मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २० बिहीबार ०८:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्ता टिकाउन ओलीले फेरि २ जेठको कार्ड फ्याँकेको नेपालको निष्कर्ष

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २० बिहीबार ०८:३१:००

संस्थापन पक्षबाट निष्कासित एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले सरकार टिकाउन मात्र पार्टी संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काउने कार्ड फ्याँकेको आशंका गरेका छन् । दोस्रो तहका नेताहरू एकता जोगाउन संस्थापन पक्षसँगको वार्तामा सक्रिय रहेका वेला बुधबार जनसंगठनका अध्यक्षहरूसँगको भर्चुअल बैठकमा वरिष्ठ नेता नेपालले ओली पार्टी एकता जोगाउन इमानदार नदेखिएकाले सत्ता–संकट टार्नका लागि मात्र त्यस्तो कार्ड फ्याँकेको हुन सक्ने आशंका गरेका हुन् ।

आफूनिकट नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईलाई संस्थापन पक्षका नेताहरूले २ जेठ ०७५ अघिको संरचनामा पार्टीलाई फर्काउन ओली तयार भएको, तर त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको बाहिरिएपछि नेपालले त्यस्तो प्रतिक्रिया जनाएका हुन् । संसद् पुनस्र्थापनाको सम्भावना देखेपछि कुर्सी जोगाउन ओलीले पुनः एकताको कार्ड फ्याँकेको नेपालको आशंका छ । 

आफूलाई संकट परेपछि ओलीले जहिले पनि अलमल्याउने रणनीतिअन्तर्गत अनेकौँ कार्ड फ्याँक्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै नेपालले त्यही कारण वार्ताकार नेताहरूलाई शनिबारभित्र अन्तिम छिनोफानो गर्न निर्देशन दिएको बैठकलाई जानकारी गराएका थिए । 

‘वार्ताका विषयमा जानकारी गराउन घनश्यामजीलगायत साथीहरू आउनुभएको थियो, मैले उहाँहरूलाई जे गर्ने हो शुक्रबारदेखि शनिबारभित्र टुंग्याउनुहोस्, पार लाग्छ कि लाग्दैन प्रस्ट हुनुहोस् भनेको छु,’ नेपालले बैठकलाई जानकारी गराएका थिए । 

नेपालले अहिलेसम्मको व्यवहार हेर्दा पार्टी पुनर्गठन गर्नुको विकल्प नरहेको देखिए पनि अझै पनि ओली सच्चिन तयार रहे पार्टी एकता जोगाउन सकिने आशयसहितको भनाइ राखेका थिए । ‘पार्टी एकता जोगिन्छ कि जोगिँदैन भन्ने ओलीकै गतिविधिमा निर्भर छ,’ नेपालको भनाइ उद्धृत गर्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘तर, ओलीले विश्वासिलो वातावरण बनाउन सकेका छैनन् । खालि सत्ता टिकाउनका लागि मात्र २ जेठको कार्ड फ्याँकेको हो कि भन्ने देखिन्छ ।’ 

बैठकले कम्युनिस्ट आन्दोलनका संस्थापकमध्येका एक नेपाललाई कमजोर बनाएर, एक्ल्याएर वा बाइपास गरेर एकता जोगाउने कुरा दिवासपना मात्र हुने भन्दै विचार समूहलाई तलसम्म एकढिक्का बनाएर रणनीतिक हिसाबले प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ । ‘अहिले प्रधानमन्त्री ओलीकै कारण एकता समाप्तिको दिशातिर जाँदै छ । माधव नेपाललाई कमजोर बनाएर वा अलग्याएर आफू बलियो बन्ने, एकता गर्ने सपना पूरा हुन नदिन विचार समूहलाई तलसम्म एकढिक्का बनाउने र रणनीतिक रूपले जस्ताको तस्तै प्रतिवाद गर्ने बैठकले निष्कर्ष निकालेको छ,’ पराजुलीले भने । 

बैठकमा विभिन्न जनसंगठनका २३ जना अगुवा सहभागी भएका थिए । मंगलबार ओली पक्षले पार्टी विभाजनलाई प्रश्रय दिने गरी नेताहरूमाथिको कारबाही भ्रमपूर्ण तरिकाले पुष्टि गर्न जनसंगठनहरूलाई सामूहिक वक्तव्यबाजी गर्न लगाएकाले प्रतिवादका लागि सामूहिक रूपबाटै काउन्टर वक्तव्यबाजी गर्ने बैठकले निष्कर्ष निकालेको छ । 

संस्थापन पक्षले समूहमा फुट ल्याउन दाउपेच सुरु गरेको निष्कर्षसहित नेपालले मंगलबार स्थायी समिति सदस्यसँग पनि बेग्लै परामर्श गरेका थिए । बिहीबार उनले केन्द्रीय कमिटी सदस्यहरूसँग पनि भर्चुअल बैठक गर्ने तयारी गरेका छन् । उता, नेताहरू भुसाल र भट्टराईले मंगलबार बेलुकी उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेका छन् भने बुधबार भट्टराईले महासचिव ईश्वर पोखरेलसँग एक घन्टा बेग्लै छलफल गरेका छन् ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली पार्टी संरचनालाई पुरानै अवस्थामा फर्काउनका लागि पुरानै स्थायी कमिटीको बैठक राख्ने, यसबीचमा भए–गरेका कामलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने बेहोरा राखी नेपालसँग मिलेर संयुक्त वक्तव्य जारी गर्नेसम्म तयार देखिएका छन् । तर, पार्टी कमिटीलाई पुरानो संरचनामा फर्काउँदा दुवैतर्फ अहिले कायम रहेका कमिटीमध्ये जो सिनियर छ उसलाई माथिल्लो कमिटीमा राख्ने पुरानो प्रस्तावबाट ओली पक्ष पछि हटेको छैन । त्यसमा वार्तामा सक्रिय नेपाल–खनाल समूहका नेताहरू लगभग ‘कन्भिन्स’ भइसके पनि स्वयं नेपाल भने तयार भएका छैनन् । त्यही कारण पनि अहिलेको वार्ता लम्बिएको एक नेताले बताए ।

‘तत्कालीन एमालेको दुई सय ४२ र पछि एकताका क्रममा पूर्वमाओवादीबाट थपिएका २३ जनासहितको दुई सय ६५ सदस्यीय कमिटी ब्युँताउने, तत्कालीन एमालेको स्थायी कमिटी बैठक राखेर अघि बढ्ने, तल्ला कमिटी र जनसंगठनमा २ जेठअघिकै संरचना फर्काउने सहमति धेरै पहिल्यै भइसकेको हो,’ वार्ताकार नेताहरूसँग नजिक एक नेताले भने, ‘त्यसमा खालि संस्थापन पक्षले पुरानो कमिटी ब्युँताउँदा अहिले दुवैतिर रहेका समानान्तर कमिटीको प्रमुखमध्ये जो सिनियर छ, उसलाई माथिल्लो कमिटीमा व्यवस्थापन गरेर मिलाउनुपर्छ भन्ने उहाँहरूको जोड छ, अहिलेको जोड–कोण त्यहीँ नमिल्दा वरिष्ठ नेता नेपालले समर्पण नगरिने र अलमल्याउन खोजेको बताइरहनुभएको छ भने उताबाट देउवालाई गरिएको समर्थनको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त नयाँ प्रस्तावका रूपमा आएको छ ।’ 

त्यसो त वार्तामा सक्रिय नेताहरूले सबैजसो कुरा मिलिसके पनि प्रधानमन्त्री ओली र नेपालबीच इगो र चरम अविश्वासकै कारण नै अहिले एकता जोगाउन अन्तिमसम्म गरिएका दौडधुपले परिणाम निकाल्न नसकेको बताउँदै आएका छन् । उता, प्रधानमन्त्री ओलीको सल्लाहकार समूह र निकट नेताहरूले नेपालले आन्तरिक छलफल र बैठकहरूमा मिलेर जान नसकिने र नयाँ पार्टी बनाइने प्रस्ट आशयसहित अबको निर्वाचनमा आत्मविश्वासका साथ कांग्रेससँग गठबन्धन गरिने र एमालेलाई हराइनेजस्ता आत्मघाती कुराहरू गरिरहेको भन्दै रिपोर्टिङ गरिरहेकाले पनि ओली–नेपालबीच संवाद क्षीण बनेको बताइन्छ । उता, संस्थापन पक्षले दुवै पक्षबीच केही दिनयता चल्दै आएको वार्ता निष्कर्षमा नपुगेको कारण जनाएर बुधबार बोलाएको स्थायी कमिटी बैठक बिहीबार साँझका लागि सारेको छ ।