१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रकाश धौलाकोटी
२०७५ फाल्गुण ७ मंगलबार ०८:५९:००
Read Time : > 4 मिनेट
फिचर

बिपीका सहयात्री  राजनीतिमा  अझै सक्रिय

Read Time : > 4 मिनेट
प्रकाश धौलाकोटी
२०७५ फाल्गुण ७ मंगलबार ०८:५९:००

भारतमा ‘स्वतन्त्रता संग्राम’ र ‘भारत छोडो आन्दोलन’का कारण ब्रिटिस उपनिवेश हटेपछि नेपालमा पनि स्वतन्त्रताको आन्दोलन सुरु भयो । १०४ वर्षे हुकुमी राणा शासन अन्त्यका लागि ००७ सालको क्रान्तिको नेतृत्व नेपाली कांग्रेस पार्टी र तत्कालीन नेता विश्वेश्वरप्रसाद (बिपी) कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलगायतले गरे । त्यही जनक्रान्तिमा नागरिक स्वतन्त्रताका निमित्त लड्ने थुप्रै योद्धामध्येका एक हुन्, तेह्रथुमका तेजमान तुम्बाहाम्फे । 

तेजमान तुम्बाहाम्फे, कांग्रेस नेता

००६ सालमा कांग्रेसमा आबद्ध भएका उनले बिपीको निकटमा रहेर ००७ सालको जनक्रान्तिमा पूर्वका आदिवासी जनजातिको नेतृत्व गरे । कांग्रेसकै संगठन र नीतिमा बाँधिएर उनी ०१५ सालको प्रत्यक्ष निर्वाचनमा निर्वाचन क्षेत्र नं. २६ (तेह्रथुम) बाट विजयी भए । तत्कालीन ३३ जिल्ला रहेको देशभर कुल १०९ वटा निर्वाचन क्षेत्र तोकिएका थिए ।  राजा महेन्द्रले ०१७ सालमा ‘कु’ गरेर संसद् विघटन भएपछि राजनीतिक दललाई प्रतिबन्ध लगाइयो । त्यो वेला तुम्बाहाम्फेले एक वर्ष निर्वासित जीवन बिताए । पछि पारिवारिक कारण उनी स्वदेश फर्किए । ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो । दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यपछि ०६२÷६३ को जनआन्दोलनमा समेत उनले जिल्लावासीको नेतृत्व गरे । अहिले पनि उनी राजनीति र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय छन् । 

 जिल्लाकै अभिभावक
वि.सं. १९८४ फागुन ६ गते जन्मिएका ९४ वर्षीय तुम्बाहाम्फे तेह्रथुमबाट पहिलो निर्वाचित जनप्रतिनिधि हुन् । ०१५ सालको निर्वाचनमा १०९ मध्ये कांग्रेसले ७४ सिट जितेको थियो । त्यतिवेला उनी ३१ वर्षका थिए । कम उमेरमै जिल्लावासीको बलियो साथ पाएका उनी बिपी, मातृका, सुवर्ण शमशेरहरूको सहयात्री मात्रै बनेनन्, सधैँ जिल्लाकै अभिभावकका रूपमा रहे । 

उनलाई जिल्लाले मात्रै अभिभावक मान्दैन, देश–विदेशबाट तेह्रथुम पुग्ने जो–कोहीले पनि उनको निवास टेक्छन्, र आशीर्वाद लिन्छन् । उनलाई कांग्रेस मात्रै होइन, फरक पार्टी र राजनीतिक पृष्ठभूमिकाले समेत उत्तिकै सम्मान गर्छन् ।  पाको उमेरमा पनि तुम्बाहाम्फेको दैनिकी पेचिलो छ । सदरमुकाम म्याङलुङ बजारको टुँडिखेलनजिकै उनको निवास छ । हिँडेरै बजार ओहोरदोहोर गर्ने उनी हरेक बिहान ८ बजे सिंहवाहिनी भगवतीको दर्शन गर्छन् । जिल्लामा हुने अधिकांश कार्यक्रममा उनको उपस्थिति रहन्छ । देशको समसामयिक राजनीति र जिल्लाको विकासमा उनी सधैँ चिन्तित छन् । आफूकहाँ आउने सबैलाई उनले देशको विकासमा प्रोत्साहित गर्ने गर्दछन् । 

 बाबुको अवरोधका बीच कांग्रेसमा
तुम्बाहाम्फेका बुबा मच्छिन्द्रबहादुर तत्कालीन सरकारका सुब्बा (जिम्मावाल) थिए । तत्कालीन राणा सरकारका विरुद्धमा जानु भनेको बुबाका विरुद्ध लड्नु थियो, उनका लागि । बाबुको अवरोधका बीच उनी ००६ सालमा कांग्रेस प्रवेश गरे । र, ००७ सालको परिवर्तनको नेतृत्वमा लागे । ००७ देखि ०१५ सालसम्म निरन्तर नेपाली कांग्रेसको जिल्ला सभापति भएका तुम्बाहाम्फे सुवर्ण शमशेरको कार्यसमितिमा पनि थिए । सुवर्ण शमशेरले आफ्नो कार्यसमितिमा १८ जना सदस्य मनोनीत गर्दा तुम्बाहाम्फे पनि मनोनीत भएका थिए । उनी सम्झिन्छन्, ‘त्यसवेला सुवर्णसँगै बिपी, मातृकाप्रसाद र गणेशमान सिंहहरूसँग राम्रो सम्बन्ध बनाएको थिएँ ।’ 

 सेनामा भर्ती हुन बिपीको सुझाब
बिपीसँगको पहिलो भेट उनलाई याद छैन । तर, निरन्तर भेटघाट भइरहने गरेको उनी बताउँछन् । ‘बिपीसँगको पहिलो भेट त मलाई याद छैन । तर, त्यतिवेला एकपटक बिपीले मलाई सेनामा भर्ती हुन सुझाब दिएका थिए । तर, मैले लोकको सेवामा रमाउने जवाफ दिएको थिएँ,’ उनले भने । 

तुम्बाहाम्फे अहिले पनि पार्टीको गतिविधिमा सहभागी बन्छन् । उनको उपस्थिति जिल्लाको कांग्रेस पंक्तिले निरन्तर खोजिरहेको हुन्छ । उनी जिल्लाको पार्टी कार्यालयमा दैनिक उपस्थित हुन्छन्, र कमसेकम एक घन्टा बिताउँछन् । पार्टीका नेता कार्यकर्तासँग निरन्तर छलफल गरिरहन्छन् ।  विगतमा कांग्रेसमा लागेपछि गरेका घटना सम्झँदै उनी भन्छन्, ‘कांग्रेसले ००७ साल कात्तिक २४ गते वीरगन्जमा हमला गर्‍यो र बडाहाकिमलाई नियन्त्रणमा लियो । तत्कालीन शासकहरूलाई रोक्न मेरो नेतृत्वमा १५० जना जनसेनाको जत्था मूलघाट (धनकुटा)मा खटिएको थियो । त्यसको चार महिना नबित्दै कांग्रेस, राणा र राजा त्रिभुवनबीच दिल्लीमा सहमति भएर ७ फागुनमा प्रजातन्त्र उदय भयो ।’  आफ्ना पालामा अधिकांश लिम्बू समुदाय लाहुर लाग्ने गरेको सम्झिँदै उनी भन्छन्, ‘मलाई पनि सेनामा भत्र्ती हुन भनिएको थियो, बाबुको चाहना पनि त्यही थियो, तर सर्वसाधारण जनताको भावना बुझ्दा राजनीतिमै निरन्तर भएँ ।’ उनले देश र जनताले चाहेजस्तो नेता जन्मिए मात्र अहिले चर्चामा रहेजस्तो विकास र समृद्धि सम्भव हुने बताउँछन् । 

 मन्त्री बनाउने आश्वासन
सेनामा लाइदिने प्रस्ताव अस्वीकार गरेपछि बिपीले उनलाई राजनीतिमै सक्रिय हुन सुझाब दिएछन् । कांग्रेसकै तर्फबाट उनलाई ०१५ को प्रत्यक्ष निर्वाचनमा टिकट मिलेको थियो । कांग्रेसले जितेका सिटमा उनीभन्दा सिनियर आदिवासी जनजाति समुदायकै प्रेमराज आङ्देम्बे पनि थिए । बिपीले आफ्नो मन्त्रिमण्डलमा प्रेमराजलाई मन्त्री बनाए । उनी भन्छन्, ‘बिपीले मलाई तिम्रो उमेर छ, अर्कोपटक मन्त्रिमण्डल विस्तार गर्दा तिमीलाई मन्त्री बनाउँछु भन्नुभएको थियो ।’ तर, बिपीले दिएको आश्वासन पूरा नहुँदै पञ्चायती व्यवस्था लागू भयो । त्यसकारण उनी मन्त्री बन्न पाएनन् । त्यतिवेला कांग्रेसले १८ महिना सरकार चलायो ।

जिल्लाका लागि योगदान
जिल्लाबाट पहिलो जननिर्वाचित सांसद बनेका तुम्बाहाम्फेले मन्त्री नभए पनि जिल्लाका लागि थुप्रै काम गरे । आफूले सयौँ युवालाई सरकारी जागिर खुवाएको उनी सम्झन्छन् । छिटफुट खुल्न थालेका स्कुलको संख्या बढाउन र व्यवस्थापनमा पनि उनले सहयोग गरेका थिए । आफू सांसद हुँदा म्याङलुङको सिंहबाहिनी मावि, चुहानडाँडाको स्कुल र मूलपानी स्कुलका लागि ७ हजार ५ सयका दरले बजेट सहयोग गरेको उनी बताउँछन् । 

उनको अगुवाइमा हालको म्याङलुङ नगरपालिकामा समेटिएका पाँच गाउँ पञ्चायतलाई सिँचित गर्ने गरी पिंगुवा सिँचाइ आयोजनाको खाका तयार भएको थियो । आयोजना निर्माणले सो क्षेत्रमा फाइदा पुग्ने भन्दै आफूले आयोजना निर्माणका लागि थुप्रै पहल गरेको उनी बताउँछन् । तर, अहिलेसम्म पनि त्यो आयोजना अलपत्र छ । आयोजना निर्माणको काम निरन्तर गर्न ०४२ तिर पुनः पहल भए पनि निरन्तर बजेट उपलब्ध नहुँदा निर्माण हुन सकेको छैन ।  करिब तीन किमि कुलो निर्माण भएको आयोजना पूरा गर्न उनले त्यसयताका सबै जनप्रतिनिधिलाई सुझाब दिँदै आएका छन् । उनले जिल्लामा भूमिसुधारका निम्ति पनि महत्वपूर्ण भूमिका खेलेका थिए । आफू सांसद हुँदा जिल्लामा खानेपानी, सिँचाइ र शिक्षा क्षेत्रमा थुप्रै काम गरेको, तर बढ्यौली दिमागले सबै स्मरण गर्न नसकेको उनी बताउँछन् ।

 कांग्रेसले विश्वास जोगाउन सकेन
००७ सालको परिवर्तनमा कांग्रेसको नेतृत्व सफल भएपछि कांग्रेसमा जनलहर चल्यो । सबैको आशा र भरोसा बढ्यो, कांग्रेसप्रति । उनी भन्छन्, ‘त्यतिवेला कांग्रेस सबैको आवश्यकता बनेको थियो । कांग्रेसबारे नसोची, नबोली कोही रहँदैनथे ।’ कांग्रेसले त्यतिवेला पाएको जनताको विश्वासको निरन्तरता जोगाउन नसकेको गुनासो नेता तुम्बाहाम्फेको छ । उनले ०१५ सालमा निर्वाचन जितेको क्षेत्र अहिले धनकुटा, तेह्रथुम र ताप्लेजुङमा फैलिएको छ ।  उनले तत्कालीन १३ थुमहरूमध्ये फेदाप, आठराई, छथर, मैयाखोला, तमोरखोला, पाँचखपनलगायतको नेतृत्व गर्थे । उनले त्यतिवेला चुनाव जितेको क्षेत्र तेह्रथुम, धनकुटा, ताप्लेजुङ क्षेत्रबाट पछि कांग्रेसलाई चुनाव जित्न सधैँ हम्मे–हम्मे प¥यो । अझ तेह्रथुममा त ०१५ पछि एकैपटक ०६४ मा एकपटक मात्रै कांग्रेसले चुनाव जितेको होे । 

 नेतालाई व्यवहार परिवर्तन गर्न सुझाब
प्रत्यक्ष राजनीतिमा नभए पनि उनी समसामयिक राजनीतिक परिवेश र घटनाक्रमसँग अपडेट छन् । उनलाई राजनीतिक दलका शीर्ष नेताहरू देश र जनताप्रति उत्तरदायी र जवाफदेही नभएको पटक्कै मन परेको छैन । अझ नेताको धेरै बोल्ने तर काम नगर्ने प्रवृत्तिको उनी सधैँ आलोचना गरिरहन्छन् । उनी भन्छन्, ‘पहिले नेताहरूले जे भन्थे, त्यही गर्थे । अहिलेका नेता भन्छन्, तर गर्दैनन् । पहिले नेताहरू सम्माननीय थिए, आदरणीय थिए । अहिले जनताले धेरै गाली गर्छन् । त्यतिवेला नेताले बोलेका कुरा ढुंगाको अक्षरझैँ हुन्थ्यो ।’ नेताहरूलाई व्यवहार परिवर्तन गर्न उनको सुझाब छ । 

 बिपीको सपना संविधानले पूरा गरेको छ
०६२/६३ को जनआन्दोलन र शान्ति सम्झौतापछि संविधान निर्माणको दशकमा उनको भाषणमा एउटै शब्द जोडिन्थ्यो कि ‘राष्ट्रियगानबमोजिमको संविधान बनोस् ।’ नेपालको संविधान–२०७२ जारी भएपछि उनी खुसी छन् । अझ कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकोप्रति उनलाई गर्व छ । भन्छन्, ‘बिपीले चाहेका सपना अहिलेको संविधानले पूरा गरेको छ।’ 

उनको तर्क छ, ‘साँच्चिकै मेचीदेखि महाकालीका सबै वर्ग, तह र तप्का, जातजाति र समुदायको भावना समेटिएको संविधान जारी भएको छ, अब यसको कार्यान्वयन हुनु जरुरी छ ।’ नेपालमा बनेका सातवटा संविधानमध्ये अहिलेको संविधानले सबैको भावना समेटेको उनी बताउँछन् ।