मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७८ जेठ १७ सोमबार ०८:१८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

संवैधानिक व्यवस्थाअनुसार पूर्ण बजेट ल्याएको अर्थमन्त्रीको दाबी 

पूर्ण बजेटको विकल्प नरहेको भन्दै अर्थमन्त्रीले भने, ‘मतदाता होइन, जनता प्रभावित पार्न बजेट ल्यायौँ, लिइएका सबै लक्ष्य पूरा हुनेछन्, बजेटप्रति पूर्ण जवाफदेही छौँ’

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७८ जेठ १७ सोमबार ०८:१८:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै पूर्ण आकारको बजेट ल्याएको जिकिर गरेका छन् । संविधानले १५ जेठमै बजेट ल्याउनुपर्ने र मुलुकको आर्थिक क्रियाकलापलाई नियमित गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । सोही बाध्यात्मक व्यवस्थाअनुसार सरकारले बजेट ल्याएको उनको भनाइ छ । 

सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटका विषयमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अहिलेको अवस्थामा पूर्ण बजेट ल्याउनुको विकल्पै नरहेको समेत बताए । ‘यो सरकारले बजेट प्रस्तुत गर्न पाउने कि नपाउने ? यो बजेट संविधानसम्मत छ कि छैन ? बजेट पूर्ण ल्याउन पाइन्छ कि पाइँदैन ? कामचलाउ बजेट प्रस्तुत गर्ने कि नगर्ने ? भन्ने धेरै विषयमा टीकाटिप्पणी भयो,’ उनले भने, ‘संविधानमा १५ जेठमा बजेट ल्याउनैपर्ने र आर्थिक क्रियाकलापलाई संविधानतः नियमित गर्नैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, संविधानले दिएको त्यो जिम्मेवारी पूरा गर्न पनि पूर्ण आकारको बजेट ल्याउनुपथ्र्यो, त्यो जिम्मेवारीबाट हामी पछि हटेनौँ ।’ यस्तो संकटको घडीमा काम चलाउन मात्रै बजेट ल्याउनुपर्ने टिप्पणी जनता र राष्ट्रको ज्वलन्त समस्याको परिपे्रक्ष्यमा उपयुक्त नभएको उनको भनाइ छ । संविधानले गरेको बाध्यात्मक प्रबन्ध, प्रतिनिधिसभा विघटन भएको अवस्था र वर्तमान परिपे्रक्ष्यमा पूर्ण आकारको बजेट ल्याउनुको विकल्प सरकारसँग नरहेको उनले बताए । 

‘मतदाता होइन, जनता प्रभावित पार्न बजेट’
अर्थमन्त्री पौडेलले मतदाता नभई जनता प्रभावित पार्ने बजेट ल्याएको प्रस्टीकरण दिए । ‘कतिपयले मतदातालाई प्रभावित गर्नका निम्ति यस्तो बजेट ल्याएको भन्नुभयो, तर सरकारले मतदाता प्रभावित गर्नका लागि होइन, आफ्नो अभिभारा पूरा गर्न बजेट ल्याएको हो,’ उनले भने, ‘मतदातामा के प्रभाव पर्छ भन्नेमा हाम्रो ध्यान छैन, जनता प्रभावित हुन्छन् कि हुँदैनन् भन्नेमा ध्यान छ ।’  

वक्तव्यले सरकारको  वैधानिकता खण्डित गर्दैन
अर्थमन्त्री पौडेलले एउटा समूहले जारी गरेको वक्तव्यले सरकारको वैधानिकता र निरन्तरता खण्डित नगर्ने बताए । ‘केही नेताहरू कुनै ठाउँमा बसेर वक्तव्य दिँदैमा सरकारको निरन्तरता, वैधानिकता र हैसियत खण्डित हुँदैन, सरकार संवैधानिक प्रक्रियाबाट बन्छ र त्यसैअनुरूप विस्थापन हुन्छ,’ विपक्षी दलले आइतबार जारी गरेको वक्तव्यप्रति लक्षित गर्दै उनले भने, ‘राजनीतिक दल र नेताले राजनीतिक कोणबाटै दृष्टिकोण दिन्छन्, बजेटको विरोध वा समर्थन गर्छन्, लोकतन्त्रले यो छुट दिएको छ, हामीले जनताप्रति उत्तरदायी र जवाफदेही भएर बजेट ल्याएका छौँ ।’ 

बजेटप्रति जवाफदेही छौँ, सबै लक्ष्य हासिल हुन्छ
अर्थमन्त्री पौडेलले बजेटले तोकेका सबै लक्ष्य हासिल हुने दाबी गरे । ‘यो बजेटले आजको चुनौतीलाई देखेको छ, चिनेको छ र समाधान गर्ने योजना, संकल्प र स्रोत पनि प्रस्तुत गरेको छ,’ उनले भने, ‘यो बजेट हामीले कार्यान्वयन गर्छौँ, निर्धारित लक्ष्यहरू हासिल गर्छौँ ।’ सुनाउनका लागि नभई कार्यान्वयनका लागि बजेट ल्याएको भन्दै अर्थमन्त्रीले बजेटप्रति पूर्ण जवाफदेही रहेको समेत बताए ।

खोप ल्याउने गरी काम गर्ने  
अर्थमन्त्री पौडेलले सरकारले खोप ल्यायो भन्ने गरी काम गर्ने बताए । कोभिडविरुद्धको खोपको सन्दर्भमा सबै सम्भावनाको सदुपयोग गर्दै असाधारण पहलकदमी लिने उनले बताए । ‘बजेट नागरिकलाई राहत सहुलियत प्रदान गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनेमा केन्द्रित रहेको छ,’ उनले भने, ‘खोपको शीघ्र प्रबन्ध गरेर आमनागरिकको जीवनरक्षालाई सुनिश्चित गर्नेछौँ, सरकारले खोप ल्यायो है भन्ने गरी काम गर्छौँ ।’

६.५ प्रतिशतको आर्थिक वृद्धि सजिलै हासिल हुन्छ : अर्थसचिव
पत्रकार सम्मेलनमा अर्थसचिव शिशिरकुमार ढुंगानाले बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धि सजिलै हासिल हुने दाबी गरे । नेपालको खोपको व्यवस्थापछि अर्थतन्त्र चाँडै रिकभरी हुने, पुनरुत्थानका कार्यक्रमले उत्पादन र रोजगारी बढाउने, राहतका कार्यक्रमले माग बढाउनेलगायत विभिन्न कारणले आर्थिक गतिविधि बढी लक्षित आर्थिक वृद्धि सजिलै हासिल हुने उनले बताए । ‘चालू आवमा कात्तिक महिनापछि आर्थिक गतिविधि राम्रो हुँदा हामी ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अवस्थामा पुगेका थियौँ,’ उनले भने, ‘खोपको निरन्तरता र व्यापकतापछि आर्थिक गतिविधिले पुनर्जीवन पाउनेछ, म कन्फिडेन्ट छु, ६.५ प्रतिशतको ग्रोथ सहजै हासिल गरिन्छ ।’ विभिन्न आधार र अध्ययनका आधारमा समेत आर्थिक वृद्धिको लक्ष्य राखिएको उनले बताए ।