१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ फाल्गुण ७ मंगलबार ०६:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नेपालमा वन, विदेश जान्छ धन

६ वर्षमा २४ अर्ब ५३ करोडको काठ र फर्निचर आयात, जम्मा ९३ करोडको निर्यात

Read Time : > 2 मिनेट
२०७५ फाल्गुण ७ मंगलबार ०६:२७:००

नेपाल सरकारले नै पाँच वर्षमा किन्यो १२ अर्ब ८२ करोडको फर्निचर

हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन विदेशमा धन भन्नुपर्ने भएको छ । किनकि, काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ बिदेसिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै किन्नुपर्ने व्यवस्था सार्वजनिक खरिद ऐनले गरेको छ । तर, सरकारी कार्यालयहरूले ९५ प्रतिशत फर्निचर विदेशी किन्दै आएका छन् । 

सरकारले आर्थिक वर्ष ०६९/७० मा तीन अर्ब ८१ करोडको फर्निचर किनेको थियो । त्यस्तै, वर्ष ०७०/७१ मा ६५ करोड, वर्ष ०७१/७२ मा ५१ करोड र वर्ष ०७२/७३ मा ६ अर्ब ७५ करोडको फर्निचर किनेको थियो । वर्ष ०७३/७४ मा फर्निचर शीर्षकमा सरकारले १ अर्ब ११ करोड खर्च गरेको थियो ।

सरकारी निकायले पुँजीगत खर्च शीर्षकअन्तर्गत राखेर अनावश्यक फर्निचर खपत गर्छन् । सार्वजनिक खर्च पुनरावलोकन आयोगका सदस्य शिवराज अधिकारी हरेक आर्थिक वर्षको अन्त्यमा ठूलो परिमाणमा फर्निचर खरिद हुने गरेको बताउँछन् । वर्षको अन्त्यमा पुँजीगत खर्च बढेको देखाउन आवश्यकता नभए पनि फर्निचरका नाममा ठूलो खर्च गरिन्छ । 

आवश्यकतै नभएका सरकारी कार्यालयमा बर्सेनि फर्निचरका नाममा खर्च गर्ने चलन भए पनि सरकारले विद्यालयका लागि चाहिने फर्निचरको बजेट भने कटौती गरेको छ । विद्यालय भवन बनाउँदै आवश्यक फर्निचरको व्यवस्था गर्नुपर्ने मन्त्रालयको नीतिअनुसार नयाँ फर्निचरको बजेट घट्दै आएको छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले विद्यार्थीको आवश्यकताअनुसार फर्निचर निर्माणका लागि मन्त्रालयसँग स्रोत नभएको बताए । ‘पूर्वाधार निर्माणका लागि हरेक वर्ष बजेट छ,’ उनले भने, ‘त्यसबाटै व्यवस्थापन गर्ने भनेर नदिएको हो । स्थानीय सरकारलाई जिम्मेवार बनाउन पनि बजेट नदिइएको हो ।’

नेपालको वनबाट वर्षमा ७० अर्बको काठ निकाल्न सकिन्छ


सरकारले बेच्दा प्रतिक्युफिट आठ सय रुपैयाँ, उपभोक्ताले किन्दा आठ हजार, बिचौलिया मालामाल

 -देशको ४४.७४ प्रतिशत क्षेत्र जंगलले ढाकेको छ । 
 -वैज्ञानिक वन व्यवस्थापन गर्दा वर्षमा १३ करोड क्युफिट काठ निकाल्न सकिन्छ । औसत मूल्यमा पनि करिब ७० अर्ब कमाउन सकिन्छ ।
-स्वदेशी काठ जंगल र गोदाममा कुहिन्छ, तस्करी हुन्छ । देशले भने औसतमा वार्षिक चार अर्बको काठ आयात गर्छ । नेपालले ६ वर्षमा २४ अर्ब ५३ करोडको काठ र  फर्निचर आयात गर्दा जम्मा ९३ करोडको निर्यात गरेको छ ।

‘ए’ ग्रेडको मूल्य ८ सय, ‘बी’को मूल्य ५ सय र ‘सी’को मूल्य ३ सय प्रतिक्युफिट छ । यसरी औसतमा ५३३ रुपैयाँका दरले १३ करोड क्युफिट काठको मूल्य ६९ अर्ब ७० करोड हुन्छ । तर, अहिले वन मन्त्रालयले वार्षिक १६ लाख क्युफिट मात्र काठ निकाल्न सकेको छ । 

सरकारले वनबाट प्रशस्त लाभ लिन नसकेको भन्दै आर्थिक वर्ष ०६६/६७ देखि वैज्ञानिक वन व्यवस्थापन नीति लिएको होे । अहिले देशका ४० जिल्लाका दुई सय ८५ सामुदायिक वनको २८ हजार ५ सय हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन नीति लागू छ । यस्तै १२ जिल्लाका १५ वनको ४० हजार हेक्टर क्षेत्रफलमा साझेदारी वन नीति लागू छ । मकै, धान, अन्नबालीजस्तै वनको खेती गर्न वैज्ञानिक वन व्यवस्थापन योजना ल्याइएको हो । रूखको आयुअनुसार काट्ने र रोप्ने भनिएको थियो । तर, नाममा वैज्ञानिक वन व्यवस्थापन भनिए पनि जंगलबाट काठ निकालेर आयात प्रतिस्थापन गर्न सकिएको छैन । 

स्वदेशी काठ–दाउराको कमिसन बिचौलियाले खाँदा विदेशबाट काठ आयात बढेको काठ उद्यमीहरू बताउ“छन् । काठको गुणस्तरअनुसार ए, बी, सी ग्रेड तोकिएको हुन्छ ।

सोही काठ टिम्बर कर्पोरेसनले थोक विक्रेतालाई, थोक विक्रेताले डिपो र डिपोले उपभोक्तालाई दिँदा प्रतिक्युफिट ५ हजारदेखि ६ हजार पर्न जान्छ । तर, विदेशबाट आयात हुने काठ कमसल भए पनि ३ देखि ४ हजार क्युफिटमा पाइन्छ । यसरी स्वदेशीभन्दा विदेशी काठ सस्तो भएपछि धेरै काठ स्टक हुने गरेको छ । नेपाली काठ सरकारबाट खरिद गरेपछि टिम्बर कर्पोरेसन, थोक विक्रेता र डिपोले बीचमा कमिसन खाँदा महँगो पर्न गएको हो । विदेशी काठ आयात हुँदा आफूहरूको काठ बिक्री नै नहुँदा समस्यामा परेको व्यवसायीले बताएका छन् । काठ आयातलाई विस्थापन गर्न बारम्बर पहल गर्दा पनि व्यवसायीहरू सफल हुन सकेका छैनन् । 

३५ देशबाट काठ आयात 
नेपालले चालू आवमा ३५ देशबाट काठ आयात गरेको छ । जसमध्ये सबैभन्दा धेरै भारत र चीनबाट काठ आयात हुने गरेको छ । अरू देशमा इटाली, इन्डोनेसिया, भियतनाम, मलेसिया, बेल्जियम, दक्षिण कोरिया, क्यानडा, बेलायत, अमेरिका, स्विडेन, पाकिस्तान, थाइल्यान्ड, भुटान, फ्रान्स, पोल्यान्ड, युएई, स्पेन, जर्मन, डेनमार्क, युगान्डा, अस्ट्रिया, श्रीलंका, स्विट्जरल्यान्ड, टर्की, रसिया, सिंगापुर, जापान, म्यानमार, घाना, अस्ट्रेलिया, क्यामरुन, सुरिनाम र इजरायलबाट काठ आयात हुने गरेको छ ।