मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सासा फिसर
२०७५ फाल्गुण ७ मंगलबार ०९:३१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

निर्वाचन र आन्दोलनभन्दा परको लोकतन्त्र

सरकारप्रति नागरिकको बढ्दो अविश्वासले अधिनायकवादी, तर ‘पपुलिस्ट’ आन्दोलनको आधार बनेको छ

Read Time : > 2 मिनेट
सासा फिसर
२०७५ फाल्गुण ७ मंगलबार ०९:३१:००

दशकयता हामी धेरै निर्वाचन र थोरै प्रजातन्त्रको साक्षी बनेका छौँ । ब्लुमबर्गका अनुसार संसारभर निर्वाचन हुने क्रम पछिल्लो समय बढिरहेको छ । यद्यपि, फ्रिडम हाउसको अध्ययनले विगत १३ वर्षयता विश्वका १ सय १० देशमा राजनीतिक तथा नागरिक अधिकार खुम्चिएको तथ्य सार्वजनिक गरेको छ । प्रजातन्त्रमा ह्रास आएसँगै सोही अनुपातमा सामुदायिक चेत पनि खस्किएको छ । अमेरिकामा बढ्दो एक्लोपनको महामारी तथा नागरिक संस्थाको विलय हुँदै जानुलाई यस्तो स्थितिको उदाहरणका रूपमा हेर्न सकिन्छ । यस्तो प्रवृत्ति विश्वव्यापी भएता पनि अमेरिकाको स्थिति भने झनै भयावह छ । 

यो स्थिति आउनु कुनै संयोग होइन । फ्रेन्च राजनीतिज्ञ तथा सिद्धान्तविद् अलेक्स डी टोक्विभिलीले सन् १८३० को दशकमै औँल्याएका थिए । उनका अनुसार अमेरिका बनाउने संस्थापक नेताहरूले साझा मूल्य–मान्यताबाट शासित राज्यभन्दा निहित स्वार्थबाट शासित अमेरिकाको परिकल्पना गरे । त्यही परिकल्पनाअनुसार अमेरिकी राजनीतिक तथा सामाजिक संस्थालाई परिभाषित गर्दै अति व्यक्तिवादी समाजलाई प्रोत्साहन गरियो । 

केही वर्षअघि ‘स्पार्क माइक्रोग्रान्ट्स’लाई विस्तार गर्न दक्षिण अफ्रिका पुगेकी थिएँ । रुवान्डाको एउटा गाउँका झन्डै ५० जना स्थानीयवासीसँग ‘एमआइटी’ अध्ययन गर्ने अमेरिकी विद्यार्थीको समूहले भेटघाट गरिरहेको मैले देखेँ । रुवान्डा सरकारले आफ्नो गाउँसम्म विद्युतीय लाइन विस्तार गरिदियोस् भन्ने अपेक्षा ती स्थानीयले गरेका रहेछन् । तर, सरकारप्रति स्थानीयवासीको अपेक्षा सुनेपछि समूहका एक अमेरिकी विद्यार्थीले सरकारको भर नपर्न सुझाए ।

आफ्नो गाउँसम्मको विद्युतीय लाइन विस्तार गर्न स्थानीयवासी आफैँले रकम जुटाउनुपर्ने सल्लाह दिए । ती विद्यार्थीले व्यक्तिविशेषको क्रय शक्तिमा आधारित निजीकरण तथा पहुँचमा आधारित अमेरिकी धारणाको वकालत गरिरहेका थिए । यस अमेरिकी धारणाले एकातर्फ सामूहिक तथा नागरिक सहभागितालाई विच्छेद गरिदिन्छ भने अर्कोतर्फ राजनीतिक विश्वासलाई अवमूल्यन गर्छ । प्यु रिसर्च सेन्टरले सन् १९५८ देखि २०१७ सम्म आइपुग्दा सरकारप्रतिको अमेरिकी नागरिकको विश्वास ५५ प्रतिशतले गिरावट आएको देखाएको छ । यही अवधिमा नागरिक सहभागितामा समेत व्यापक कमी आएको छ । 

सरकारप्रति नागरिकको बढ्दो अविश्वासले अधिनायकवादी ‘पपुलिस्ट’ आन्दोलनको आधार बनेको छ । नागरिकले व्यक्तिवादी आर्थिक सुरक्षाको माग गरिरहेका छन् । उनीहरू एकलकाँटे मानसिकतामा फर्किरहेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन दौरानका क्रममा बर्नी स्यान्डर्स र डोनाल्ड ट्रम्पले राज्यको प्रणालीबाट वाक्क भएका मतदातालाई साझा संगठन बनाउन अपिल गरे । तर, अमेरिकामा रहेका दोस्रो र तेस्रो पुस्ताका आप्रवासीहरू नयाँ आप्रवासीविरुद्ध उत्रिए । अर्कोतर्फ, जर्मनीदेखि ब्राजिलसम्मका मतदाताले दक्षिणपन्थी पपुलिस्ट पार्टीतर्फ झुकाव राखेका छन् । उनीहरूको झुकाव उम्मेदवारप्रतिको मायाले नभई आफ्नो शक्ति तथा हैसियत गुम्न सक्ने त्रासले हो । 

अहिले राजनीतिक अभियान तथा नीतिगत मुद्दाजस्ता विशेष अवसरमा मात्र मानिसहरूको सहभागिता देखिन्छ । निर्वाचन वा कुनै आन्दोलनमा मात्रै जनसहभागिता देखिन्छ । तर, कतिपय गम्भीर मुद्दामा नागरिकको सहभागिता देखिन्न । छोटो अवधिसम्म सहभागिता हुने र पन्छिने गरेको देखिन्छ । उदाहरणका लागि अमेरिकामा गोलीकाण्डबाट मानिसको ज्यान गएपछि बन्दुक नियन्त्रण गर्ने कानुनको माग गर्दै प्रदर्शन गरियो । तर, केही समयपछि नै ‘नेसनल राइफल एसोसिएसन’ले नागरिकको सहभागितालाई अन्तै मोडिदियो । 

प्रभावकारी नागरिक सहभागिता र समाज परिवर्तनका लागि नयाँ संस्थाको खाँचो छ । व्यक्तिवादी संस्कारबाट पश्चिमा विश्व गुज्रिरहँदा तेस्रो विश्वमा उदाहरणीय शासन तथा आर्थिक अन्वेषणहरू देखिएका छन् । उदाहणका लागि रुवान्डा सरकारले समुदाय र साझा जवाफदेहिताप्रति नागरिकको सचेतना बलियो बनाउन ग्रामीणस्तर केन्द्रित नीतिहरू लागू गरेका छन् । स्थानीयवासी हातेमालो गरेर काम गरिरहेका छन् । सडकको स्तरोन्नति, परिष्कृत कृषि अभ्यास र कृषि उपकरणको खरिदका लागि लगानी जम्मा गर्ने काम पनि उनीहरूले गरेका छन् । कल्पना गरौँ, यस्तै प्रयोजनका लागि ३० करोड अमेरिकी हरेक महिना यसरी भेला हुने हो भने के हुन्थ्यो होला ? 

गणतन्त्र कंगोमा पनि यस्तै अभ्यास देख्न सकिन्छ । गाउँका बचत तथा ऋण संगठनले समुदायमा प्रभावकारी काम गरिरहेका छन् । यस्तो संगठनका सदस्यले सानो व्यवसाय सुरु गर्न र वर्षायामका लागि रकम बचत गर्ने अवसर पाउँछन् । संगठनमा हुने क्रियाकलापप्रति सबैको जवाफदेहिता हुन्छ । यसैगरी, हाइटी, लिबिया तथा बुरुन्डीमा समुदायमा आधारित स्वास्थ व्यवस्था प्रभावकारी देखियो । समुदायका स्वास्थ्यकर्मीहरू घर–घरमा पुगेर स्थानीयवासीको स्वास्थ्यस्थितिको हेरचाह गरिरहेका हुन्छन् । 

यदि हामीले प्रजातान्त्रिक सिद्धान्तमा विश्वास गर्ने हो भने नागरिकप्रति सरकार जवाफदेही हुनैपर्छ । यसर्थ, राज्यका हरेक मानिसलाई जवाफदेही बनाउने व्यवस्थाको निर्माण गर्ने कार्यमा हामी जुट्नुपर्छ । निर्वाचन र आन्दोलनभन्दा पर हामी सहभागी हुन जरुरी छ । यसको अर्थ, समुदायकेन्द्रित प्रजातन्त्रको नयाँ युग निर्माणमा हाम्रो ध्यान जान आवश्यक छ । समुदायकेन्द्रित प्रजातन्त्र हासिल गरेर मात्र हामी एक–अर्का र सरकारसँग आबद्ध हुन सक्छौँ । 

लेखक स्पार्क माइक्रोग्रान्टकी संस्थापक हुन् । 
ë Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य