पछिल्लो समय नयाँ लगानीकर्ताको संख्या बढेसँगै मेरो सेयर प्रणालीमा समस्या पनि बढ्दै गएको छ । लामो प्रयास गर्दा पनि लगइन नहुने र भए पनि विवरणहरू अद्यावधिक नहुने, सेयर ट्रान्जेक्सन गर्न घन्टौँ समय लाग्नेजस्ता समस्या केही हप्तादेखि मेरो सेयर प्रणालीमा देखिँदै आएको हो ।
कोभिड–१९ महामारीबीच मेरो सेयर प्रणालीमा अस्वाभाविक चाप बढ्ने र सीमित सफ्टवेयर भएका कारणले पनि मेरो सेयर राम्रोसँग नचल्दा विनागल्ती क्लोज आउटजस्ता समस्या भोग्नुपरेको लगानीकर्ताको गुनासो छ ।
सिस्टममा देखिएको यस किसिमको समस्याका कारण लगानीकर्ता समयमा सूचना पाउनबाट समेत वञ्चित हुन थालेको बताउँछन् । सेयर कारोबार रकम बढेसँगै मेरो सेयरमा समस्या आउनुले भोलिको अवस्थालाई धान्न नसक्ने हो कि भन्ने प्रश्न खडा भएको एक लगानीकर्ताले बताए । उनले भने, ‘अहिले नै यस्तो समस्या देखिन्छ, भोलि बजार बढ्दै जाँदा आउन सक्ने समस्यालाई दिगो सम्बोधन छिटो जरुरी छ ।’
केही महिना साधारण सेयरका लागि आवेदन दिँदा यस्तै खालका समस्या आएको थियो । पटक–पटक लगानीकर्ताबाट गुनासो बढेपछि मेरो सेयरको संस्थापक सिडिएस क्लियरिङ हाउसले सम्बोधन गर्न खोजेको भए पनि क्षमता कम हुुँदा समस्या पुनः दोहोरिँदै गएको होे । पहिले साधारण सेयरको आवेदन दिने वेलामा समस्या आउने गरेको थियो भने अहिले लगइन, सेयर किनबेचपछिको हस्तान्तरणलगायतका अन्य क्षेत्रमा पनि यस्ता समस्या आउने गरेको छ । लगानीकर्ता थपिँदै जाने र दैनिक कारोबार हुने संख्या बढेपछि पुनः समस्या हुने गरेको सिडिएस क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
कोरोना निषेधाज्ञाका कारण हाल यसको चाप अलिक बढी परेको छ । प्राविधिक चापका कारण कहिलेकाहीँ केही समयका लागि सिस्टम नै बन्द गर्नुुपर्ने पर्ने कारणले केही समय समस्या हुन पुग्ने, तर त्यस्ता समस्यालाई पनि सम्बोधन गर्ने गरी काम भइरहेको न्यौपानेले बताए ।
मेरो सेयर प्रणालीसँगै नयाँ टेक्नोलोजी राखेर काम अघि बढाउने तयारी भइरहेको न्यौपाने बताउँछन् । उनले भने, ‘सिस्टमसँगै दीर्घकालीन योजनासहित समस्या कम गर्नका लागि नयाँ–नयाँ डिजाइन गर्ने कामको सुरुवात पनि गरिरहेका छौँ ।’
नेपाल धितोपत्र बोर्डले पनि लगानीकर्तालाई सहजीकरण गर्नका लागि सिडिएसलाई अनुरोध गर्दै आइरहेको छ । नयाँ सफ्टवेयर जडान गर्नका लागि सार्वजनिक खरिद ऐनका कारण समस्या भएकाले अर्थ मन्त्रालयसम्म यस विषयमा कुरा पुगेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए ।