१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ जेठ १७ सोमबार ०८:४८:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभिडका बिरामीमा कालो ढुसीको जोखिम तर पहिचान गर्ने ल्याब छैन

कोभिड निको भएको १२ देखि १५ दिनभित्रमा देखिने म्युकोमाइर्कोसिस संक्रमण तीव्र गतिमा फैलिन थालेपछि भारतको २९ वटा राज्यमा प्रकोप घोषणा गरिएको छ

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ जेठ १७ सोमबार ०८:४८:००

छिमेकी देश भारतमा कोभिडका बिरामीमा कालो ढुसी अर्थात् म्युकोमाइर्कोसिस संक्रमण गम्भीर समस्याका रूपमा फैलिरहेको छ । भारतमा नौ हजारभन्दा बढी व्यक्तिमा यसको संक्रमण पहिचान भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले म्युकोमाइर्कोसिसको समस्या नेपालमा पनि देखिन थालेको जनाएको छ । महाशाखाका अनुसार वीरगन्जमा चार, काठमाडौंमा एक र नेपालगन्जमा चारजना गरी हालसम्म नौजनामा म्युकोमाइर्कोसिस संक्रमण भइसकेको छ । तर, सीमित स्रोत–साधनका कारण नेपालमा म्युकोमाइर्कोसिस संक्रमण कतिलाई भएको छ भनेर यकिन गर्न नसकिएको चिकित्सकहरूको भनाइ छ । तर, छिमेकी मुलुकमा बिस्तारै महामारीकै रूप लिइरहेको कालो ढुसी (म्युकोमाइर्कोसिस) नेपालमा पनि तीव्र गतिमा फैलिन सक्ने भन्दै सावधानी अपनाउन उनीहरूको सुझाब छ । 

म्युकोमाइर्कोसिस (जसलाई जाइगोमाइकोसिस पनि भनिन्छ) गम्भीर तर दुर्लभ फंगल संक्रमण हो । जुन म्युकोर्मिसाइट्स भनिने मोल्डहरूको समूहले गर्दा हुन्छ । म्युकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जुन माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ । यो एउटा स्पोरको रूपमा रहने गर्छ । हेमाटोलोजिस्ट अजयकुमार झाका अनुसार, म्युकोमाइर्कोसिस मुख्यतया स्वास्थ्य समस्या भएका व्यक्तिमा वा रोगसँग लड्न शरीरको क्षमता कम गर्ने स्टेरोयडका कारणले हुने गर्छ । अन्य संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएको अवस्थामा पनि यसको असर बढी देखिन्छ । जसले दिमागमा पनि असर गर्न सक्छ । हालसम्म भएका अध्ययनअनुसार कालो ढुसी संक्रमणको मृत्युदर ५० प्रतिशतभन्दा बढी हुने गर्छ ।

म्युकोमाइर्कोसिस प्रकारहरू 
राइनोसरेब्रल म्युकोमाइर्कोसिस : यो साइनसमा देखिने संक्रमण हो, जुन दिमागमा पनि देखिन्छ । सामान्यतया यो फंगल धेरै व्यक्तिमा देखिने गर्छ, तर मधुमेह र मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिलाई बढी असर गर्छ । 

पल्मोनरी म्युकोमाइर्कोसिस : क्यान्सरपीडित र अंग प्रत्यारोपण वा स्टेम सेल ट्रान्सप्लान्ट भएका व्यक्तिमा पल्मोनरी म्युकोर्मिकोसिस संक्रमण धेरै हुने गरेको छ । 

ग्यास्ट्रोइन्टेस्टेनियल म्युकोमाइर्कोसिस : वयस्कहरूमा भन्दा युवा र बालबालिकामा अधिक देखिने यो फंगस विशेषगरी समय नपुग्दै जन्मेका र तौल कम भएका शिशुहरू, जसलाई एन्टिबायोटिक, सर्जरी, वा औषधि प्रयोग गरिन्छन् । यस्ता बालबालिकाहरूमा बढी भएको पाइन्छ । 

क्युटानियस म्युकोमाइर्कोसिस : छालाको सम्पर्कबाट शरीरमा प्रवेश गर्ने यो फंगस छालामा हुने समस्याबाट हुने गर्छ । जस्तै सर्जरी, छाला जल्नु वा घाउचोटको समयमा यो संक्रमण हुन सक्छ । 

डिसइनिमिटेड म्युकोमाइर्कोसिस : यो संक्रमण रगतको प्रवाहबाट शरीरको अर्को भागमा फैलिन्छ । यसले प्रायजसो मस्तिष्कलाई असर गर्छ, तर यसले मुटु र छालाजस्ता अन्य अंगहरूलाई पनि असर गर्न सक्छ ।

पछिल्लो समय म्युकोमाइर्कोसिस संक्रमण कोभिड–१९ का बिरामीमा चुनौतीपूर्ण बन्दै गएको छ । समयमै संक्रमण पत्ता लगाएर उपचार गर्न नसके मृत्यदर ९४ प्रतिशतसम्म पुग्ने चिकित्सकहरूको अनुमान छ । कोभिड निको भएको १२ देखि १५ दिनभित्रमा देखिने यो संक्रमण तीव्र गतिमा फैलिन थालेपछि भारतको २९ वटा राज्यमा म्युकोमाइर्कोसिसलाई प्रकोप घोषणा गरिएको छ । नेपालमा पनि यसको संक्रमण फैलिन नदिन सजग हुनुपर्ने चिकित्सकहरूको सुझाब छ । केही व्यक्तिमा लक्षणका आधारमा पहिचान भए पनि उपचार समयमा हुन नसक्दा मृत्युसमेत भइरहेको छ । नेपालमा कालो ढुसी पहिचानका लागि उपयुक्त ल्याबसमेत नभएको चिकित्सकको भनाइ छ । 

कोभिडका बिरामीमा देखिएको म्युकोमाइर्कोसिस उपचार गर्न सकिन्छ : डा. संकेत रिजाल 
कोभिडका बिरामी भनेको इम्युनोकम्र्पमाइजिङ अर्थात् शरीरको प्रतिरोधी क्षमता कम भएका बिरामी हुन् । योसँगै कोभिड उपचारमा स्टेरोइडको समेत प्रयोग भइरहेका कारण कालो ढुसी संक्रमणको जोखिम हुन सक्छ । हालसम्म नेपालमा प्रकोपकै रूपमा नदेखिए पनि हावाको माध्यमबाट छिटो फैलिने भएकाले समयमै पहिचान गरेर उपचार गर्नु अन्तिम विकल्प हो । तर, नेपालका सबै कोभिड अस्पतालमा फंगसको पहिचान र उपचारका लागि स्रोतसाधन र जनशक्ति उपलब्ध छैन । 

आँखा सुन्निनु, रातो हुँदै जानु, साइनसको एकापट्टिको भाग सुन्निँदै जानु, कमजोर हँुदै जानु यसका प्रमुख लक्षण हुन् । रगतको परीक्षणबाट यसको पहिचान हुन सम्भव छैन । फंगसको कल्चर गर्नका लागि मात्रै तीन–चार साता लाग्न सक्छ । यसका लागि स्वाब लिएर ल्याबमा परीक्षण गरेर डाइग्नोसिस गर्न सकिन्छ, तर ल्याब सहज रूपमा उपलब्ध हुन आवश्यक हुन्छ । समयमै डाइग्नोसिस गरिए उपचार भने गर्न सकिन्छ ।  

नेपालमा यसको औषधि सर्वसुलभ छैन : डा. अजयकुमार झा 
म्युकोमाइर्कोसिसको उपचारका लागि पहिलो विकल्प शल्यक्रिया हो । यो संक्रमण तीव्र गतिमा फैलिने हँुदा छोटो समयमै उपचार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा संक्रमण फैलिन नदिन संक्रमण भएको भाग नै हटाउनुपर्नेसमेत हुन सक्छ । यस्तै, मेडिकेसनमा एन्टिफंगस औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । तर, एक दिनमा एन्टिफंगसको खर्च १५ हजारभन्दा बढी पर्न जान्छ । यसको औषधि कम्तीमा चारदेखि ६ सातासम्म प्रयोग गर्नुपर्छ । 

सामान्यतया, एन्टिफंगसमा एम्फोटेरिसियन बी नामक औषधि प्रयोग गरिन्छ, यो क्लासिकल औषधि नेपालमा पनि उपलब्ध छ । एम्फोटेरिसियन बी औषधि पनि बिरामीको उमेर र अवस्थाका आधारमा फरक–फरक प्रयोगमा ल्याइन्छ । जसको खर्च प्रत्येकमा भिन्न हुने गर्छ । जसमध्ये लाइफो जोङल एम्फोटेरिसियन बी बढी प्रभावकारी मानिन्छ । तर, महँगो हुने र एमदमै कम प्रयोगमा आउने भएकाले नेपाली बजारमा सर्वसुलभ छैन । 

यसबाहेक अन्य एम्फोटेरिसियन बी औषधिहरूको साइडइफेक्ट बढी देखिने हुनाले सबै चिकित्सकले प्रयोग गर्न मान्दैनन् । म्युकोमाइर्कोसिसका लागि योसँगै अन्य एन्टिफंगस मेडिकेसनसमेत प्रयोगमा ल्याउनुपर्ने हुन्छ । फंगस कोभिडका कारण मात्रै नभई अन्य संक्रमणका कारणले पनि हुने गर्छ । तर, नेपालमा फंगसका लागि छुट्टै ल्याब र अनुसन्धानका डिपार्टमेन्टहरू उपलब्ध छैैनन् । नेपालमा यसले प्रकोपको रूप लिनुभन्दा अगाडि नै सचेत हुनु आवश्यक छ ।