मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १८ मंगलबार १७:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका संक्रमितलाई राख्ने व्यवस्था महानगरले गर्छ : मेयर शाक्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १८ मंगलबार १७:०१:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित बिरामीलाई महानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसन सेन्टरमा बस्न आग्रह गरेका छन् । कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रस्ट (काठमाडौं मोडेल अस्पताल) र हेल्पिङ ह्यान्ड्स अस्पताललाई मंगलबार चार थान आइसियू भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा शाक्यले भने, ‘कोभिड संक्रमण भइहाल्यो र घरमा बस्न समस्या छ भने तपाईंहरू जुन वडामा बस्नुभएको छ, त्यही वडामा सम्पर्क गर्नुहोला, निःशुल्क भोजन र अक्सिजनसहितको आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था हामी गर्छौँ ।’ 

उनले संक्रमण भइहाल्यो भनेर बढी आत्तिने वा उपचार गर्न डराउने अवस्था भयो भने त्यसले थप जटिल बनाउने बताए । उनले आफूलाई संक्रमणको शंका भयो र केही असहज भयो भने तत्काल उपचारको व्यवस्था गर्न पनि आग्रह गरे । ‘हामी सबै मिलेर कोभिडसँगको लडाइँमा विजय प्राप्त गरौँ,’ उनले भने ‘काठमाडौं महानगरपालिकाले कार्यपालिकाको बैठक बसेर कोभिड संक्रमण दरलाई न्यूनीकरण गर्ने र सजगता अपनाउँदा–अपनाउँदै संक्रमण भइहाल्यो भने उपचारका लागि अस्पतालसम्म पुगेपछि सहज उपचारको व्यवस्था होस् भन्ने हेतुले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताए । 

‘महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रिवि शिक्षण अस्पताललाई १०, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच, क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चार, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीन, महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई दुई, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई दुई, जनस्वास्थ्य सरोकार ट्रस्ट (काठमाडौं मोडल अस्पताल)लाई दुई र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई थान भेन्टिलेटर सहयोग गरिसकेका छौँ,’ उनले भने, ‘त्योसँगै सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सर्तसहित क्षेत्रपाटीको निःशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रूपमा रूपान्तरण गरेर सेवा प्रदान गरिरहेका छौँ । एक सय वर्षभन्दा पनि पुरानो अस्पताल नरदेवी आयुर्वेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रूपमा विकास गरेका छौँ ।’ 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पहिलो लहरभन्दा दोस्रो लहरको कोभिडले बढी संक्रमण बढाएको भन्दै तत्काल महानगरपालिका आफैँले अस्पताल खोल्न नसक्ने अवस्था भएकाले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेर अघि बढेको बताइन् । ‘कोभिड निर्मूल पार्न सबै अस्पतालमा अक्सिजनको कमी हुन नदिने र घरघरमा पुगेर खोप लगाउने अभियान चलाउनुपर्छ,’ उनले भनिन् ।