मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पारिश्रमिकबापतको दश लाखको चेक अक्सिजन प्लान्टका लागि उपमेयर मञ्जु प्रसाईंलाई हस्तान्तरण गर्दै मेयर राजेन्द्रकुमार पोखरेल । तस्बिर : नयाँ पत्रिका 
२०७८ जेठ १६ आइतबार २१:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कन्काईमा अक्सिजन प्लान्टको तयारी, मेयरले पारिश्रमिकबापतको दश लाख दिने 

Read Time : > 1 मिनेट
२०७८ जेठ १६ आइतबार २१:४३:००

बजारमा अक्सिजन कमी हुँदै गएपछि झापाको कन्काई नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणको तयारी थालेको छ । नगरपालिकाले तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अक्सिजन प्लान्ट निर्माणको तयारी थालेको हो । 

५० वटा सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट निर्माणको तयारी भइरहेको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘नागरिकको सुरक्षा हाम्रो प्रमुख दायित्व हो । यसका लागि हामीले अक्सिजन प्लान्टको निर्माण गर्न लागेका हौँ,’ पोखरेलले भने, ‘कन्काईले खपत गरेर बाँकी रहेको ग्यास अरूलाई पनि दिन्छौँ ।’ 

प्लान्ट निर्माणका लागि करिब दुई करोड लाग्ने उनले बताए । यसका लागि कन्काई नगरपालिकासँग हाल ६० लाख रकम रहेको उनले बताए । अक्सिजन प्लान्ट निर्माणका लागि नगरले तीन महिनाभित्र एक करोड बजेटको व्यवस्थापन गर्ने र बाँकी एक करोड दातासँग सहयोगका लागि आह्वान गरिएको उनले बताए । ‘कोरोना भाइरसका कारण अक्सिजन अभावमा कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले अक्सिजन प्लान्ट निर्माणका लागि सहयोगको अपेक्षा पनि गरेका छौँ,’ उनले भने, ‘केही सहयोग आउने क्रम पनि सुरु भएको छ । दुई महिनाभित्र एक करोड सहयोग जुटाउन सक्छौँ भन्ने अपेक्षा हो ।’ अक्सिजन प्लान्ट सुरुंगा प्राथमिक केन्द्रमा राखिनेछ । 

प्लान्ट निर्माणमा बजेट अभाव हुन नदिने उनले बताए । ‘हामी बरु बाटो पक्की गर्दैनौँ । तर, मानिसको जीवनरक्षा गर्छौँ,’ उनले भने, ‘विकास बजेट लगाएर भए पनि तीन महिनाभित्र अक्सिजन प्लान्ट निर्माण गर्छौँ । यसमा बजेट अभाव हुन दिँदैनौँ ।’

मेयरको दश लाख पारिश्रमिक अक्सिजन प्लान्टलाई
कन्काईका मेयर राजेन्द्रकुमार पोखरेलले नगरबाट आफूले पाउने पारिश्रमिकबापतको दश लाख रकम अक्सिजन प्लान्टलाई दिएका छन् । पछिल्लो तीन वर्षमा पाउने एकमुष्ट दश लाख रकम नगरपालिकाले निर्माण गर्ने अक्सिजन प्लान्टलाई दिएका हुन् ।

मेयर पोखरेलले शनिबार उपमेयर मञ्जु प्रसाईंलाई चेक हस्तान्तरण गरेका हुन् । ‘मैले पाउने पारिश्रमिक अक्सिजन प्लान्टलाई दिएँ । यसअघि पनि मैले एक वर्षमा पाएको पारिश्रमिक वृद्धवृद्धाका लागि अक्षय कोषमा जम्मा गरेको थिएँ,’ उनले भने, ‘यसपछि पाउने पारिश्रमिक पनि केही सामाजिक काममा लगाउनेछु ।’

मेयर पोखरेल आफैँले यसअघि पनि अक्सिजन सिलिन्डर बिरामीको घर–घरमा पु¥याउँदै आएका थिए ।