१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. समा प्रधान दन्तचिकित्सक डेन्टल लाइफ ओरल कन्सर्न
२०७५ फाल्गुण ७ मंगलबार ०७:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दन्तरोगबाट  बच्न स्केलिङ

Read Time : > 1 मिनेट
डा. समा प्रधान दन्तचिकित्सक डेन्टल लाइफ ओरल कन्सर्न
२०७५ फाल्गुण ७ मंगलबार ०७:४६:००

दाँतमा भएको फोहर जसलाई क्यालकुलस (पत्थर) वा टार्टर भनिन्छ । त्यसलाई डेन्टिस्ट तथा हाइजेनिस्टले मेसिनको सहायताले सफा गर्छन्, त्यो स्केलिङ हो । हरेकपटक हामीले खाना खाइसकेपछि दाँतमा एक प्रकारको लेउ जम्मा हुन्छ, उक्त लेउलाई दन्तलेउ भनिन्छ । जसमा दाँत, गिजा र नसालाई असर गर्ने कीटाणु हुन्छन् । यदि नियमित रूपमा सफा गरिएन भने लेउ बढ्दै जान्छ र फलस्वरूप दन्तपत्थर हुन्छ । यसले बिस्तारै दाँत र गिजामा समस्या उत्पन्न गराउँछ । 
किन गर्ने ?
 स्केलिङ अर्थात् दाँतको सफाइ दन्तलेउ, दन्तपत्थर अथवा दाँतको बाहिरी सतहमा भएका दाग हटाउनका लागि गरिन्छ । गिजा तथा दाँतको बीचमा भएको फोहर ब्रस गर्दा पनि निस्किँदैन । यसर्थ, आधुनिक प्रविधियुक्त मेसिनबाट दाँतको इनामेललाई हानि नहुने गरी सफा गरिन्छ । मुखमा रहेको फोहोरको संख्याका आधारमा सफा गर्ने प्रक्रिया अघि बढ्छ । यो एकपटक वा दुईदेखि तीनपटकसम्म पनि हुन सक्छ । जमेर बसेको फोहरले गर्दा दाँतको वरिपरि रहेको गिजा र हड्डीको रोग उत्पन्न गराउँछ । गिजाको रोगबाट दाँत हल्लिने, सिरिंङ हुने, गिजाबाट रगत आउने, सास गन्हाउने जस्ता दाँतसम्बन्धी विभिन्न समस्या हुने गर्छन् ।
कति आवश्यक ?
 सामान्यतया १२ वर्षभन्दा माथि उमेर भएका जोसुकैले स्केलिङ गर्न सक्छन् । एकपटक दाँत स्केलिङ गरेपछि पुनः ६ महिनामा नियमित उपचारका लागि जानुपर्छ । त्यसपछि चिकित्सकको सल्लाहअनुसार १ वर्षमा एकपटक स्केलिङ गर्न सकिन्छ । 

स्केलिङ गरिसकेपछि सुरुमा दाँत सिरिंङ हुन सक्छ, यो बिस्तारै आफैँ ठीक भएर जान्छ । तर, यदि धेरै फोहोरको कारण गिजा तल सर्दै गएको खण्डमा सिरिंङ हुने क्रम नरोकिन सक्छ । यस्तो अवस्थामा भने सम्बन्धित चिकित्सककोमा गई जाँच गराउनुपर्ने हुन्छ । 

 कतिपय अवस्थामा अत्यधिक फोहोरका कारण दाँतको हड्डी खिएर गइसकेको हुन्छ । यसकारण, बाहिरी फोहोर सफा गर्दा दाँत हल्लिन सक्छ । दाँत सफा गर्दा दाँत चम्किने, गिजा र हड्डी बलियो हुने गर्दछ । तसर्थ, नियमित दाँत सफा गर्न आवश्यक छ ।