्थाहरूको चर्को ब्याजदरका कारण लगानीकर्ताहरू मारमा परेका छन् । केही लगानीकर्ताहरूले सेयर बिक्री गरी बजारबाट बाहिरिसकेका छन् भने केही लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीति अपनाएर बसेका छन् । बजारको दिशा अन्योल भएका कारण अधिकांश लगानीकर्ताहरूले कारोबार गर्न नचाहेको एक ब्रोकरले बताए । ब्याजदर नघटेसम्म बजारले गति नलिने उनको भनाइ छ ।

केही लगानीकर्ताहरू भने बजार घटेको मौकामा राम्रा कम्पनीहरूको सेयर सस्तोमा खरिद गरिरहेका छन् । बियरिस बजारमा अल्पकालीन लगानीकर्ताले खासै नाफा कमाउन नसके पनि दीर्घकालीन लगानीकर्ताहरूका लागि यो सेयर खरिद गर्ने राम्रा अवसर रहेको एक लगानीकर्ताले बताए । तर, सेयर खरिद गर्नुअघि कम्पनीको विश्लेषण गर्न उनले सुझाएका छन् ।

 बजार सारांश
सोमबार नेप्से परिसूचक ७ दशमलव २१ अंक घटेर १ हजार १ सय २ दशमलव ५१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ८ अंक घटेर २ सय ३४ दशमलव ३६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४९ अंक घटेको छ । यस दिन १ सय ६१ कम्पनीको ५ हजार १ सय ४७ पटकको कारोबारमा २३ करोड ४५ लाख ९४ हजार ३ सय ८१ रुपैयाँबराबरको ८ लाख ७६ हजार २ सय ८ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई अघिल्लो कारोबार दिनको तुलनामा घटेर २० दशमलव २६ स्केलमा पुगेको छ । बजार घटेसँगै ओभरसोल्ड जोनमा पुगेको यस आरएसआईले बजारमा सेयर खरिद चापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ३६ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ६१ कम्पनीमध्ये ३७ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय १ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा, आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार ९८ दशमलव ९८ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार ९५ दशमलव ४५ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आइतबार बजार उकालो लागे नेप्सेले १ हजार १ सय ८ दशमलव ६८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय १४ दशमलव ८५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

नबिलको सर्वाधिक कारोबार
सोमबार करोबार रकमका आधारमा नबिल बैंकको साधारण सेयर र संस्थापक सेयर अगाडि रहेको छ । यस दिन सो बैंकको २ करोड ४३ लाख ९२ हजार ५ सय ६४ रुपैयाँबराबरको संस्थापक सेयर खरिदविक्री भएको छ भने २ करोड ३३ लाख ६३ हजार २ सय १२ रुपैयाँबराबरको सर्वसाधारण सेयर खरिदबिक्री भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्न फागुन १४ गते बुक क्लोज गर्ने भएको छ । सोहीकारण यस बैंकप्रति लगानीकर्ताको आकर्षण बढेको हो । सेयर संख्या र कारोबार संख्याका आधारमा यस दिन अपर तामाकोसी अगाडि रहेको छ । सो कम्पनीको यस दिन ७ सय १५ पटकको कारोबारमा ५१ हजार ८ सय ६२ कित्ता सेयर किनबेच भएको छ । 
चौतारीको सेयरमूल्य १० प्रतिशत बढ्यो 
यस दिन पनि चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशत बढेर सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ४१ रुपैयाँ बढेर ४ सय ५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिमालयन डिस्टिलरी र नबिल बैंकको संस्थापक सेयरको मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य यस दिन ९ प्रतिशत घटेको छ । त्यसैगरी, घलेम्दी हाइड्रोको सेयरमूल्य यस दिन ६ दशमलव ६६ प्रतिशत घटेको छ । 

 ९ समूहको घट्यो, २ समूहको बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ९ समूहको परिसूचक घटेको छ भने बाँकी २ समूहको परिसूचक बढेको छ । यस दिन होटेल समूहको परिसूचक शून्य दशमलव ५६ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । 

कारोबारमा आएको व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ९१ प्रतिशत घटेको छ । त्यसैगरी, अन्य समूहको परिसूचक १ दशमलव ३७ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ११ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ८७ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ७९ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४९ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३५ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव २४ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ । 

पाँचथरको आइपिओ
पाँचथर पावर कम्पनी लिमिटेडले फागुन १३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १७ लाख ५० हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । निष्कासन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा चैत १२ गते हुनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्तासहित सो सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १६ लाख २७ हजार ७ सय ३३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम ९ हजार ६ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल, पाँचथर पावर कम्पनी र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई केयर रेटिंग्स नेपालले ‘केयरएनपी आइपिओ ग्रेड फोर’ रेटिङ प्रदान गरेको छ ।

यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । कम्पनीको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार ५ सय १६ रुपैयाँ रहेको छ । त्यसैगरी, कुल लागत २ अर्ब ६१ करोड ४७ लाख ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीको अनुमति पत्र बहाल अवधि २९ वर्ष रहनेछ । कम्पनीको साधारण लगानी फिर्ता अवधि ८ दशमलव ९४ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ११ दशमलव ९९ वर्ष रहेको छ । 

नबिलको साधारणसभा
नबिल बैंक लिमिटेडले फागुन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ३४औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सो सभामा १२ प्रतिशत बोनस सेयर, २२ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) वितरण गर्ने, १० प्रतिशत संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले फागुन १४ गते बुक क्लोज गर्ने भएको छ ।

युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा
युनाइटेड इन्स्योरेन्सले फागुन १६ गते कार्की बैंक्वेट प्रालि, बबरमहलमा विशेष साधारणसभा आयोजना गर्ने भएको छ । सभामा २ सय ४० प्रतिशत अर्थात् १ बराबर २ दशमलव ४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, पुँजी संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।