१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ जेठ १५ शनिबार १०:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पानी परेपछि पहिरोपीडितको गुनासो : डरमाथि चिन्ता थपिएपछि कसरी निदाउनु

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ जेठ १५ शनिबार १०:५८:००

रामबहादुर विकको परिवार ननिदाएको तीन रात भयो । डर पनि एउटा मात्रै भएपो निन्द्रा लाग्छ । डरमाथि डर अनि चिन्ता मनभित्र एकैपटक खनिएपछि कसरी निदाउनु ? पोहोर भदौ २७ गते राती गाउँ नै छोपिने गरी आएको पहिरोले घरमात्रै होइन खेतबारी पनि पुर्‍यो । त्यसबेलादेखि घरमा आफैले उब्जाएको अन्नपात विकको परिवारसँग छैन ।

दाताले दिएको दालचामल पनि सकियो । पुर्खादेखि चलाउँदै आएको आरन पनि वर्ष दिनदेखि चलेको छैन । पाँच सदस्य परिवार पाल्ने चिन्ताले विकको शरीर दुब्लाएको छ । दिनहुँको झरीले जमिन गलेकोले पहिरो आउला भन्ने डरले स्थानीय चिन्तित छन् । रोग, भोक र पहिरोको जोखिममा बाँचिरहँदा रामबहादुरको परिवारजस्तै बाह्रबिसे नगरपालिका वडा नं. ७ नागपुजेका ८५ परिवारले तीन रात भयो निदाउन नपाएका । 

नागपुजेमा रहेको दुई सय नौ घरपरिवारका झण्डै आठ सय स्थानीयलाई बर्खा लागेसँगै पहिरोको सम्भावित खतराले सताएको छ । संघसंस्थाले दिने रासनपानी र टेन्टको शरणमा बसेका १३ घर दलित परिवारसँग खाने सामग्री नहुँदा कन्तबिजोग भएको छ । टेन्टबाट पानी चुहिन्छ । सामुहिक रुपमा बसेका पीडितमाझ गतिलो शौचालय छैन । खेतीपाती नहुनु र गाउँका अधिकांश मानिस बेरोजगार बस्नुपरेकोले जीवन धान्न मुस्किल परेको छ ।

‘पहिरोको डरमाथि भरपेट खान नपाउने अवस्था छ,’ स्थानीय शिक्षक बजिरसिंह भण्डारीले पहिरोपीडितले  खेपिरहेको दुःख पोख्दै भने, ‘दलित परिवारका लागि खाने सामान सकिएको छ ।’ गाउँमाथिको जमिन चिउरे पहरोमाथि रहेको र कमलो माटो भएकोले जतिबेला पनि पहिरो जान सक्ने उनले प्रष्ट्याए । बेलैमा नसोच्ने हो भने बर्खामा फेरि क्षति बेहोर्नुपर्ने अवस्था आउने स्थानीय शम्भु खत्री बताउँछन् । 

गतवर्षको पहिरोले ३१ जनाको ज्यान लिएको थियो । स्थायी बासस्थानको लागि हालसम्म सरकारले कुनै ठोस निर्णय दिन सकेको छैन ।  केही दिन यता परेको पानीका कारण  पोहोरझैं पहिरोको सम्भावित क्षतिको डरले बाह्रबिसे, भोटेकोसी र जुगलका स्थानीय धमाधम सुरक्षित ठाउँ खोज्दैछन् ।

वर्षदिनको बीचमा सरकारबाट स्थायी आवास बनाउन रकम विनियोजन भएको छ । तर, बाढी पहिरोपीडितले यो बर्खा पनि पानीचुहिने टेन्टमै बिताउनुपर्ने निश्चित भएको छ । 

लिदीवासी गाउँ फर्किए 
बर्खाअघि नै अस्थायी टहरो बनाउने आश्वासन पाएका पहिरोपीडित लिदीवासी निराश भएका छन् । एक सय ७२ मध्ये ४० घरपरिवार मात्रै जुगल गाउँपालिका वडा नं. १ को बाँसखर्कमा बसिरहेका छन् । चिनिया टेन्टमा बसेका लिदीवासी अस्थायी टहरो नबनेकोले जोखिम मोलेर पुन:गाउँ फर्किएका हुन् । ‘अस्थायी टहरो बनाउने सबै कागजपत्र तयार भएर माथिल्लो निकायमा पुगेको छ । तर, निर्माण कार्य सुरु भएको छैन । बर्खालाग्यो । दिनहुँ वर्षा हुन्छ । झरीमा रुझेर बस्नुभन्दा जोखिमै मोलेर गाउँमा बस्छु,’ पीडित विष्णु दोङले भने । 

पीडितका लागि दिनरात खटिरहेका वडाध्यक्ष प्रताप लामा पनि अहिले निराश भएका छन् । पीडितका लागि दाताले दिएको बजेट पालिकाको खातामा उसै बसेको छ । माथिल्लो निकायले पनि चाँडो काम नगर्दा पीडितले दुःख पाएको उनले बताए । ‘वडाले गर्नुपर्ने सबै कागजात मिलाएर पठाएको महिना दिन बितिसक्यो । तर, अस्थायी टहरो बनाउने बजेट र आदेश आएन,’लामाले भने । अस्थायी टहरो बनेन भने सबै पीडित गाउँ फर्कने तयारीमा छन् । खेतीपाती सबै गाउँमै भएकोले लिदीवासी जोखिम मोलेरै भएपनि गाउँ जाने तयारीमा छन् ।