मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार ०९:२९:००
Read Time : > 1 मिनेट
विश्व

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण ७ मंगलबार ०९:२९:००

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमान अल साउदको पाकिस्तान भ्रमणका क्रममा सोमबार सो लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सहमतिअनुसार आठ अर्ब डलर रकम बन्दरगाह सहर ग्वादारको खनिज तेल प्रशोधन केन्द्रमा लगानी गरिनेछ । साउदी र पाकिस्तानी पक्षहरूले ऊर्जा, पेट्रोलियम र खनिज क्षेत्रसँग सम्बन्धित विभिन्न सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबियाले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि युवराज सलमान सरकारप्रति आभार प्रकट गरे । उनले भने, ‘पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्ध अझ नयाँ उचाइमा पुगेको छ ।’ खानले प्रधानमन्त्री भएपछि यसअघि दुईपटक साउदी अरेबियाको भ्रमण गरिसकेका छन् । 

पाकिस्तानको भारतसँग सम्बन्ध बिग्रिरहेका वेला युवराजको भ्रमण भएको छ । साउदी पत्रकार जमाल खसोगीको हत्यापछि आलोचित बनेका सलमानको पाकिस्तानमा भव्य स्वागत भएको थियो । सलमानलाई इस्लामाबादनजिकैको सैनिक अड्डामा पुग्दा २१ तोपको सलामी दिइएको थियो । सलमानलाई प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले स्वागत गरेका थिए ।

सलमानका १ हजार प्रतिनिधिका लागि इस्लामावादमा दर्जनाँै पाँचतारे होटेलका कोठा अग्रिम रूपमै बुक गरिएका थिए । भ्रमणका क्रममा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बसेका छन् । प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन ।

पाकिस्तान अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ । केन्द्रीय बैंकसँग विदेशी मुद्रा सञ्चयअन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ । गत अगस्टमा शपथ लिएयता पूर्वक्रिकेटर इमरान खानले मित्रराष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयास गरिरहेका छन् । यसअघि आबुधाबीका युवराज मोहम्मद बिन जायद अल नयानले पाकिस्तानको भ्रमण गरेका थिए ।

पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर संकट व्यहोर्दै आएको छ । पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन सो सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ ।

साउदी युवराज मंगलबार भारत जाँदै छन् । युवराज सलमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गर्नेछन् । भारत भ्रमणपछि उनी चीनको दुईदिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नेछन् ।